कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यवसायीले दिए निर्माण सामग्री

माधव अर्याल

पाल्पा — धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल केही दिनअघि तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा आए । उनी मन्दिर दर्शन गर्न आएका मात्र थिएनन् ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन व्यवसायीले दिए निर्माण सामग्री

उनी जनस्तरबाट संकलित रकमबाट चितवनमा निर्माण भइरहेको गौतमबुुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन हिँडेका थिए । मेची–महाकाली अभियानअन्तर्गत सिद्धबाबा आएका उनले मन्दिर व्यवस्थापन समितिका साथै तिनाउका टिपर व्यवसायीसँग सहयोगको अपिल गरे ।

‘तत्कालै एक लाख सहयोग जुट्यो,’ सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले भने, ‘त्योबाहेक समितिका सदस्यसमेत रहेका टिपर व्यवसायी साथीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।’ व्यवसायीले ५३ टिपर नदीजन्य सामाग्री लग्ने प्रतिबद्धता जनाएको उनले बताए । सोही दिन गरेको प्रतिवद्धता अनुसार नेपाली झण्डा र ब्यानर राखेर आइतबार तिनाउका टिपर व्यवसायीले सामग्री चितवन पुर्‍याए ।

रंगशाला निमार्ण सामाग्री सहयोग कार्यक्रमका संयोजक तथा तमन्ना मल्टिप्रपोजका कार्यकारी प्रमुख तोया लम्सालकाअनुसार प्रतिबद्धता गरेभन्दा बढी नै निर्माण सामग्री बोकेका टिपर चितवन गएका हुन् । सबैतिरबाट बुटवल गोलपार्कमा भेला भएका उनीहरुले बालुवा तथा गिट्टी लिएर गएका थिए । झुम्साका व्यवसायी कृष्ण प्रसाद पाण्डेयका अनुसार १५ लाख बराबरको सहयोग सामग्री रंगशाला निर्माणका लागि लगिएको छ । त्यसमा टिपरको भाडा हिसाब गरिएको छैन ।

पछिल्लो समय खेल मैदान निर्माणमा आर्थिक अभाव भएको भन्दै फाउण्डेशनले सार्वजनिक अपिल गरेको थियो । रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर शान्ति चोकमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला निर्माण भइरहेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?