बर्दिया निकुञ्‍जमा गैंडा गणना सुरु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दिया निकुञ्‍जमा गैंडा गणना सुरु

६० जना गणक र १० वटा हात्ती परिचालन
कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबारबाट गैंडा गणना थालिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र डल्ला ब्लकबाट गणना सुरु गरिएको हो । दुई साताभित्र गणना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले गणनामा ६० जना प्राविधिक (गणक) र कर्मचारी तथा १० वटा हात्ती परिचालन गरिएको बताए । ठाउ“–ठाउ“मा क्यामेरा ट्र्यापिङ राखिएको छ । गैंडा गणनाको नतिजा वैशाख पहिलो साता राष्ट्रिय वन्यजन्तु सप्ताहको अवसर पारेर घोषणा गरिने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जनाए । यस वर्ष गैंडा बढ्न सक्ने अनुमान गरिएको छ । १२ वर्षयता चोरीसिकार न्यूनीकरण भएपछि निकुञ्जमा गैंडाको संख्या बढ्दै गएको श्रेष्ठ बताउ“छन् । ६ वर्षअघि निकुञ्जमा २९ वटा गैंडा फेला परेका थिए । पछिल्लो पटकको अनुगमनमा ३७ वटा गैंडा भेट्टाइएको थियो ।

श्रेष्ठका अनुसार चितवन निकुञ्जबाट बर्दियामा विभिन्न समयमा स्थानान्तरण गरिएका ८३ गैंडामध्ये सशस्त्र द्वन्द्वका समयमा चोरीसिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मरेका थिए । गैंडा मारिने क्रम २०६५ सालसम्म कायम थियो । चोरीसिकार नियन्त्रण गर्न सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ३१ स्थानमा पोस्ट खडा गरेको छ । यसले गैंडाको चोरीसिकार नियन्त्रणमा आएको सेनाको दाबी छ । सन् २०१५ यता गेरुवा तटीय क्षेत्रमा १३ र बबई उपत्यकामा ५ गरी १८ वटा गैंडा मरेका थिए । ती गैंडा प्राकृतिक कारण, आपसमा जुधेर र बाघको आक्रमणबाट मरेका राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा. रवीन कडरियाले बताए ।

निकुञ्जको बबई उपत्यका गैंडाका लागि उचित बासस्थान मानिन्छ । कर्णाली तटीय क्षेत्र, हात्ती मचान र गैंडा मचानलगायत क्षेत्रमा पनि गैंडा देखिन्छन् ।

प्रकाशित : चैत्र १८, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमण जोखिम : बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द

भारतीयलगायत विदेशीलाई सुरजपुर नाका प्रवेशमा रोक
कमल पन्थी

बर्दिया — नेपाल–भारत सीमा जोडिएको बर्दियाको सुरजपुरबाहेक जिल्लाका सबै नाका बन्द गरिएको छ । भारतमा फैलिएको कोरोना महामारीका कारण काम गर्न गएका नेपाली स्वदेश फर्कन थालेपछि स्थानीय प्रशासनले एउटाबाहेक सबै बन्द गरेको हो ।

सदरमुकाम गुलरियास्थित सुरजपुरबाहेक अन्य नाकाबाट आउजाउ गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘भारतीयलगायत विदेशीलाई यस नाकाबाट प्रवेशमा रोक लगाइएको छ,’ उनले भने, ‘भारत फर्कन चाहने भारतीय नागरिकलाई यो नियम लागू हुनेछैन ।’ सुरजपुर नाकामा हेल्थ डेक्स राखिएको छ भने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलसहितको टोली परिचालन गरिएको छ ।

नेपाल फर्कने नागरिकलाई स्वास्थ्य परीक्षण र पिउने पानीको व्यवस्था गरिएको छ । प्रजिअ सुनारका अनुसार संक्रमण भएकालाई तत्काल एम्बुलेन्समा राखेर क्वारेन्टाइनमा पठाइनेछ । स्वदेश फर्केका सबैले १० दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।

बढैयाताल गाउँपालिकाबाट भारतीय बजार बलैगाउँ आउजाउ बढी हुने भएकाले सीमा सिल गरिएको पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । सरकारले अनुमति दिएको नाका सुरजपुरबाहेक चोरबाटोबाट आउजाउ रोक्न सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले नेपाल–भारत सीमानामा कडाई गर्दे चौबिसै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रकाशित : चैत्र १८, २०७७ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×