कोरोना संक्रमण जोखिम : बर्दियामा सुरजपुरबाहेक सबै नाका बन्द

बर्दिया — नेपाल–भारत सीमा जोडिएको बर्दियाको सुरजपुरबाहेक जिल्लाका सबै नाका बन्द गरिएको छ । भारतमा फैलिएको कोरोना महामारीका कारण काम गर्न गएका नेपाली स्वदेश फर्कन थालेपछि स्थानीय प्रशासनले एउटाबाहेक सबै बन्द गरेको हो ।
सदरमुकाम गुलरियास्थित सुरजपुरबाहेक अन्य नाकाबाट आउजाउ गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘भारतीयलगायत विदेशीलाई यस नाकाबाट प्रवेशमा रोक लगाइएको छ,’ उनले भने, ‘भारत फर्कन चाहने भारतीय नागरिकलाई यो नियम लागू हुनेछैन ।’ सुरजपुर नाकामा हेल्थ डेक्स राखिएको छ भने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी बलसहितको टोली परिचालन गरिएको छ ।
नेपाल फर्कने नागरिकलाई स्वास्थ्य परीक्षण र पिउने पानीको व्यवस्था गरिएको छ । प्रजिअ सुनारका अनुसार संक्रमण भएकालाई तत्काल एम्बुलेन्समा राखेर क्वारेन्टाइनमा पठाइनेछ । स्वदेश फर्केका सबैले १० दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।
बढैयाताल गाउँपालिकाबाट भारतीय बजार बलैगाउँ आउजाउ बढी हुने भएकाले सीमा सिल गरिएको पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । सरकारले अनुमति दिएको नाका सुरजपुरबाहेक चोरबाटोबाट आउजाउ रोक्न सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले नेपाल–भारत सीमानामा कडाई गर्दे चौबिसै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
