कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णनगरमा हेल्थ डेस्क स्थापना

मनोज पौडेल

कपिलवस्तु — भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि कृष्णनगरस्थित लिंक गेटमा हेल्थ डेस्क स्थापना गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकले भारतबाट आउने सबैको रेकर्ड राखी स्वास्थ्य जाँच गरेर आउन दिने निर्णय गरेपछि हेल्थ डेस्क राखिएको हो ।

‘सबैको तापक्रम नाप्छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले भने, ‘ज्वरो आएकाको स्वाब लिएर तत्कालै किटले कोरोना भाइरस परीक्षण गर्छौं । त्यस्तै,मलेरिया पनि परिक्षण गछौं र संक्रमण नभए जान दिन्छौं ।’ संक्रमित देखिए नजिकको आइसोलेसन सेन्टरमा राख्‍ने उनले बताए । कृष्णनगर नगरपालिकाले स्वास्थ्यकर्मी व्यवस्थापन गरेर बिहानदेखि साँझसम्म हेल्थ डेस्क सञ्चालन हुनेछ ।

‘भारतमा तीव्र संक्रमण फैलिएका सहर दिल्ली र मुम्बईसँग सोझो सम्पर्क रहेको कृष्णनगर नाका बढी संवेदनशिल मानिन्छ । त्यही भएर पहिले कृष्णनगरलाई प्राथमिकता दिएका छौं,’ प्रजिअ चक्रपाणी पाण्डेले भने, ‘एक दुई दिनमा मर्यादपुर नाकामा पनि हेल्थ डेस्क राख्छौं ।’

बिहीबार सुरक्षा समिति बैठक बसेर सबैलाई मास्क लगाएर हिँड्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको उनले बताए । अनावश्यक भीडभाड, सभा र भेला कार्यक्रम नगर्न पनि आग्रह गरिएको उनले बताए । आइसोलेसन सेन्टरहरु पहिले जुन जुन अस्पताल र स्वास्थ्य केन्द्रमा थिए, त्यसलाई तयारी अवस्थामा राख्न भनेको प्रजिअ पाण्डेले बताए । क्वारेन्टाइनका हकमा भने कुनै निर्णय नभएको उनले बताए ।

प्रकाशित : चैत्र १२, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?