२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

घनश्याम गौतम

बुटवल — समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन् ।

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल-नेपाल समूहमा

यसअघि कतै नखुलेकी उनी भेलामा सहभागी भएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप संकटमा परेको छ । लुम्बिनी प्रदेश सभाका ८७ सदस्य मध्ये एमालेका ४१ छन् । एमाले र माओवादी गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई अहिलेसम्म माओवादीले समर्थन फिर्ता लिएको छैन ।

प्रदेशसभामा माओवादीबाट २० प्रदेशसभा सदस्य छन् । एमालेका ४१मध्ये दुई जना माधव समूहमा लागेपछि मुख्यमन्त्री पोखरेलको पक्षमा ३९ सदस्य छन् । त्यस्तै सूर्य चिन्ह लिएर पश्चिम नवलपरासीबाट चुनाव लडेका हृदयेश त्रिपाठी समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई सरकार बचाउन ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । जुन एमालेबाट मात्र सम्भव छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्म विष्णु पन्थी मात्र माधव नेपाल समूहमा देखिएका थिए । रमा घर्ती राष्ट्रिय भेलामा सहभागी भएको पन्थीले बताए । ‘रमाजी हामीसँगै भेलामा आउनु भएको हो र सँगै हुनुहुन्छ,’ उनले भने, ‘उहाँ आफै सहभागी हुनु भएको हो, कुनै समस्या छैन ।’ केन्द्रीय सदस्य एवं माधव समुहका नेता ठाकुर गैरेले घर्ती पहिलेदेखि नै आफ्नो समूहमा रहेकाले कुनै समस्या नरहेको बताए ।

नेकपा माओवादीका २० प्रदेशसभा सदस्यमध्ये दुई जना दधिराम न्यौपाने र दिनेश पन्थी ओली समूहमा खुलेका छन् ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेकपा माओवादी, कांग्रेस र जसपा अनौपचारिक छलफलमै छन् । तर, सरकारमा दुई मन्त्रीसहित उपस्थित रहेको नेकपा माओवादीले अहिलेसम्म समर्थन फिर्ता पनि लिएको छैन र मन्त्री पनि नहटेकाले थप प्रक्रियागत छलफल अघि नबढेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । ‘छलफल जारी नै छ,’ उनले भने, ‘माओवादीले बाटो खोल्दाकै दिनदेखि औपचारिक संवाद गर्छौँ ।’

प्रकाशित : चैत्र ५, २०७७ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?