कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा डायलसिस सेवा

कान्तिपुर संवाददाता

कपिलवस्तु — मिर्गौलामा समस्या भई डायलसिस गरिरहेका विदेशी पर्यटक, तीर्थयात्री र भिक्षु–भिक्षुणीलाई अब बुद्धस्थल लुम्बिनी आउन–जान समस्या नहुने भएको छ । डायलसिस सुविधा लुम्बिनीमै मिल्ने भएपछि यहाँ आएर उनीहरूले शान्ति पाठ, ध्यान र पूजाआजा गर्न सक्ने भएका हुन् ।

लुम्बिनीस्थित महिलवारमा अन्तर्राष्ट्रिय बौद्ध समाजको भवनमा उक्त सेवा सुरु गरिएको छ । हेमोडाइलसिस सेवा सञ्चालन र व्यवस्थापन राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौंले गरेको छ ।

सुजी फाउन्डेसन मलेसियाले सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय बौद्ध समाजले उपलब्ध गराएको ५ कोठे भवन एक करोड बढी लागतमा मर्मतसम्भार गरेको छ । त्यस्तै ९० लाख लागतमा जर्मनीको फ्रेसिनियस कम्पनीको डाइलसिस गर्ने ६ वटा मेसिन र ७० लाखमा पानी फिल्टर गर्ने आरो मेसिन जोडिएको छ । त्यस्तै, जेनरेटर र अन्य आधारभूत उपकरण पनि फाउन्डेसनले सहयोग गरेको छ । ‘६ मेसिनमध्ये ५ बाट सेवा सुरु गरेका छौं,’ केन्द्रका सचिव सुमन राउतले भने, ‘एउटा मेसिन स्टेन बाई राख्छौं ।’

यहाँ स्थानीय विपन्नलाई पनि निःशुल्क डाइलसिस गरिनेछ । यसपछि महिलालाई लक्षित गरेर मायादेवी प्रसूति अस्पतालको योजना ल्याएको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले बताए । ‘संसारका लाखौं महिला बुद्ध जन्मस्थल लुम्बिनी आएर बच्चा जन्माउन चाहन्छन् । उनीहरूलाई यहाँ ल्याएर सुरक्षित रूपमा बच्चा जन्माउन अस्पताल बनाउन लागिएको हो,’ उनले भने । यसका लागि कपिलवस्तु र रूपन्देही जिल्लाको सीमा कोठी नदीछेउ जग्गा खोजिसकिएको छ ।

‘दाता र विभिन्न मुलुकका दूतावासले पनि रुचि देखाएका छन्,’ उनले भने, ‘प्रक्रिया अघि बढाइसकिएको छ ।’ लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिका अस्पताल बनाउन लागेका छन् । लुम्बिनीमा हेल्थ टुरिजमको विकास गर्न लागिएको उनले सुनाए । अब छिट्टै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । यसपछि विदेशसँग लुम्बिनीको सोझो सम्पर्क जोडिनेछ । ‘विदेशमा डाइलसिस गराइरहेका धेरै बिरामी लुम्बिनी आउन लालायित छन्,’ केन्द्रका अध्यक्ष एवं मिर्गौला रोग विशषज्ञ डा. ऋषिकुमार काफ्लेले भने, ‘तर यहाँ पूर्वाधार नहुँदा समस्या थियो । अब त्यो समस्या हटेको छ ।’ लुम्बिनीमा वार्षिक करिब दुई लाख विदेशी, त्यत्तिकै संख्यामा भारतीय र १६ लाखभन्दा बढी नेपाली भ्रमण गर्न आउँछन् । सन् २०१९ मा १ सय १५ देशका पर्यटकले लुम्बिनीको अवलोकन गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?