कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पत्तिका लागि आफन्तबाटै हत्या गरिएको प्रहरीको दाबी

माधव ढुंगाना

भैरहवा — ९ दिनअघि जलेको अवस्थामा फेला परेको एकजना पुरुषको शवका बारेमा गरिएको अनुसन्धानबाट सम्पत्तिका लागि आफ्नै नातेदारबाट हत्या गरिएको रहस्य प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

सम्पत्तिका लागि आफन्तबाटै हत्या गरिएको प्रहरीको दाबी

रुपन्देहीको मायादेवी गाउँपालिका-७ स्थित गरगट्टी भन्ने स्थानमा गत माघ ६ गते जलेर क्षत विक्षत भइ पहिचान हुन नसक्ने अवस्थामा फेला परेको पुरुषको शवको बारेमा रुपन्देही प्रहरीले अनुसन्धान गरेको थियो ।

रुपन्देहीकै सियारी गाउँपालिका २ बस्ने ३४ वर्षीय राजेन्द्र यादवलाई आफ्नै काका र काकाको छोराहरु समेतको संलग्नतामा भाडामा मान्छे मार्ने हत्याराको प्रयोग गरी हत्या गरि जलाइएको दाबी प्रहरीको छ । ‘घटनास्थल आसपासमा फेला परेको मोटरसाइकलको पांग्राको बालुवामा जमेको डोब र रगत लागेको एउटा सानो पाइपबाट फेला परेको व्यक्तिको मृत्यु सामान्य नभइ हत्या भएको पुष्टि गरेको थियो,’ घटनाको बारेमा बुधबार सार्वजनिक गर्दै रुपन्देहीका एसपी प्रविण पोखरेलले भने, ‘शवको सनाखत हुनासाथ कारण पत्ता लगाउन सहज भयो ।’

शवको पहिचान हुन नसेको अवस्थामा स्थानीय बासिन्दाले डेरामा बस्दै आएका राजेन्द्र यादव बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए । राजेन्द्रको हत्याबाट कसलाई प्रत्यक्ष फाइदा पुग्छ ? भन्ने विषयबाट अनुसन्धान अघि बढाइएपछि हत्याको रहस्य खुलेको पोखरेलले बताए ।

उनका अनुसार राजेन्द्र २ वर्षको हुँदा उनका बाबु राम सुभगको सर्पले टोकेर मृत्यु भएको थियो । आमा गुलमतीले देवर (राजेन्द्रको काका) राम वेलास यादवसँग विवाह गरेपछि जोगेन्द्र, नरेश र वीरेन्द्र यादव छोरा जन्मेका थिए । राजेन्द्र

१४ वर्षसम्म भारतमा बसेर फर्केपछि अंश मागेका थिए । अंशका कारण आफू असुरक्षित ठानी नजिकै भाडामा बस्दै आएका थिए । अंश माग्दा नपाएपछि अदालतमा परेको अंश मुद्दामा रुपन्देही अदालतले १४ कट्ठा भन्दा धेरै पाउने गरी मिलापत्र गराइदिएको थियो । जुन करोडौं मूल्य पर्छ । यही सम्पत्ति हत्याउन राम बिलास सहितका आफन्तले अविवाहित राजेन्द्रको हत्याको योजना बनाएका थिए ।

प्रहरीले, रामबिलास, उनका तीनजना छोरा हत्यामा संलग्न अन्य गरी ५ जनालाई पक्राउ गरि अदालती कारबाही अघि बढाएको छ ।

प्रकाशित : माघ १४, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?