कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितुवा आक्रमणमा मारिँदै संरक्षण क्षेत्रका कृष्णसार

कमल पन्थी

बर्दिया — बर्दियाको खैरापुरस्थित संरक्षण क्षेत्रका कर्मचारीलाई चितुवाबाट कृष्णसार जोगाउन मुस्किल परेको छ । उक्त क्षेत्रमा साउनयता मात्र चितुवाको आक्रमणमा २७ वटा कृष्णसार मरिसकेका छन् ।

चितुवा आक्रमणमा मारिँदै संरक्षण क्षेत्रका कृष्णसार

उक्त अवधिमा हुँडारको आक्रमणमा तीन र कालगतिले थप चार कृष्णसार मरेको रेन्जर अरुण चौधरीले बताए । मरेका र मारिएकामध्ये भाले १९, पोथी ८ र बच्चा ७ वटा छन् ।

संरक्षण क्षेत्रसँग जोडिएर उत्तरपूर्वतर्फ रहेको सामुदायिक वनबाट निस्कने चितुवाले कृष्णसारले लखेटेर मार्ने गरेका छन् । दुई वर्षअघिसम्म तीन सयसम्म पुगेको कृष्णसारको संख्या अहिले १ सय ७७ मा झरेको संरक्षण कार्यालयले जनाएको छ । पटकपटक चितुवाको आक्रमणपछि केही कृष्णसार त्यहाँबाट अन्यत्रै सरेका छन् । ०७१ साउन अन्तिम साता आएको बाढीले बगाएर ४० वटा कृष्णसार मरेका थिए ।

दुर्लभ वन्यजन्तु कृष्णसार बर्दियामा सदरमुकाम गुलरिया–२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । संरक्षण क्षेत्रस्थित तुलसीपुर र बेचैपुरस्थित संरक्षित वनमा रहेका चारवटा चितुवाले पटकपटक तिनलाई आक्रमण गर्ने गरेका छन् । गत वर्ष ४५ वटा कृष्णसार मरेका थिए । ती पनि धेरैजसो चितुवा र हुँडारको आक्रमणमा परेका थिए ।

रेन्जर चौधरीले चितुवा आक्रमण रोक्न सुरक्षाका लागि रात्रि गस्ती गरिए पनि नियन्त्रणमा नआएको बताए । ‘यससम्बन्धमा विभागसँग समन्वय गरी चितुवाको आक्रमणबाट बचाउन पहल भइरहेको छ,’ उनले भने ।

चितुवा नजिकैको सामुदायिक वनबाट दैनिक आउने गरेको संरक्षण क्षेत्रले जनाएको छ । चार वर्षअघि एउटा चितुवालाई बेहोस पारी बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो ।

सामान्यतया वर्षमा दुईवटा बच्चा जन्माउने कृष्णसार वासस्थान अतिक्रमणसँगै हुँडार र भुस्याहा कुकुरको आक्रमणमा पनि पर्ने गरेको छ । चितुवा र हुँडारबाट बचाउन सके एक वर्षमा कृष्णसारको संख्या तीन सय नाघ्न सक्ने अनुमान संरक्षणकर्मीको छ ।

आठ वर्षअघि करिब दुई करोड लागतमा १० किमी कृष्णसार संरक्षण क्षेत्रमा तारबार लगाइएको थियो । तर उक्त तारबार केही ठाउँमा जीर्ण भइसकेकाले चितुवा, हुँडार र कुकुर सजिलै भित्र पस्ने गरेका छन् ।

संरक्षण क्षेत्रको भौतिक पूर्वाधार विकास र स्याहारसम्भारको अवस्था पनि निकै कमजोर छ । ७ सय ८ बिघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० बिघाभन्दा बढी भूमिहीनका नाममा अतिक्रमण भएको कृष्णसार संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा ०२६ सालदेखि ५१ परिवार ऐलानी जग्गामा बस्दै आएका छन् ।

पर्यटकलाई आकर्षण गर्ने सम्भावना बोकेको संरक्षण क्षेत्र जोगाउन कतैबाट पहल हुन नसकेको स्थानीय बताउँछन् । चितुवाले कृष्णसार मात्रै नभई स्थानीयले पालेका बस्तु–बाख्रासमेत खाइदिने गरेको छ । सरकारले ०६५ चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित : माघ १३, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?