२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

घुम्दै घुमाउने धोको

अनिश भट्टराई

गण्डकी — कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकका ज्ञानबहादुर भित्रकोटीलाई घुम्न निस्कन असाध्यै चाख लाग्छ । ३२ वर्षीय भित्रकोटी एक्लै घुम्न भने चुकचुकाउँछन् । जन्मिँदै सुन्न र बोल्न नसक्ने ज्ञानबहादुर कोही साथी पाउनासाथ डुल्न निस्कन्छन् । कास्कीका डाँडाकाँडा, कन्दरामा उनी नपुगेको ठाउँ बिरलै होला ।

घुम्दै घुमाउने धोको

जीविकाका लागि ज्ञानबहादुर एक विद्यालयमा सांकेतिक भाषा सिकाउँछन् । श्री सिर्जना बहिरा विद्यालय लेखनाथ चोकमा उनले पढाएर आफ्नो जीविका चलाएका छन् । विद्यालयमा बिदा पाउना साथ उनी कुनै समूहमा मिलेर घुम्न निस्कने गरेका छन् ।

गत शनिबार ज्ञानबहादुर अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गन्तव्य अष्ट्रेलियन क्याम्पमा भेटिए । कालो टिसर्ट लगाएर रातो झोला बोकेका उनको हातमा ट्रेकिङ पोल थियो । बोल्न नसके पनि उनको मुहार हँसिलो थियो । साथीसँग जिस्किरहेका थिए ।

अन्नपूर्ण गाउँपालिकाले राखेको ट्रेकिङ गाइड तालिममा उनी सहभागी थिए । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा राखिएको १५ दिन लामो प्रशिक्षणमा उनी सधैं उही जोश र ऊर्जाका साथ सिक्न गइरहे । गाइड बनेर आफू पनि घुम्ने अरुलाई पनि घुमाउने उनको धोको छ । ‘एक्लै घुम्न जादिनँ, साथी भए जहाँ पनि पुग्छु । गाइड बनें भने पनि अरुसँगै घुम्न पाइन्छ,’ उनले कापीको पानामा लेखे ।

घुम्दा समय पनि कट्ने र सही सोच आउने भएकाले घुम्न निस्कने गरेका छन् । उनलाई साथीहरुले गाइड बने पर्यटक लिएर जान सहयोग गर्ने बाचा गरेका छन् । साथीकै साथ पाउने भरोसाले उनलाई गाइड बन्ने लक्ष्यका साथ उकालो उकालिरहेको छ ।

लुम्ले काँडेका १९ वर्षीय सुमन देवकोटा भर्खरै १२ कक्षाको परीक्षा सकाएर बसेका छन् । इन्जिनियरिङको तयारी गरिरहेका देवकोटा पनि ट्रेकिङ गाइडको तालिममा भेटिए । गाउँपालिकाले आहृवान गरेको विज्ञापन देखेपछि उनका बुवाले सुमनलाई फारम भर्न लगाएका रहेछन् । १२ कक्षाको परीक्षापछि मर्दी हिमालको आधार शिविरमा ट्रेकिङ गएका सुमन त्यसपछि नै ट्रेकिङमा लोभिए ।

ट्रेकिङ गाइड बन्न सके आर्थिक हिसाबमा आफू स्वतन्त्र हुने र घुम्न पनि पाउने उनको आशा छ । तर उनी फूलटाइमर गाइड बन्न भने इच्छुक छैनन् । कारण, उनलाई इन्जिनियरिङ पढ्नु छ । ‘धेरै मान्छेसँग चिनजान गर्न पनि पाइने । घुमाउन लैजाँदा आफू पनि घुम्न पाइने अनि आर्थिक रुपमा सबल पनि हुने भएर गाइड बन्ने इच्छा पलायो,’ उनले भने । देवकोटालाई अंग्रेजी भाषा पनि सुधार्न गाइड बने सहयोगी हुने आशा छ । विदेशी पर्यटकलाई घुमाउन लैजाने बेला उनीहरुसँग अंग्रेजीमै बातचित गरे आफ्नो अंग्रेजी भाषाको पकड पनि बढ्नेमा उनी आशावादी छन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रदीप देवकोटा (२५) गत स्थानीय तह चुनावमा वडा नम्बर ६ को वडाध्यक्षका उम्मेदवार थिए । उनी पनि ट्रेकिङ गाइडको तालिममा अरु जस्तै उत्साही भएर तालिम लिइरहेका थिए । उनको अनुभवका आधारमा पनि ट्रेकिङ गाइड एक सम्मानित जागिर हो । उनी आफैं ट्रेकिङ जाँदा खुट्टा मड्किएपछि गाइडको महत्त्व बुझेका थिए । गाइड बनेपछि आफ्नो ठाउँको प्रवर्द्धनका लागि पर्यटकलाई घुमाउन पालिकाभर लैजान सक्ने उनको योजना छ । ‘राजनीतिमा पनि छु तर गाइड बन्न सके पालिका र जिल्लाकै विकासका लागि पर्यटकलाई डोर्‍याउन सकिन्छ नि ! लो लेभलमा बसेर काम गरे पनि आफ्नो ठाउँलाई फाइदा पुर्‍याउन सकिन्छ,’ उनले भने । स्नातक अध्ययनको तयारीमा रहेका उनी पढ्दै गाइडको रुपमा कार्यरत रहने सोचमा छन् ।

पालिकाले आयोजना गरेको तालिममा ३५ जना युवा सहभागी छन् । नव प्रवर्द्धन साझेदारी कार्यक्रम अन्तर्गत आयोजित यस कार्यक्रमका संयोजक सूर्य तिमिल्सिनाले पालिकाले कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिए । पालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले काठमाडौंमा गएर लिनुपर्ने तालिम पालिकामै नि:शुल्क प्रदान गर्नुले रोजगारीको सहज अवसर सिर्जना गरेको बताइन् । नेपाल सरकारले पदमार्गमा जाने पर्यटकलाई गाइड लिएरै जानुपर्ने नियम ल्याएका बेला तालिमबाट गाइड बन्नेलाई आर्थिक उपार्जनको सहज मौका भएको उनले बताइन् ।

प्रकाशित : चैत्र २९, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?