कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नमोबुद्धको नीति : अतिविपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा, किसानलाई परिचयपत्र

काभ्रे — काभ्रेको नमोबुद्ध नगरपालिकाले जेष्ठ नागरिक, पूर्णअशक्त र अतिविपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । शुक्रबार नगरपालिकाको दोस्रो नगर सभाको पाँचौं अधिवेशनले आर्थिक वर्ष २०८१/०८२ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवामा जेष्ठ नागरिक, पूर्ण अशक्त र अति विपन्न नागरिकलाई पहिलो प्राथमिकता राखेको छ । 

नमोबुद्धको नीति : अतिविपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा, किसानलाई परिचयपत्र

सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परीक्षण शिविर/गाउँघर क्लिनिक संचालनमा ल्याइनेछ ।

स्वास्थ्य नीति अर्न्तगत नगर भित्र रहेका सामुदायिक विद्यालय जंक फुड (अस्वस्थकर खाना) सम्बन्धी अभिमुखीकरण गरी सबै सामुदायिक विद्यालयलाई जंक फुड (अस्वस्थकर खाना) मुक्त क्षेत्र घोषणा गर्ने नीति लिएको छ । नगरका सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारद्वारा निःशुल्क घोषणा गरिएका औषधी एवं स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु समयमै उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि नगरपालिकाले सम्बन्धित सरोकारवाला निकायसमक्ष पहलकदमी एवं ध्यानाकर्षण गराउँदै आएको थियो । सो विषयलाई नगरपालिकाले आ.व २०८१/०८२को नीति तथा कार्यक्रममा पनि समावेश गरेको छ । पर्यटन विकास तथा प्रबर्द्धन सम्बन्धी नीतिमा नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकार र प्रदेश सरकारसँगको समन्वयमा आवश्यक पहल गरिने उल्लेख छ ।

आर्थिक विकास नीतितर्फ कृषिमार्फत नगरपालिकाले कृषि यान्त्रिकीकरण, वीउ प्रविधि तथा प्रशोधन एवंम् भण्डारणमा अनुदानको व्यवस्था गरी कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गर्ने नीति बनाउने योजना बनाएको छ । कृषि कार्यत्रलम अर्न्तगत ‘एक गाउँ एक कृषि तथा पशु प्राविधिक, एक वडा एक कृषि दूत तथा एक पालिका एक पशु चिकित्सक’ को व्यवस्थापन गरी कृषकको घर–आँगनमा विज्ञ कृषि प्राविधिक सेवा उपलब्ध गराउने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाले फलफुलका विरुवा वितरण कार्यलाई ‘एक विद्यार्थी एक विरुवा’ वितरण कार्यक्रम ल्याएको छ भने बेरोजगारहरुको तथ्यांक व्यवस्थित गरी ‘एक बेरोजगार एक सिप प्रवर्द्धन’ गरी सार्वजनिक निर्माण कार्यमा निजहरुको आवद्धता बढाउने नीति लिएको छ ।

नगरपालिकाका प्रमुख एवं नगर सभा अध्यक्ष कुन्साङ लामाले आर्थिक वर्ष २०८१/०८२को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।

प्रकाशित : असार ७, २०८१ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×