कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
अन्वेषण

के सामाजिक सञ्जाल किशोरकिशोरीको स्वास्थ्यका लागि हानिकारक छ ?

सामाजिक सञ्जालहरूको प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई हानि पु‍र्‍याउन सक्ने हुँदा सुर्ती र रक्सीका उत्पादनहरूमा जस्तै सामाजिक सञ्जालमा पनि ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनीका लेबल राख्न चिकित्सकहरूको माग
विश्वप्रसिद्ध वैज्ञानिक जर्नल जामा साइक्याट्रीमा प्रकाशित एक अनुसन्धनात्मक लेखमा दाबी गरिएअनुसार दिनमा तीन घण्टाभन्दा बढी सामाजिक सञ्जालमा समय बिताउने किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ ।

काठमाडौँ — हरेक उमेर, लिंग, समुदाय, भाषा र देशका व्यक्तिका लागि कुनै न कुनै सामाजिक सञ्जाल अहिले अपरिहार्य आवश्यकताका रूपमा विकसित भएको छ । सामाजिक सञ्जाल जुन रूपमा विकास भएर अगाडि आएको छ त्यसले हरेक दिन आफ्नो पहुँच समाजमा विस्तार गर्दै लगेको देखिन्छ । यससँगै सामाजिक सञ्जालले समाजमा पारेको सकारात्मक र नकारात्मक दुवै प्रभावबारे गहन रूपमा विश्वभर नै बहस तथा छलफल भइरहेका छन् । यसबाट नेपाल पनि अछुतो छैन ।

के सामाजिक सञ्जाल किशोरकिशोरीको स्वास्थ्यका लागि हानिकारक छ ?

पछिल्लो समय अमेरिकामा चिकित्सकहरूको अभिभावकका रूपमा हेरिएका सर्जन जनरल डा. विवेक मूर्तिले सामाजिक सञ्जालहरूले यसको प्रयोगले किशोरकिरोशीको मानसिक स्वास्थ्यलाई हानि पु‍र्‍याउन सक्ने हुँदा त्यसमा सचेत रहन र अभिभावक लक्षित चेतावनी राख्नुपर्ने प्रस्ताव अघि सारेसँगै बहस नयाँ कोणमा प्रवेश गरेको छ । उनले सुर्ती र रक्सीका उत्पादनहरूमा राखिने ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनीका लेबलहरू सामाजिक सञ्जालमा पनि राखिनुपर्ने माग गरेका छन् ।

यो निर्णय अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारीहरूले गर्न पाउने भए पनि त्यसलाई त्यहाँको संसद्ले भने अनुमोदन गर्नुपर्ने हुन्छ । यो प्रस्ताव सर्जन जनरलबाट धेरै वर्षदेखि आइरहेको चेतावनीको उपज हो । २०२३ मेमा उनले जारी गरेको सिफारिसमा आमाबुबाले बालबालिकाको फोन प्रयोगमा तुरुन्तै सीमा तोक्नुपर्ने बताएका थिए । यसका साथै उनले अमेरिकी संसद्लाई सामाजिक सञ्जालहरूका लागि स्वास्थ्य र सुरक्षाका मापदण्डहरू तुरुन्तै विकास गर्न पनि आग्रह गरेका थिए ।

वयस्क मानिसहरूले आफूले के गर्दा ठीक हुन्छ वा हुँदैन भन्ने निर्णय गर्न सक्ने क्षमता राख्ने भए पनि ठूला भनिएका सामाजिक सञ्जालहरूले किशोरकिशोरीलाई लक्षित गर्दै गरेका प्रविधिको विकासले उनीहरूलाई सञ्जालको कुलतमा फसाउँदै लगेको छ भन्ने उनको तर्कलाई सम्पूर्ण रूपमा नकार्न सकिँदैन । यसका कारण बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा ठूलो आघात पुगिरहेको तर्क यसका पक्षधरहरूको दाबी छ ।

अनुसन्धानकर्ताहरूबीच सामाजिक सञ्जालको प्रयोगले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा संकट पैदा गरेको छ वा छैन भनेर चर्को बहस भइरहेका छन् । सामाजिक मनोवैज्ञानिक जोनाथन हेडले आफ्नो नयाँ पुस्तक ‘द एङसियस जेनेरेसन’ मा स्मार्टफोनको बढ्दो प्रयोगले किशोरकिशोरीहरूमा आत्मघाती व्यवहार र निराशा तीव्र रूपमा बढेको दाबी गरेका छन् । गत वर्ष अमेरिकाका १५ सय किशोरकिशोरीमा गरिएको एक सर्वेक्षणअनुसार उनीहरूले युट्युब, टिकटक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरू प्रति दिन औसतमा ४.८ घण्टा खर्च गरिरहेका छन् । सामाजिक सञ्जालको यस प्रकारको प्रयोगले किशोरकिशोरीलाई फाइदाभन्दा बढीे हानि पुगेको छ । त्यसैले यसको प्रयोगलाई किशोरकिशोरीमा निरुत्साहित नै गर्नुपर्ने बेला भइसकेको विज्ञहरूको तर्क छ ।

विश्व प्रसिद्ध वैज्ञानिक जर्नल जामा साइक्याट्री प्रकाशित एक अनुसन्धनात्मक लेखमा दाबी गरिएअनुसार दिनमा तीन घण्टाभन्दा बढी सामाजिक सञ्जालमा समय बिताउने किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएको छ । यस्तै, बोस्टन चिल्ड्रेन्स हस्पिटल तथा हार्वड मेडिकल स्कुल टिचिङ हस्पिटलको सहकार्यमा स्थापना भएको बोस्टन चिल्ड्रेन्स डिजिटल वेलनेस ल्याबले २०२२ मा गरेको एक सर्वेक्षण अनुसार अमेरिकाका ९० प्रतिशतभन्दा बढी किशोरकिशोरीहरू कुनै न कुनै सामाजिक सञ्जालसँग जोडिएका पाइएको थियो ।

सर्वेक्षणमा सहभागी भएकामध्ये ३१.३ प्रतिशतलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण आफ्नो पढाइ बिग्रिएको हेक्का थियो । त्योभन्दा पनि गम्भीर कुरा ४६ प्रतिशतलाई सामाजिक सञ्जालकै कारण आफ्नो शरीर नै मनपर्न छाडेको थियो । यसका साथै ४७ प्रतिशतमा आँखासम्बन्धी समस्या, ४९.९ प्रतिशतमा टाउको दुख्ने समस्या, ५२.१ प्रतिशतमा ढाड वा गर्धन दुख्ने समस्या तथा ५७.१ प्रतिशतमा थकानको समस्या देखिएको थि यो ।

यद्यपि ल्याबका अनुसन्धान निर्देशक डा. डेभिड बिक्हामका अनुसार केही अनुसन्धान तथा अध्ययनहरूले डिजिटल प्रविधि किशोरकिशोरीका मानसिक स्वास्थ्यका लागि हानिकारक रहेको देखाए पनि त्यो धेरै ठूलो भने छैन । ती अध्ययनहरूलाई नै आधार बनाएर नीतिगत परिवर्तन नै गर्नुपर्ने बेला अझै नभइसकेको उनको तर्क छ । ‘सर्वेक्षणमा सहभागी आधाले उनीहरूलाई मानसिक समस्या भएको वा शरीर मनपर्न छोडेको बताए पनि आधाले साथीहरूसँगको सम्बन्धमा सुधार आएको पनि बताएका छन्,’ उनले लिंक्डइनमा उल्लेख गरेका छन्, ‘त्यसैले कुनै पनि नतिजामा पुग्न हतार गर्नु हुँदैन ।’ उनका अनुसार यस प्रकारका बहसले सामाजिक सञ्जालमा प्रणालीगत सुधार गर्दै किशोरकिशोरीको मानसिक स्वास्थ्यमा देखिएका समस्याहरूलाई रोकथाम गर्न भविष्यमा बहुआयामिक दृष्टिकोण बनाउन भने सहयोग गर्नेछ ।

तर, सर्जन जेनेरल डा. विवेक मूर्तिका अनुसार किशोरकिशोरीहरूलाई आफूले सामाजिक सञ्जालमा धेरै समय बिताएको थाहा भए पनि त्यसबाट बाहिर निस्कन नसकेको अभिव्यक्ति दिनु नै खतराको घण्टीका रूपमा बुझ्नुपर्छ । ‘मैले मेडिकल स्कुलमा सिकेको सबैभन्दा महत्त्वपूर्ण पाठहरूमध्ये एउटा यो हो कि आपत्कालमा, तपाईंसँग पूर्ण जानकारीका लागि पर्खने विलासिता हुँदैन,’ उनले भने, ‘तपाईं उपलब्ध तथ्यहरू मूल्यांकन गर्नुहुन्छ, आफ्नो उत्तम निर्णय क्षमता प्रयोग गर्नुहुन्छ र तपाईं छिटो कार्य गर्नुहुन्छ ।’

उनले सामाजिक सञ्जाल सञ्चालन गर्ने ठूला कम्पनीहरूलाई उनीहरूको सञ्जालको प्रयोगले स्वास्थ्यमा पार्ने प्रभावका तथ्यांकहरू पनि सार्वजनिक गर्न आह्वान गरेका थिए । ठूला कम्पनीहरूले त्यस्ता तथ्यांक सार्वजनिक गरे त्यसबाट स्वतन्त्र रूपमा सुरक्षा अडिट गर्न सकिने उनले बताएका थिए । यसका साथै उनले सामाजिक सञ्जालले प्रयोगकर्तालाई समय–समयमा पठाउन पुस नोटिफकेसन, अटोप्ले र अनन्त स्क्रोलजस्ता सुविधाहरू पनि बन्द गर्न आग्रह गरेका थिए । उनको भनाइमा त्यसले विकास हुँदै गरेको बालमस्तिष्कमा नराम्रो प्रभाव पार्छ र अत्याधिक प्रयोग गर्न उकास्छ । डा. मूर्तिका अनुसार सामाजिक सञ्जाल सञ्चालकहरूले उनको कुरा नमानेका कारण उनी निकै निराश छन् ।

डा. मूर्तिले तर्क गरेझैं सामाजिक सञ्जालमा चेतावनी देखिन थाले पनि सामाजिक सञ्जाल भनेको के–के हो भन्ने विषय आफैंमा पेचिलो छ । हामीले अहिले सतही रूपमा बहस गर्दा फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक भने पनि अनलाइन माध्यममा देखिने अन्य धेरै साइट तथा प्रविधिले पनि सामाजिक सञ्जालका अवयवहरूको प्रयोग गरिरहेका छन् । अमेरिकी संसद्ले सामाजिक सञ्जालले चेतावनी राख्नुपर्ने विषयमा गम्भीर भएर विधेयकलाई अगाडि बढाएमा त्यसपछि ‘सामाजिक सञ्जाल प्रयोग गर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनी प्रयोगकर्ताले निरन्तर देख्ने छन् ।

तर, के त्यतिले नै किशोरकिशोरीहरू अनलाइनमा पूर्णरूपमा सुरक्षित हुन्छन् त ? यसले अर्को गम्भीर प्रश्न पनि खडा गर्छ । र, यसको उत्तर भने सहज छ– ‘गर्दैन’ । अहिले विश्वभर नै अभिभावकहरू आफ्ना बालबालिकालाई अनलाइनको दुष्प्रभावबाट कसरी सुरक्षित राख्ने भन्ने विषयमा गम्भीर भइरहेको समयमा डा. मूर्तिको तर्कले बहसलाई सतहमा ल्याए पनि पूर्ण समाधानको विषय पेचिलो छ । एकातर्फ बालबालिकाको सुरक्षा र स्वास्थ्यको सवाल छ भने अर्कोतर्फ प्रविधिको विकासलाई कसरी निर्देशित गर्ने भन्ने प्रश्न छ ।

मेटाजस्तो विश्वकै ठूलो सञ्जालका सञ्चालकले आफ्नो व्यापारिक हितलाई सर्वोपरि ठानेर किशोरकिशोरीलाई बढीभन्दा बढी समय फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सएपमा कसरी बाँध्न सकिन्छ भन्नेमा केन्द्रित भएर प्रविधिको विकास गरेको तथ्य न्युयोर्क टाइम्सले उल्लेख गरेको छ । मेटाले किशोरकिशोरीलाई नै केन्द्रमा राखेर गरेको प्राविधिक परिवर्तनले उसको प्ल्याटफर्म चलाउनेको संख्या वृद्धि भएको देखाएको छ ।

मेटाजस्ता ठूलो कम्पनीहरूले व्यापारमा मात्रै केन्द्रित हुँदा बालबालिका र किशोरकिशोरीमा अनलाइन प्ल्याटफर्महरूले पारेको असरबारे अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकतालाई थप प्रमाणित गरेको छ । तथापि चुरोट वा रक्सीमा प्रकाशित गरिएका चेतावनीले जसरी धेरैभन्दा धेरै प्रयोगकर्तालाई यसको प्रयोग गर्न निरुत्साहित नगरे झैं सामाजिक सञ्जालमा पनि चेतावनी देखिँदैमा समस्या समाधान भने हुँदैन । बरु यसले मेटाजस्ता ठूला कम्पनीलाई चेतावनी प्रकाशित गरेकै भरमा आफ्नो दायित्वबाट पन्छिने वातावरण भने बनाइदिन सक्छ भन्ने तर्क सरोकारवालाहरू गर्छन् । किशोरकिशोरीलाई मात्रै नभएर वयस्कहरूमा सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण मानसिक रूपमा दुष्प्रभाव पर्ने केही अध्ययनहरूले पुष्टि गरेका छन् । बालबालिकका साथै किशोरकिशोरीलाई मात्रै नभएर वयस्कहरूलाई पनि अनलाइनका साथै सामाजिक सञ्जालको दुष्प्रभावबाट सुरक्षित बनाउनका लागि विभिन्न कोणबाट अनुसन्धान आवश्यक भइसकेको छ ।

सामाजिक सञ्जालमा व्यक्तिगत गोपनीयता सुरक्षित राख्न विश्वका धेरै मुलुकहरूले विभिन्न खाले कानुनहरू बनाउन थालेका छन् । अब स्वास्थ्यको दृष्टिकोणबाट पनि सामाजिक सञ्जाललाई समाजको अंग बनाउनका लागि प्रयत्नहरू सुरु गरिनुपर्छ भन्नेमा अवाजहरू पनि उठिरहेका छन् । यसलाई डा. मूर्तिको चेतावनीयुक्त सन्देशको मागले सतहमा त ल्याइदिएको छ तर यो कुन दिशामा जान्छ भन्नेचाहिँ भविष्यकै गर्भमा छ ।

खासगरी, अमेरिका वा युरोपमा प्रविधिको प्रयोगलाई सुरक्षित बनाउन बन्न लागेका नियन्त्रण र नियमनकारी कानुन र नीतिहरूले नेपालजस्तो देशलाई पनि झक्झक्याएको छ । यद्यपि नेपालजस्ता एसिया वा अफ्रिकाका विकासोन्मुख देशहरूमा अनलाइन प्ल्याटफर्मलाई सुरक्षित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्ने प्रयास हुने डर पनि उत्तिकै छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : असार १४, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×