कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भीम विराग संगीत पुरस्कार गीतकार थापालाई

प्रताप विष्ट

हेटौंडा — भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले वरिष्ठ गीतकार राजेन्द्र थापालाई विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८० बाट सम्मान गरेको छ ।  हेटौडामा बिहीबार  साँझ एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ साहित्यकार थापालाई एक लाख रुपैयाँ नगद राशीसहित सम्मान गरिएको हो ।

भीम विराग संगीत पुरस्कार गीतकार थापालाई

व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन्। पाँच दशक भन्दा लामो समयबाट गीत लेखनको माध्यमबाट उत्साहका साथ अविच्छिन्न रुपमा नेपाली चलचित्र तथा सुगम संगीतको आयामलाई विश्व जगतमा परिचित गराउन दिएको योगदानको कदर गर्दै वरिष्ठ गायक थापालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी भीम विराग युवा संगीत पुरस्कार २०७९ बाट गायिका निशा देशारलाई सम्मान गरिएको छ । २ दशकदेखि गायन कलाको माध्यमले आधुनिक नेपाली सुगम संगीतको वृद्धि गर्नका लागि पुर्‍याएको योगदानको कदर गर्दै तेस्रो युवा संगीत पुरस्कार २०७९ बाट देशारलाई २५ हजार रुपैयाँको नगद राशीसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको सभाध्यक्षमा तथा वरिष्ठ साहित्यकार नगेन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, पुरस्कारका संस्थापक कन्हैयाकृष्ण श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

यसअघि यो पुरस्कार बाट बरिष्ठ गीतकार संगीतकार अम्बर गुरुङ, प्रेमध्वज प्रधान , भक्तराज आचार्य ,फत्तेमान राजभण्डारी,शान्ति ठटाल,दीप श्रेष्ठ,प्रकाश श्रेष्ठ,न्हुच्छेबहादुर डङ्गोल,मीरा राणा,कर्म योञ्जन, चेतन कार्की,दावा ग्याल्मो,दीपक जङ्गम, किरण प्रधान लाई प्रदान गरिएको थियो ।

वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मानस्वरूप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत सांस्कृतिक र कला क्षेत्रमा योगदान र्पुयाउने विभिन्न क्षेत्रका व्यक्तिलाई विभिन्न १२ वटा पुरस्कार समेत प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : चैत्र ३०, २०८० १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×