२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

टीकाप्रसाद भट्ट

रामेछाप — संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो । उनी थाइराइट क्यान्सरबाट पीडित थिइन् ।

संविधानसभा सदस्य दालकुमारी सुनुवारको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार सुनुवार पञ्चायतकालदेखि राजनीतिमा सक्रिय हुँदै आएकी थिइन् । वर्गीय संगठनअन्तर्गत तत्कालीन जनकपुर अञ्चलको महिला संघको सभापतिबाट उनले राजनीति सुरु गरेकी थिइन् । महिलाहरुको आयआर्जन र अधिकारका लागि सुधार सधैं अग्रपंक्तिमा उभिन्थिन् । जिल्ला जिल्लामा उनले नारी शिल्पकला केन्द्रको स्थापना गरी आयआर्जनमा महिलाहरुलाई सम्लग्न गराएकी थिइन् ।

२०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य पदको निर्वाचनमा रामेछापबाट उम्मेदवार बनेकी सुनुवार झिनो मतान्तरले पराजित भएकी थिइन् । बहुदलीय व्यवस्था प्राप्तिपछि सुनुवार राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न रहिन् । उक्त पार्टीबाट ०६४ को संविधानसभामा समानुपातिक तर्फबाट सदस्य निर्वाचित भएकी थिइन् ।

सुनुवारले राप्रपाको केन्द्रीय सदस्यको रुपमा समेत केही अवधि कार्य गरिन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा राजपरिषद् स्थायी समिति सदस्य रहेकी सुनुवार रामेछाप जिल्लाको अनुगमन समितिकी संयोजकसमेत रहेकी थिइन् ।

सुनुवारको शव आइतबार राप्रपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि सुनुवार परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् । सुनुवारका श्रीमान् र ३ छोरा रहेका छन् ।

प्रकाशित : पुस १४, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?