२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवक पक्राउ

प्रताप विष्ट

हेटौंडा — आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।  हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ । 

घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवक पक्राउ

सूर्यप्रसाद निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन् । निश्चलको योजनामा सूर्यप्रसादको घरमा मंसिर १९ गते गोली प्रहार गरिएको थियो । गोली घरको भित्तामा लागेको थियो । गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ माग गरेका थिए । 'यो गोली प्रहार संकेतमात्र हो, मागेको रकम दिएनौ भने जे पनि हुन सक्छ' भनेर सूर्यप्रसादलाई मोबाइलमार्फत धम्की दिएका थिए ।

उक्त घटनाबारेमा प्रहरीलाई जानकारी दिए पश्चात अनुसन्धानमा प्रहरी उपरीक्षक सिताराम रिजाल आफैं खटिएका थिए । तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान पछि घटनाको सत्यतथ्य पत्ता लागेको प्रहरी उपरिक्षक रिजालले बताए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली पक्राउ गरेको थियो ।

हेटौंडा उपमहानगरपालिका—९ मा घर भएपनि हेटौंडा उपमहानगरपालिका—४ मा पौडेल डेरा लिएर बसेका थिए । लागुऔषधको समेतको कारोबार गर्ने तीन अभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन,लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीन जनालाई प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाउने जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?