कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

रासस

चितवन — चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी खेल्न रोक लगाएको हो ।

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए । माडी नगरपालिका–८ स्थित बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठेश्वर ताल घुमफिर गर्न दैनिक दर्जनौँ पर्यटक जाने गरेका छन् । धार्मिक महत्त्व बोकेको ताल भए पनि यहाँको मनोरम दृश्यकै कारण धेरै पर्यटक भित्रिने गरेका छन् । सुरक्षालगायतका अन्य तयारी भएपछि मात्र पौडी खेल्न दिइने परियारले जानाकारी दिए ।

खरकट्टास्थित बैकुण्ठ चोकबाट करिब साढे तीन किमी दक्षिण लागेपछि बैकुण्ठ मेलास्थल आइपुग्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल पुग्न सकिन्छ । घाँघर खोलाको शिरमा रहेको यो तालमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ ।

'केही वर्षयता ताल अवलोकन गर्न आउने क्रम बढेको छ,' माडी–८ का वडाध्यक्ष वीरेन्द्रबहादुर भण्डारी भन्छन्, 'अहिले समूहमा वनभोजमा रमाउन आउने धेरै छन् ।' गर्मीयाममा अझै धेरै पर्यटक आउने गरेका छन् । प्रत्येक वर्ष पौडी खेल्दा मानिसको मृत्यु भएपछि पौडी नखेल्न अनुरोध गरिएको भण्डारीले बताए । यहाँ बालाचतुर्थीको अवसरमा मेला लाग्छ । यस वर्ष पनि मेलाको तयारी तीव्र पारिको छ ।

मेला लाग्ने चौरमा वनभोज खान मिल्ने व्यवस्था छ । करिब २०३५ सालतिर घाँस–दाउँरा काट्न जाने क्रममा फेला परेको यो ताल ३२ मिटर गहिराइको छ । 'ताल जोगाउन ड्यामको खाँचो छ, छहरा पनि व्यवस्थित गर्नुछ,' उनले भने, 'कृत्रिम ताल यो होइन, अब संरक्षण गर्दा पनि कृत्रिमता झल्काइने छैन ।'

प्रकाशित : मंसिर १२, २०८० ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×