कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बेथानचोकमा रोबोटिक्स प्रदर्शनी

ज्योती श्रेष्ठ

काभ्रे — जिल्लाको बेथानचोक गाउँपालिकामा शुक्रबार रोबोटिक्स प्रदर्शनी गरिएको छ । गाउँपालिकाले संचालन गरेको रोबोटिक्ससम्बन्धी ३ दिनको तालिममा सहभागी भएका विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रविधि प्रयोग गरेर अटोमेटिक कार, डोजर, स्मार्ट डस्ट्विन, सेन्सर डस्टबिन, सेन्सर वाटर सप्लाई लगायतका सामग्री निर्माण गरी प्रर्दशन गरेका थिए । 

बेथानचोकमा रोबोटिक्स प्रदर्शनी

रोबर्ट प्रविधिबारे ज्ञान लिइसकेपछि कालिका माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सुजता तिमल्सिनाले फोहोर व्यवस्थापनमा रोबर्ट डोजरको प्रयोगबारे कल्पना गरिन् । ‘खोलानालाको गहिराईमा रहेको फोहोर सजिलै निकाल्न नसकिँदै्न,’ उनले भनिन्, ‘रोबर्ट डोजरको प्रयोग गर्दा यसले खोलानालाको गहिराईमा रहेका फोहोरलाई निकाल्न सकिनेरहेछ भन्ने कल्पना गर्दै हामीले रोबर्ट डोजर बनाएका हौं ।’

‘ब्लु टुथ रिमोट कन्ट्रोल रोबर्ट कार’ को बारेमा सामाजिक सञ्जालमा हेर्दै आएकी भूमि माता माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत सलिना तामाङले यस बारेको तालिम लिएपछि आफैंले बनाउन सक्ने भएकी छिन् । ‘युट्युबतिर रोबर्ट कार देखेको थिएँ तर आफैंले बनाएको भने थिइनँ,’ उनले भनिन्, ‘गाउँपालिकामा तीन दिनसम्म सञ्चालन भएको रोबर्ट प्रविधिको तालिम लिएपछि रोबर्टका बारेमा धेरै कुरा जान्न पाएँ र रोबर्ट कार पनि बनाउन सफल भयौं ।’


प्रविधिमैत्री र सीपमूलक शिक्षा दिने उद्देश्यले बेथानचोक गाउँपालिकाका निम्न माध्यमिक र माध्यमिक तहका १२ विद्यालयका विद्यार्थीहरुलाई गाउँपालिकाले रोबोटिक्स तालिमको आयोजना गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पुष्पा राईले बताइन् । उनका अनुसार, विज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि रोबोटिक्स कार्यक्रम सञ्चालन गरिएको हो । ‘यस तालिममा विद्यार्थीहरुलाई सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो, ’ उनले भनिन्, ‘विद्यार्थीहरुले तालिममा सिकेको आधारभूत सीप र ज्ञान प्रयोग गरेर साम्ग्रीहरु निर्माण गरेका थिए ।'

उनका अनुसार तीन दिनको तालिममा विभिन्न एप, प्रोगामिङ, मोटर र सेन्सरको प्रयोग गरेर ती सामग्री तयार गरेर अन्य उपकरण पनि बनाएका छन् । रोबोटिक्स क्लब गुजरातका अध्यक्ष प्रशान्त चौधरी, प्रिन्स चौधरी र रोबोटिक्स क्लब अफ काठमाडौं युनिभर्सिटीका सक्षम श्रेष्ठले ३ दिनसम्म तालिम दिएका थिए ।

गाउँपालिकाले शिक्षा विज्ञान र प्रविधिको कार्यक्रमलाई प्राथमिकतामा राखेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । उनका अनुसार, नवप्रवर्तनको केन्द्र बनाएर युवा, विद्यार्थीहरुलाई अन्वेषण, अनुसन्धानका कार्यक्रम निर्माणमा पनि गाउँपालिकाले विशेष जोड दिएको छ ।

प्रकाशित : मंसिर ८, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×