कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कानुन उल्लघंन गर्दा बहादर सम्झने प्रवृत्ति बढ्यो : प्रदेशमन्त्री श्रेष्ठ

टीकाप्रसाद भट्ट

रामेछाप — वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले समाजमा कानुन उल्लघंन गर्दा आफूलाई बहादुर सम्झने प्रवृत्ति बढिरहेकोमा चिन्ता प्रकट गरेका छन् । 

कानुन उल्लघंन गर्दा बहादर सम्झने प्रवृत्ति बढ्यो : प्रदेशमन्त्री श्रेष्ठ

सोमबार रामेछापको खाँडादेवि गाउँपालिका–६, माकादुमा निर्माण भएको इलाका प्रहरी कार्यालय चोप्राङको भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कानुनको परिपालना गर्ने प्रमुख दायित्व स्वयं नागरिकको भएको बताए । ‘कानुन मान्ने पहिलो कर्तव्य नागरिकको नै हो । प्रहरी त केवल अविभावकीय भूमिकामा मात्र रहने हो,’ उनले भने ।

शान्ति सुरक्षा र विपतका बेला उद्धार तथा व्यवस्थापनको कार्यमा प्रहरीको उल्लेखनीय भूमिका रहेको उनले औंल्याए । न्यून साधन श्रोत भएपनि प्रहरी सबैभन्दा पहिलो सुरक्षा प्रदान गर्ने संगठन भएको श्रेष्ठले तर्क गरे । प्रहरी संगठनको क्षमता विकासका लागि प्रदेश सरकारले महत्वपूर्ण कार्य गर्दै आएको श्रेष्ठले दाबी गरे ।

वाग्मती प्रदेश भित्र ५६ वटा प्रहरी इकाईको भवन निर्माण सम्पन्न गरी प्रहरीलाई हस्तान्तरण गरेको र केही निर्माणको चरणमा रहेको श्रेष्ठले बताए । सरकार प्रहरीलाई भौतिक पूर्वाधार र क्षमता विकासका कुरामा थप सहयोग गर्न तयार रहेको श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले सुनापति गाउँपालिकाको हिलेदेविमा निर्माण भएको ईलाका प्रहरी कार्यालय बेथानको पनि सोमबार नै उद्घाटन गरेका थिए । बेथानमा माओवादी सशस्त्र युद्धको थालनी पछि २०५३ साल पौष १९ गते तत्कालिन माओवादीले बेथान प्रहरी चौकीमा आक्रमण गरेका थिए । त्यसबेला ध्वस्त भएको प्रहरी इकाई शान्ति स्थापना पछि गाउँमा फर्के पनि हालसम्म भाडाको भवनमा बस्दै आएको थियो ।

कार्यक्रममा प्रहरी उपरिक्षक ईश्वर थापाले इलाका भवन निर्माणको प्राविधिक पक्ष बारे प्रकाश पारेका थिए । इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणकाका लागि करिव ४ करोड ६२ लाख र इलाका प्रहरी कार्यालय बेथानको भवन निर्माणका लागि ३ करोड ९० लाख ४६ हजार खर्च लागेको बताए । दुवै भवनमा महिला र पुरुष थुनुवा कक्ष, सुरक्षा कर्मीको व्यारेक, कार्यालय, महिला र पुषष सौचालय, चमेना गृह , प्रतिक्षालय , घेराबारा लगाएतका पूर्वाधार निर्माण गरीएका छन् । दुवै इलाका कार्यालय भवनमा ३२ जना प्रहरी सुरक्षाकर्मी बसेर सेवा प्रवाह गर्न सक्ने क्षमता रहेको थापाको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा दुवै इलाका प्रहरी कार्यालय निर्माणका लागि निशूल्क जग्गा दिने जग्गा दातालाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए । सुनापतिको हिलेदेविमा ३ रोपनी र खााडादेविको माकादुममा ४ रोपनी ३ आना जग्गा प्रहरीको नाममा निशूल्क प्राप्त भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक होमबहादुर पराजुलीले जिल्लाका ५ वटै इलाका प्रहरी कार्यालयहरु भूकम्प प्रतिरोधि आधुनिक भवनबाट कार्य संचालन गर्न थालेका वताए । उनले अझै जिल्लाका केहि प्रहरी चौकीहरुमा भवन अभाव रहेको बताएका थिए ।



प्रकाशित : कार्तिक २०, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×