कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य सेवा बन्द

सुवास विडारी

मकवानपुर — हेटौंडामा बिरामीको उपचार गरिरहेको अवस्थामा एचडीयु कक्षमै डाक्टरमाथि भएको सामूहिक कुटपिटको विरोधमा स्वास्थ्य सेवा ठप्प पारिएको छ । हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल तथा क्लिनिकले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका हुन् ।

चिकित्सक कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य सेवा बन्द

उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कानुन कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग स्थानीय प्रशासन समक्ष राखेका छन् । डाक्टर कुटपिटका कारण अहिले जिल्लाको स्वास्थ्य क्षेत्र त्रसित बनेको छ ।

बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको अवस्थामा स्थानीय प्रशासन र प्रहरीले घटनालाई गम्भीरतापूर्वक नलिइ ‘मौन’ रहेर मिलापत्र गराउन खोज्दा मकवानपुरको स्वास्थ्य क्षेत्र आन्दोलित बनेको हो ।

गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका हुन् । कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ । डा. थापाको गाला र अनुहार सुनिएको छ । उनी उपचारका लागि काठमाडौं गएका छन् ।

प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसअघि उनलाई उपचारका लागि साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि साउन २३ गते चितवन रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापको समस्या पनि रहेको थियो ।

डाक्टर कुटपिटमा संलग्नलाई कारबाही नहुने अवस्था भएपछि जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रुपमा प्रहरीमा निवेदन दिएका छन् । प्रहरीका अनुसार जाहेरी आज शुक्रबार दर्ता हुनेछ । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रुपमा उजुरी दर्ता गरिएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरु दोषी रहे स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

प्रकाशित : भाद्र २९, २०८० ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×