कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

नसर्ने रोगबाट काभ्रेमा एक वर्षमा १६ सय ५६ जनाको मृत्यु

ज्योती श्रेष्ठ

काभ्रे — काभ्रेमा नसर्ने रोगबाट एक वर्षको अवधिमा १ हजार ६ सय ५६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या दिवसको अवसरमा सार्वजनिक तथ्यांकअनुसार २०७८ को गणनाले एक वर्षको अवधिमा नसर्ने रोगका कारण १६ सय ५६ जनाको मृत्यु भएको देखिन्छ ।

मृत्यु हुनेमा ८० वर्षभन्दा माथि उमेर समूहको संख्या धेरै रहेको तथ्यांकमा देखाइएको छ । जसअनुसार, ८० वर्षभन्दा माथिका ३८९ जनाको नसर्ने रोगबाट मृत्यु भएको छ । त्यस्तै १५ देखि १९ वर्ष उमेर समूहमा मृत्यु हुनेको संख्या कम भएको तथ्यांकमा देखिएको छ । सो उमेर समूहका ३ जनाको मृत्यु भएको छ । तुलनात्मक रुपमा, नसर्ने रोगबाट मृत्यु हुनेमा १ वर्षभन्दा कम उमेरका बालबालिका संख्या पनि बढेको देखिएको छ । १ वर्षभन्दा कम उमेरका १७ जना, १ देखि ४ वर्ष उमेर समूहका ८ जना, ५ देखि ९ वर्ष उमेर समूहका ११ जना, १० देखि १४ वर्ष उमेर समूहका १० जना, १५ देखि १९ वर्ष उमेर समूहका ३ जनाको नसर्ने रोगका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ । नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५० वर्षभन्दा माथि उमेर समूहमा क्रमश: बढ्दै गएको छ ।

जिल्लामा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको अवस्थामा यसको रोकथामका लागि जिल्ला तथा पालिकास्तरीय स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य अधिकृत डा.पुरुषोत्तम राज सेढाईंले बताए । उनका अनुसार, यसको रोकथाम तथा न्यूनिकरणका लागि पालिकाहरुसँग सहकार्य पनि भइरहेको छ ।

त्यस्तो त, पालिकाहरुले आफैले पनि नसर्ने रोगको पहिचान तथा उपचारका कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । केही साताअघि मात्रै बेथानचोक गाउँपालिकाले नसर्ने रोग पहिचानका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३९५ जना बिरामीको पहिचान भएको थियो । त्यस्तै, जिल्लाको नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका, धुलिखेल नगरपालिकालगायतले नसर्ने रोगको पहिचान तथा उपचारका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

नागरिकको स्वास्थ्यप्रति जिम्मेवार भएकाले जिल्लाका पालिकाहरुसँग सहकार्य र समन्वय गरेर नसर्ने रोग न्यूनिकरणका कार्यक्रमहरु सञ्चालन गरिने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले बताए । उनका अनुसार, यसको न्यूनिकरण तथा रोकथामका लागि विभिन्न पालिकाहरुले शिविर, स्क्रिनिङ, उपचारका कार्यक्रमहरु गर्दै आएका छन् भने केही पालिकाले सीमित स्रोत साधनका कारण कार्यक्रमहरु गर्न नसकेको अवस्था छ ।

सीमित स्रोत र साधनका कारण कार्यक्रम गर्न नसकिएका ठाउँमा जिल्ला समन्वय समितिले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जिसस प्रमुख गौतमले व्यक्त गरे ।

प्रकाशित : असार ३०, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×