कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उखरमाउलो गर्मी : रामेछापका ३ विद्यालयमा बिदा

टीकाप्रसाद भट्ट

रामेछाप — अत्यधिक गर्मी बढेपछि रामेछापको सदरमुकाममा रहेका ३ वटा निजी विद्यालयले जेठ मसान्त सम्मका लागि विद्यालय बिदा गरेका छन् ।

उखरमाउलो गर्मी : रामेछापका ३ विद्यालयमा बिदा

मन्थलीको तापक्रम करिब ३८ डिग्री सेल्सियस पुगेको र बढ्ने क्रम जारी रहेकाले विद्यालय बिदा गर्नु परेको हो । जल तथा मौसम विज्ञान विभागले करिब ७ दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएका हुन् ।

मन्थलीको तामाकोशी आवासीय, लिटिल स्टार र कर्कलादेवी स्कुल बन्द भएका छन् । सामुदायिक विद्यालयले भने बिदा सार्वजनिक गरेका छैनन् । यस्तै, गर्मी भइरह्यो भने आइतबारदेखि बिदा गर्ने विषयमा अविभावकसँग छलफल गरी अघि बढ्ने मन्थली माध्यमिक विद्यालयले जनाएको छ ।

रामेछापको दक्षिणी भेगमा पर्ने मन्थली र आसपास बिहानदेखि बेलुकासम्मै चर्को घाम लागिरहेको छ । १५ दिनयता पानी परेको छैन । जिल्लाको अन्य भागभन्दा दक्षिणी भेगमा कम वर्षा हुने र सुख्खा भएका कारण बढी गर्मी हुने गरेको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?