जुरेपीडितलाई नौ वर्षपछि राहत !

०७१ साउन १७ को मध्यरातमा जुरे पहिरो खस्दा ३१ स्कुले बालबालिकासहित एकसय ५६ जनाले ज्यान गुमाएका थिए, पीडितलाई दुई करोड २४ लाख ६६ हजार ६ सय रुपैयाँ रकम बाँडिदै
अनिश तिवारी

पिस्कर, सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका जुरे क्षेत्रका पहिरोपीडितले दाताबाट आएको सहयोग रकम नौ वर्षपछि बल्ल पाएका छन् । सोमबार त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले यहाँका २२ परिवारलाई राहत रकमको चेक वितरण गरेका हुन् ।

अध्यक्ष बोहोराका अनुसार वडा ५, ४, ३ र ६ वडाका ८१ परिवारले जुरेपहिरोमा सर्वस्वसहित परिवार र आफन्त गुमाएका थिए । उक्त घटनामा त्रिपुरासुन्दरीका मात्रै २१ जनाले ज्यान गुमाएका थिए ।

बाँकी परिवारलाई वडा कार्यालयबाट चेक हस्तान्तरण गरिने उनले बताए । ‘केही दिनमै सम्बन्धित बैंकबाट पीडितले आफ्नो वर्गमा परेअनुरुप पाउने सहयोग रकम पाउनु हुनेछ,’ अध्यक्ष बोहोराले भने । जुरेपीडितमध्ये ८१ परिवारका निम्ति ५३ लाख ६६ हजार ५ सय २३ रुपैयाँ नदग सहयोग रहेको जनाइएको छ ।

यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जुरेपीडित राहत कोषमा सवा दुई करोडको विवरणको फाइल त्रिपुरासुन्दरी, बलेफी र बाह्रबिसे नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए । सबै स्थानीय तहमा पीडितको रकम आइसकेको भए पनि जुरेपीडितको रकम त्रिपुरासुन्दरी गाउँपालिकाले पहिलोपटक वितरण गरेको हो ।

०७१ साउन १७ को मध्यरातमा जुरे पहिरो खस्दा ३१ स्कुले बालबालिकासहित एकसय ५६ जनाले ज्यान गुमाएका थिए । बलेफी ८, त्रिपुरासुन्दरीका ३ र ६, बाह्रबिसे ९ का इटिनी, कागुने, पराजुलीगाउँ पहिरोले नामोनिसान मेटाउँदा धेरै स्थानीय बेपत्ता भएका थिए । जुरेपहिरोमा आफन्त परिवार, गाँउसहित सर्वस्व गुमाएका एकसय ४५ परिवारमध्ये केही म्याग्नेसाइट, कल्लेरी, कोलेनी र जुरेपहिरोभन्दा केही पर आश्रय लिएर बस्दै आएका छन् ।

तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले ‘जुरे–सुनकोसी पहिरोपीडित राहत वितरण मापदण्ड २०७१’ निर्माण गरी पीडितको वर्गीकरण गरेको थियो । वर्गीकरणमा गैरपीडित पनि समावेश भएकाले त्यसलाई छानबिन गरेर पीडितको सूची बनाउन स्थानीयले दबाब दिएपछि राहत रकम छलफलमै सिमित बन्दै आएको थियो । सरकारले एकसय २२ परिवारले सर्वस्व गुमाएको र नौ घरको जग्गा आवास क्षति भएको भन्दै भुकम्पसमेत व्यहोरोका जुरेपीडितलाई भूकम्पपीडित अनुदान बाँडेपछि झनै विवाद भएको थियो ।

पहिरोपीडित या भूकम्पपीडित अनुदानमध्ये एउटामात्रै पाउने कार्यविधि बनाएपछि स्थानीय प्रशासनदेखि माथिल्लो निकायमा यहाँका पीडितले गुहार माग्दै आएका थिए । सरकारले कब्जा गरेर जिल्ला दैवी प्रकोप उद्धार समितिको खाता थन्काएपछि रोकिएको दुई करोड २४ लाख ६६ हजार ६ सय रुपैयाँ रकम गत वैशाखमा मन्त्रिपरिषद्‌ले फुकुवा गरेको थियो ।

‘बल्ल दाताको सहयोग रकम पाएका छौं, यसले हामी सबैका खुसी ल्याएको छ, ढिलै भए पनि सरकारले हाम्रो आवाज सुनेको छ, यसप्रति हामी आभारी छौं,’ स्थानीय रमेश श्रेष्ठले भने । जुरेपहिरो चार जना परिवारका सदस्य गुमाएका बलेफी ८ का वडाध्यक्षसमेत रहेका श्रेष्ठले बाह्रबिसे नगर र बलेफीले पीडितको रकम बाँड्ने तरखरमा रहेको र यसले स्थानीयमा हर्ष छाएको उनले उल्लेख गरे ।

प्रकाशित : जेष्ठ ९, २०८० २१:३९
प्रतिक्रिया
पठाउनुहोस्

काभा महिला च्यालेन्ज कप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल महिला भलिबल टोली मंगलबार काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बंगलादेशविरुद्ध एकपक्षीय खेल प्रदर्शन गर्दै नेपालले एक खेलअगाडि नै अन्तिम चारको यात्रा गरेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले बंगलादेशलाई ३–० सेटले हरायो । अघिल्लो दिन नेपालले किर्गिस्तानलाई सोझो सेटमा रोक्दै विजयी सुरुआत लिएको थियो । दुईपल्टको साविक विजेता नेपालले मंगलबार २५–१०, २५–८, २५–९ ले सेट आफ्नो पक्षमा पारेको थियो ।

यसै समूहबाट भारतले पनि किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतले २७–१७, २५–८, २५–८ ले सेट जितेको थियो ।

समूह विजेता छिनोफानो बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । खेलेका दुवै खेल गुमाएका किर्गिस्तान र बंगलादेशले अब वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबारै समूह ‘बी’ को खेलमा काजकिस्तानले श्रीलंकाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ३–१ सेट विजय नतिजा निकालेको थियो । सुरुका दुई सेट २५–१६, २८–२६ ले आफ्नो पक्षमा पारेको काजकिस्तानले तेस्रो सेट १८–२५ ले गुमाएको थियो । चौथो सेटमा निक नै प्रतिस्पर्धात्मक चल्यो । त्यसमा २९–२७ ले काजकिस्तानले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । यो जितले काजकिस्तानको ६ अंक भएको छ । पहिलो खेलमा टोलीले माल्दिभ्सलाई हराएको थियो ।

माल्दिभ्स मंगलबार उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ । दिनको अन्तिम खेलमा उज्वेक टोलीले २५–१८, २५–१४, २५–४ को सेटमा नतिजा निकालेको थियो । यो जितपछि समूह ‘बी’ उज्वेक र काजकिस्तान सेमिफाइनल पुगेका छन् । बुधबार हुने यी दुईको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

तस्बिर : केशव थापा/कान्तिपुर

प्रकाशित : जेष्ठ ९, २०८० २१:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×