धुलाम्मे कागज टक्टक्याउने अभियानमा प्रजिअ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला केहि दिनदेखि कार्यालयका कागजात व्यवस्थित गर्ने अभियानमा जुटेकी छन् । निरौला सँगसँगै कार्यालयका सबै कर्मचारी धुलोमैलोसँग खेल्दै नागरिकको विवरण सुरक्षित राख्ने ध्याउन्नमा खटिरहेका छन् । 

धुलाम्मे कागज टक्टक्याउने अभियानमा प्रजिअ

मंगलबार बिहान प्रजिअ निरौला यहि अभियानको क्रममा कार्यालयको आँगनमा पुराना अनुसूची मिलाउँदै इन्डेक्समा राख्दै थिइन् । ‘यो विवरण नागरिक र हाम्रै लागि पनि महत्त्वपूर्ण सम्पत्ति हो,’ निरौलाले भनिन्, ‘वर्षौंदेखि अँध्यारो कोठामा फालिएका जीर्ण भइसकेका कागजातलाई टक्टक्याउँदै मिलाएर राख्न थालेका हौं । यो काम विगतमा नभएको भन्दै उनले भनिन्‚ ‘हामीले पनि नगरेको भए पनि हुन्थ्यो । आफ्नै कार्यालयका कागजात नभेटिने कुरा हाम्रा लागि चुप लागेर बस्ने विषय भएन, त्यसैले धुलोमैलामा पसेका हौं ।’

आउँदा दिनमा नागरिकताको विवरण खोज्दा तत्कालै भेटिने गरी संगृहीत गरी राख्ने अभियानमा प्रजिअलगायतका कर्मचारी जुटेको १३ दिन भयो । उक्त कार्य सक्न अझै केहि दिन लाग्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयको पुरानो भवनको अँध्यारो ढुसी गन्हाउने कोठामा वर्षौंदेखि कोचिएका पोका निकाल्दै प्रमुख जिल्ला अधिकारी र उनका सहकर्मीहरू नागरिकको विवरण सुरक्षित राख्नका लागि बिहानैदेखि कार्यालयमा पुग्छन् । हातमा पञ्जा र मुखमा मास्क घुसार्छन् अनि थाल्छन् कागजात मिलाउन । बिहानभर धुलाम्मे भएको शरीर सम्हालेर मेसमा खाना खान्छन् र सेवाग्राहीको काम गर्न कार्यालयमा पस्छन् । अपराह्न कार्यालयको काम सकेपछि राति अबेरसम्म फेरि त्यहि थोत्रा पोका केलाउँछन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०३७ सालदेखि नागरिकता प्रमाणपत्र दिन थालिएको हो । नागरिकताको प्रमाणपत्रका लागि आवश्यक कागजात अनुसूची, वडा सिफारीस, सनाखत र अन्य आवश्यक कागजातहरू नागरिकता जारी भएपछि पोकामा कोचेर राख्ने गरिएको थियो । कार्यालयमा रहेका पोकामा करिब ३ लाख नागरिकता प्रमाणपत्रसँग सम्बन्धित कागजात रहेको अनुमान रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

‘हाम्रो केहि दिनको खटाइले भोलिका दिनमा नागरिक र कर्मचारी दुवैलाई सहज हुन्छ भने किन श्रम नगर्ने ?’ घिमिरे भन्छन्, ‘धेरै सुधार गरिसक्यौं, अब केहि बाँकी छ । इन्डेक्समा बाहिर कुन साल र महिनाको अनुसूचि हो भन्ने कुरा लेखेर राखेपछि तत्कालै कागजात भेटिने अवस्थामा पुगिएको छ । यसअघि कुनै कागजात भेटिने अवस्था थिएन ।’ उनका अनुसार विगतमा जारी भएका कागजातको प्रतिलिपी दिन र अन्य जिल्लामा विवरण पठाउन अब सहज भएको छ ।

कार्यालयमा भएका कागजात नभेटिँदा विगतमा कर्मचारीले सेवाग्राहीको हप्की खानुपर्ने अवस्था थियो । कतिपय नागरिकले कागजात नभएको थाहा पाएर गलत विवरण दिई अर्को कागजात बनाउने काम गर्ने चेष्टासमेत हुने गर्दथ्यो । ‘प्रशासनले कागजात मिलाएपछि हामीलाई पनि प्रमाण बुझेर सिफारिस बनाइदिन सहज भएको छ,’ मन्थली नगरपालिका ११ का वडाध्यक्ष भीमबहादुर थापामगरले भने ।

जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लामा दर्ता भएका संघसंस्थाका विवरण यसैगरी अद्यावधिक गरेको थियो । कार्यालयमा दर्ता भएका सबै संघसंस्थाको विधान, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण चाहिएको बेला सहजै उपलब्ध हुने गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?