कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

मानव बेचबिखन मुद्दाकी फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

कृष्ण थापा

नुवाकोट — मानव बेचबिखन मुद्दामा फरार रहेकी प्रतिवादी ७ वर्षपछि पक्राउ परेकी छन् । नुवाकोट साबिक तलाखु गाविस ७ हाल शिवपुरी गाउँपालिका १ की ४० वर्षीया हेरिङ डोल्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोजतलास गर्दै जाने क्रममा आइतबार विदुर नगरपालिका २ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनलाई नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०७३ साल वैशाख ३ गते एक पीडितलाई पटक–पटक फोन गरी भक्तपुर जिल्ला सूर्यविनायक चोकमा ललाइफकाइ जाहेरवाली (पीडित)लाई ट्याक्सी चढाइ हेटौंडा पुर्‍याइएको थियो । त्यहाँबाट इलाम जिल्लाको पशुपतिनगर हुँदै सो स्थानबाट सीमा पार गराइ भारतको दार्जिलिङ, सिलुगढी हुँदै रेल चढाइ ३ दिनको रेल यात्रापछि भारतको मुनिरका भन्ने स्थानमा पुर्‍याएका थिए । त्यहाँ रहेका कुमार तामाङले लिएर राखेको फ्ल्याटमा एक महिनासम्म राखी जबर्जस्ती करणी गरी त्यसपछि जीवी रोडमा कोठी सञ्चालन गरी बस्ने हेरिङ डोल्मा तामाङलाई ५ लाखमा बिक्री गरी जीवी रोडस्थित ६८ नम्बर कोठीमा लगेर ४ महिनासम्म यौन व्यवसायमा लगाइएको थियो ।

यही मानव बेचबिखन मुद्दामा त्यतिबेला हेरिङ डोल्मा तामाङलाई पीडितले स्पष्ट किटानी नाम भन्न नसकेपछि प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर सोही मुद्दामा अर्का प्रतिवादी जिल्ला सिन्धुपाल्चोक साबिक राम्चे गाविस १ बस्ने ३४ वर्षीय कुमार तामाङलाई ०७५ साल कात्तिक १४ गतेको नुवाकोट जिल्ला अदालतले २० वर्ष कैद र ५० हजार जरिवानासहित फैसला गरेको थियो । उनी कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×