चितवन-२ मा एमालेबाट न्यौपाने उम्मेदवार सिफारिस

रमेशकुमार पौडेल

चितवन — वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा (एमाले)ले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन-२ का पूर्वसांसद कृष्णभक्त पोखरेलले बताए । 

पार्टीका जिल्ला उपसचिव प्रकाश ढुंगनाले न्यौपानेको नाम सर्वसम्मत रूपमा सिफारिस भएको र सो निर्णय शुक्रबार नै प्रदेश कमिटीमा गएको बताए । प्रदेश कमिटीपछि केन्द्रीय कमिटीबाट नाम अनुमोदन हुने प्रक्रिया छ । गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुँदैछ । यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले चितवन-२ को उपनिर्वाचनमा पार्टीका जिल्ला पूर्वसभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी रास्वपाले जारी गरेको प्रारम्भिक सूचीअनुसार चितवन-२ मा रवि लामिछानेको नाम छ ।

गत मंसिरमा भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट रास्वपा सभापति लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९८३ मत आएको थियो भने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाएका थिए ।

७४ सालको संसदीय निर्वाचनमा सो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि पोखरेल नै विजयी भएका थिए ।

प्रकाशित : चैत्र १७, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्

अर्थतन्त्र सुधार्न सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ : नवनियुक्त अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताए ।

अहिले राजस्वले चालु खर्च समेत नधान्ने अवस्था रहेको बताउँदै उनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिने बताए । साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उनको भनाइ छ । हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने उनको भनाइ छ ।

‘माइक्रोफाइनान्स तथा सहकारीमा जुन समस्या देखिएका छन्, राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक छ’ महतले भने ‘ब्याजदर उच्च छ, सेयर बजार झरेको छ, यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’ अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने उनले बताए । कर थपेर भन्दा पनि दायरा बढाएर राजस्व बढाउनुपर्ने उनले बताए ।

आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । अर्थतन्त्रलाई उकास्नेतर्फ नै आफ्नो प्रमुख ध्येय रहेको उनको भनाइ छ । मिटरब्याज पीडितको समस्या तथा उद्योगीले लागत ज्यादा भयो भन्ने गुनासा गरेकाले ती समस्या समाधानमा आफू लाग्ने उनले बताए । बजेटअगाडि सम्मान, बधाईजस्ता कार्यक्रममा आफूले भाग नलिने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित : चैत्र १७, २०७९ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×