स्ववियु निर्वाचन : सिन्धुपाल्चोकका ५ क्याम्पसमा मतदान, ५ मा सर्वसम्मत, २ वटामा भएन- वाग्मती - कान्तिपुर समाचार

स्ववियु निर्वाचन : सिन्धुपाल्चोकका ५ क्याम्पसमा मतदान, ५ मा सर्वसम्मत, २ वटामा भएन

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाका तीन नगर र नौ गाँउपालिकाभर रहेका बाह्र वटामध्ये ५ वटा क्याम्पसमा स्ववियु पदाधिकारी चुन्न धमाधम मतदान भइरहेको छ । यसअघि ५ क्याम्पसमा मनोनयन दर्ताकै दिन सर्वसम्मत पदाधिकारी निर्वाचित भइसकेका थिए ।

अरनिको कलेज बाह्रबिसे, जुगल बहुमुखी क्याम्पस, जलबिरे भ्याली क्याम्पस, मेलम्ची भ्याली क्याम्पस ग्याल्थुम , इन्द्रावती बहुमुखी क्याम्पसमा भने निर्वाचनका लागि आहिलेसम्मा अनुमानित ३० प्रतिशत मत खसेको क्याम्पसले जनाएका छन् । सबैतिर शान्तिपूर्ण मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।अभयानन्द र पाँचपोखरी क्याम्पसमा भने विद्यार्थी न्यून भएकाले स्ववियु निर्वाचन नै नहुने भएको छ ।

५ वटामा निर्विरोध

जिल्लाका प्रमुख चौतारा बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएका छन् । सुनकोसी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भइन् भने अखिल क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिए ।

ककलिङ क्याम्पस ठूलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसिङ सभापति छानिए । त्यस्तै, ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघकी सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । ती दुवै क्याम्पसमा अनेरास्ववियु लगायतका क्रियाशिल सबै विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेका छन् । उता सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसंघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती स्थानीय सेना र ब्रिटिस गोर्खा सेनाबीचको समस्या समाधानका लागि जोड

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र बेलायती सांसद वीरेन्द्र शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार उपप्रधानमन्त्री श्रेष्ठसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भेट भएको हो । सांसद शर्मा बेलायत–नेपाल सर्वदलीय सांसद समूहको सभापति रहेका छन् ।

भेटमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायती स्थानीय सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखे । श्रेष्ठले समस्याको समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसंगमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे ।जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवपर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ । बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राखे ।

भेटका क्रममा बेलायती सांसद वीरेन्द्र शर्माले ब्रिटिस गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको धारणा राखे । बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र ३ महिनामा यो विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता गरे । उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराए ।

प्रकाशित : चैत्र ५, २०७९ १४:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×