सूचना विवादले वाग्मती लोकसेवामाथि उठ्यो प्रश्न- वाग्मती - कान्तिपुर समाचार

सूचना विवादले वाग्मती लोकसेवामाथि उठ्यो प्रश्न

एउटै विषयमा दोस्रो पटक प्रकाशित सूचनाको कानुनी आधार नभएको भन्दै आयोगको निर्णय विवादमा
ऋषिराम पौड्याल

काठमाडौँ — वाग्मती प्रदेश लोकसेवा आयोगले स्थानीय तहमा कार्यरत कर्मचारीको नवौं तहमा हुने बढुवाका लागि दरखास्त दिने अन्तिम म्याद सकिएको दुई महिनाभन्दा बढी भएपछि पुनः सोही पदमा लागि दोस्रो पटक सूचना प्रकाशित गरेको छ । 


आयोगले तोकेको सर्तका आधारमा उम्मेदवारहरूले दरखास्त दर्ता गरेको ६५ दिनपछि फेरि त्यही पदका लागि दोस्रो पटक सूचना प्रकाशित गरेपछि आयोगको निर्णयमाथि आलोचना सुरु भएको छ । एउटै विषयमा दोस्रो पटक प्रकाशित सूचनाको कानुनी आधार नभएको भन्दै आयोगको निर्णय विवादमा तानिएको छ ।

एकाथरी उम्मेदवारले दरखास्त दिइसकेपछि अमूक व्यक्तिहरूलाई अवसर दिने उद्देश्यले सूचना प्रकाशित गरेको आरोप बढुवाको तयारीमा रहेका उम्मेदवारले लगाएका छन् । आयोगका एक सदस्यले संस्थाको साख नै कमजोर हुनेगरी दोस्रो सूचना प्रकाशित गर्दा गलत सन्देश गएको बताए । यसबाट आयोगको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चिन्ता ती अधिकारीले व्यक्त गरे ।

संघीय लोकसेवा आयोगका एक अधिकारीले भने प्रदेशले ऐनका प्रावधान नै नबुझी बढुवाको सूचना निकाल्नु नै गलत भएको बताए । प्रदेशको कानुन मन्त्रालयका सचिव आयोगको बढुवा समितिको सदस्य हुने प्रावधान रहेको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘हामीलाई दोस्रो पटक सूचना प्रकाशित गर्ने निर्णय भएको थाहा छैन ।’ कानुनतः दोस्रो पटक सूचना निकाल्न नहुने तर्क प्रदेश कानुन मन्त्रालयका अधिकारीहरूको रहेको छ । यो सूचनाविरुद्ध अदालत जाने वा उम्मेदवारहरूले आयोगमै उजुरी गर्ने परिस्थिति बन्ने अधिकारीहरू बताउँछन् ।

आयोगको सूचनाका आधारमा बढुवा गरे पनि त्यसकाविरुद्ध कानुनी उपचार खोज्ने ढोका बन्द नहुने अधिकारीहरू बताउँछन् । यसबाट प्रदेशस्तरमा पदपूर्तिको काम सुरु गरेसॅगै आयोग विवादमा तानिएको छ । आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकन एवं कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि दरखास्त आह्वान गर्ने क्रममा उक्त सूचना निकालिएको हो । सूचनाअनुसार प्रशासन दुई, इन्जिनियरिङ दुई र स्वास्थ्य सेवा एक सिटका लागि दरखास्त आह्वान गरिएको छ । बढुवा समितिका एक सदस्यका अनुसार कात्तिक र फागुनमा एउटै सूचना निकाल्दा अघिल्लो पटक जेष्ठताको समय नपुगेका उम्मेदवारले दोस्रो पटक दरखास्त दिन सक्ने सम्भावना रहन्छ । ती सदस्यले आरोप लगाए, ‘यो त सिधै कुनै व्यक्ति वा समूहको स्वार्थलाई हेरेर सूचना प्रकाशित गरेजस्तो देखियो ।’

आयोगले गत कात्तिक २१ गते सूचना प्रकाशित गरेर समायोजन भएर स्थानीय तहमा कार्यरत योग्यता पुगेका कर्मचारीले नवौं तहमा बढुवा हुन गत मंसिर २५ गतेसम्म दरखास्त दिनुपर्ने समयावधि तोकेको थियो । सोही सूचनाका आधारमा उम्मेदवारहरूले दरखास्त दर्ता गराएका थिए । तर फेरि सोही सूचना प्रकाशित गरेर त्यही योग्यताका कर्मचारीले दरखास्त दिन पाउने अवसर दिइएको छ । आयोगले सूचना नम्बर ३००/०७९–८० अनुसार गत फागुन १ गते प्रकाशित ३५ दिने दोस्रो सूचनाअनुसार बढुवा हुन चाहने अन्य उम्मेदवारले पनि दरखास्त दिन पाउनेछन् ।

आयोगको माघ २७ गतेको निर्णयअनुसार दोस्रो पटक सूचना प्रकाशित गरेको हो । गत कात्तिकको पहिलो सूचनामा समायोजन ऐन २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू सोही ऐनको दफा १४ को उपदफा २(क) उपदफा ३ बमोजिम समायोजन हुनुपूर्व बहाल रहेको सेवा, समूह उपसमूहको एक श्रेणी वा तहमाथिको पदमा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने उल्लेख गरिएको छ । पहिलो सूचनाको दरखास्त दिने म्याद सकिएको दुई महिनाभन्दा बढी समय बितेपछि पुनः सूचना प्रकाशित गर्नुपर्ने कानुनी आधार के हो उल्लेख छैन ।

बढुवाको एउटै विषयमा पुनः सूचना निकाल्ने लोकसेवाको चलन अहिलेसम्म नभएको अधिकारीहरू बताउँछन् । अदालतको आदेश वा कानुन नै परिवर्तन भएको अवस्थाबाहेक त्यस्तो सूचना निकाल्न नमिल्ने संघीय लोकसेवाका एक अधिकारीले बताए ।

पहिलो सूचनामा योग्यता पूरा गरेको उम्मेदवारहरू दरखास्त दर्ता गराउने क्रममा स्पष्ट नभएकाले दोस्रो सूचना प्रकाशित गरेको उल्लेख छ । तर पहिलो सूचनामा प्रस्ट नभएको विषय के हो दोस्रो सूचनामा उल्लेख छैन । वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले कानुनी प्रष्टताका लागि दोस्रो सूचना निकालिएको बताए । अध्यक्ष श्रेष्ठले आयोगमा कर्मचारी अभावका कारण पहिलो सूचनामा कतिपय विषय प्रस्ट्याउने कुरामा असावधानी देखिएको भने स्विकारे । ‘हामीले अध्यादेशमार्फत आएका कतिपय प्रावधानको कार्यान्वयन गर्ने क्रममा दोस्रो सूचना निकाल्नुपरेको हो,’ उनले भने, ‘आयोगका कर्मचारीले काम गर्ने क्रममा भएको कमजोर बुझाइका कारण अहिले सच्याएका हौं ।’ उनले आयोगमा २० जना कर्मचारीले काम गरिरहेको भन्दै पहिलो सूचना निकाल्ने क्रममा कतिपय कानुनी प्रावधानलाई नजर अन्दाज गर्दा सूचना सच्याउनुपरेको बताए ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्

अभिभावकको पर्खाइमा ध्रुवे र गण्डकीकलीको छावा

नेपालमा पहिलो पटक हात्तीलाई शल्यक्रिया गरेर बच्चा निकालियो । बच्चालाई हुर्काउन कठिन, आमाको एक फिट लामो घाउमा संक्रमण हुने जोखिम । खीर खाएर स्वास्थ्य लाभ गर्दैछ आमा गण्डकीकली ।
गोविन्द पोखरेल

काठमाडौँ — चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन तथा तालिम केन्द्र । गत पुस २३ का दिन २५ वर्षीया गण्डकीकली हात्तीलाई बेथा लागेको थियो । वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठ भने केही चिन्तित थिए । गण्डकीकलीले बच्चा सामान्य अवस्थामा जन्माउन नसक्ने उनले अड्कल गरिरहेका थिए ।

बेथा लागेको दिन बच्चा नजन्मिएपछि उनको अनुमान सही ठहरियो । गण्डकीकलीले जोडबल लगाए पनि बच्चा निस्किएन ।

बच्चा निस्कने भागमै अड्किएर बसेको थियो । बाहिरबाटै देखिए पनि के कारणले निस्किएन भनेर एक्सरे गर्दा बच्चाको दुईवटा खुट्टा मलद्वारको भागतिर बसेर अड्किएको पाइयो । गाई/भैंसीजस्ता स्तनधारी जीवको जस्तो हात्तीको योनि र मलद्वार एकै भागमा हुन्न । निस्कनुपर्ने ठाउँतिर नगएर मलद्वार नजिकै अड्किएपछि गण्डकीकलीलाई निगरानी गरिरहेका श्रेष्ठसहितका चिकित्सकहरू हात्तीको ज्यान पनि जान सक्ने भन्दै चिन्तित थिए ।

गण्डकीकलीले तीन वर्षअघि पहिलो सन्तानलाई जन्म दिने क्रममा झन्डै ज्यान गुमाएकी थिई । त्यो बेला दुईवटा खुट्टा झुन्डिएको अवस्थामा अड्किएको छावा खुट्टामा डोरी बाँधेर धेरै जनाले तानेर निकालेका थिए । त्यो बेला बच्चा बाँचेन, माउको भने ज्यान जोगिएको थियो । पशु चिकित्कसहरू त्यही भएर गण्डकीकलीलाई पहिल्यैदेखि निगरानीमा राख्दै सम्भावित जोखिमसँग कसरी जुध्ने भनेर छलफलमै थिए ।

संयोगवश त्यही बेला सौराहामा क्यानेडेली पशु चिकित्सक डा. निक मास्टर भ्रमणका लागि आएका थिए । डा. श्रेष्ठको टोली उनीसँग सम्पर्कमै थियो । गण्डकीकलीको अवस्था अध्ययन गरेपछि शल्यक्रिया गर्नुपर्ने सल्लाह मास्टरले दिए । अन्ततः शल्यक्रिया गर्ने निर्णय भयो । यसमा उनीहरूसहित डा. अमिर सडौला, विकल्प कार्की र प्राविधिक किरण रिजाल र दिनेश ढकाल संलग्न भए । करिब ३ घण्टाको अपरेसनपछि एक फिट लामो र करिब ९० केजीको छावा गण्डकीकलीको कोखबाट निकालियो । दुवैको स्वास्थ्य अवस्था सामान्य भए पनि जोखिम धेरै नै छ । शल्यक्रिया गरेर हात्तीलाई प्रसूति गराइएको मुलुकमा यो पहिलो घटना थियो ।

०००

गण्डकीकलीको जन्मिएको छावाको बाबु ध्रुवे हात्ती हो । करिब १० दिन बितिसक्दा पनि गण्डकीकलीले सन्तानलाई छेउ पर्न दिएकी छैन । बच्चालाई चिन्नु त परै जाओस् नजिक पनि आउन दिएकी छैन । मानिसमा शल्यक्रिया गरेर बच्चा निकाल्दा बच्चाप्रति आमाको औधी माया हुन्छ तर हात्तीमा यो अवस्थामा नदेखिएको चिकित्सकहरुले बताए । डा. श्रेष्ठले भने, ‘गण्डकीकलीले बच्चालाई अपनाएकी छैन ।’ हात्तीको छाला अत्यन्तै कडा र पत्रैपत्र हुने भएकाले शल्यक्रिया गर्दा ठूलो घाउ छ । निको हुन समय लाग्ने भएकाले संक्रमणको जोखिम छ । उनले भने, ‘जोखिम नै मोलेर नै हामीले शल्यक्रिया गरेका हौं । मेरो करिअरका लागि पनि पहिलो अनुभव हो । यही क्षेत्रमा विज्ञले बच्चा र माउ दुवै सकुशल हुनु यस्तोमा संसारको पहिलो केस हुन सक्छन् भनेका छन् ।’

उसो त हात्तीको शल्यक्रिया गरेर बच्चा निकाल्दा निकै नै जोखिम हुन्छ । छाला अत्यन्तै कडा र पत्रै पत्रै हुने भएकाले शल्यक्रिया गर्नु नै चुनौती हुन्छ । त्यसका अलावा घाउ निको हुन समय धेरै लाग्ने भएकाले संक्रमण जुनसुकै बेला फैलन सक्ने जोखिम छ ।

भेटनेरी मेडिसन र प्रजनन् सम्बन्धी प्रतिष्ठित थेरियोजेनोजी जर्नलमा प्रकाशित ‘अब्सटेट्रिस इन एलिफेन्ट’ आलेख अनुसार शल्यक्रिया गरेर जन्माइएका अधिकांश हात्तीका बच्चा र माउ दुवैको मृत्यु हुनेगर्छ । यस्तै, शल्यक्रिया गरेर हात्तीको बच्चा निकाल्नु दुवै कठिन कार्य र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै हात्तीको शल्यक्रिया गर्न धेरै चुनौती रहेको समेत व्याख्या गरिएको छ । आलेखमा बाक्लो छाला हुनु, धेरै ठूलो घाउ हुने र निको हुन समय धेरै लाग्ने भएकाले धेरै चुनौती रहेको जनाइएको छ । यसअघि उत्तर अमेरिकामा ५ र युरोपमा १ वटा हात्तीलाई शल्यक्रिया गरेर बच्चा निकाल्दा दुवैको ज्यान गएको थियो ।

डाक्टर श्रेष्ठले भने, ‘जोखिम नै मोलेर नै हामीले शल्यक्रिया गरेका हौं । मेरो करियरका लागि पनि पहिलो अनुभव र नेपालमै पहिलोपटक यसरी माउ र बच्चा दुवैलाई स्वस्थ्य अवस्थामा बच्चा निकाल्नु खुसीको कुरा हो । यही क्षेत्रमा लागेका अन्तर्राष्ट्रिय विज्ञहरुले बच्चा र माउ दुवैको जिवित भएको भन्ने कुरा पहिलो केस हुन सक्छन् भनेका छन् ।’

माउ र छावा बचाउनु जति जटिल छ उनीहरुबीचको भावनात्मक सम्बन्ध विकास हुनु त्यो भन्दा बढी चुनौतीपूर्ण रहेको अनुसन्धानहरुले देखाएको छ । यसलाई ध्यानमा राख्दै केन्द्रले उनीहरुको निगरानीमा विशेष सावधानी अपनाएको छ । शल्यक्रिया गरेपछि पनि हात्ती र बच्चालाई नियमित रुपमा निगरानी गर्नका लागि थप जनशक्ति परिचालन गरिएको डा. श्रेष्ठले बताए । सामान्य अवस्थामा एउटा हात्ती स्याहार्नका लागि ३ जना हुन्छन् भने अहिले अतिरिक्त थप ३ जना थपिएको उनले बताए ।

‘माउले नअपनाएपछि प्रजनन केन्द्रमै राखिएको ३० वर्षीया अर्को हात्ती ऐश्वर्यामालाले थुन चुस्न दिएकी थिई । तर बच्चाले चुस्नै मानेन,’ डा श्रेष्ठले कान्तिपुरसित भने ।

माउले पनि नचिन्ने र बच्चाले पनि माउ नजिकिन नखोज्दा केन्द्रका चिकित्सक र कर्मचारी चिन्तित छन् । जापानको क्युटो विश्वविद्यालयमा हात्तीमा पोस्टडक गरिरहेकी हात्ती विज्ञ डा. सञ्जिता शर्मा पोखरेल शल्यक्रियाबाट निकालिएको बच्चा भएकाले बच्चा चिन्न नसकेको हुनसक्ने बताउँछिन् । ‘प्राकृतिक रुपमा नजन्मिएर यो शल्यक्रिया गरेर निकालिएको बच्चा हो । आमाले नअपनाउन पनि सक्छ । हर्मोनहरु नबन्दा बच्चालाई दुध चुसाउन नसक्ने पनि हुन्छ । त्यसकारण पनि माउले अपनाउन नखोजेको हुनसक्छ, ’ उनले कान्तिपुरिसत भनिन्, ‘पहिलो पटक आमा बनेको हात्तीले पनि बच्चासँग अपनत्व नलिएका घटनाहरु रहेको उनले सुनाइन । त्यस्तै हात्ती समूहमा बस्ने जनावर भएकाले अन्य पोथी हात्तीहरु नजिक नभएकाले आमाले बच्चासँग नजिकिन नखोजेको हुनसक्छ ।’ पालेको हात्तीले बच्चा जन्माउँदा केही दिन बच्चालाई नअपाउने तर पछि अपनाएको घटनाहरु पनि भएको पोखरेलले जानकारी दिइन् । सामान्य अवस्थामा पालेका हात्तीबाट जन्मिएका बच्चा ५/१० वर्षसम्म बाँच्दा उपलब्धीमूलक मानिने समेत पोखरेलले बताइन् ।


०००

आमा र माउको दुवैको स्वास्थ्य अवस्था सामान्य भएपनि शल्यक्रिया गरिएको घाउ चाँडो निको गराउने चुनौती पनि छ । हात्तीको छाला मोटो हुने भएकाले शल्यक्रिया पछि गण्डकीकलीको छालाको भित्री तहमा मात्रै सिलाईएको छ । बाहिरी भाग त्यसै छाडिएको डाक्टर श्रेष्ठले बताए । ‘इन्टरनल सिजरिङ गरिएको छ । बाहिरी छैन । घाउ खुला नै छ,’ डाक्टर श्रेष्ठ भन्छन्, ‘संक्रमण नहोस् भनेर दैनिक ४ पटक ड्रेसिङ गरिरहेका छौं । एन्टिबायोटिक पनि दिएका छौं । अचेल राम्रोसँग हात्ती सुतेको छ । ’

मानिसको स्वास्थ्यपोचार गर्दा दुखाइ कहाँ छ थाहा हुन्छ भने वन्यजन्तुको थाहा हुन्न । यसका लागि लक्षणको आधारमा उपचार गर्नुपर्ने हुन्छ । औषधी किन्न पनि गाह्रो हुने चिकित्सकहरु बताउँछन् । घाउ अहिलेकै हिसाबले राम्रो रुपमा निको हुँदै गए पूर्ण रुपमा निको हुने कम्तिमा दुई महिना लाग्ने चिकित्सक बताउँछन् ।

वन्यजन्तु विज्ञ समेत रहेका एनटीएनसीका चितवन प्रमुख डा. बाबुराम लामिछाने नेपालमै पहिलो पटक हात्तीको शल्यक्रिया गरेर बच्चा निकालिएकाले यो घटना महत्वपूर्ण रहेको बताउँछन् । ‘क्याप्टिभ ब्रिडिङको सवालमा नेपालमा यो पहिलो पटक हो । जंगलमा थियो भने यो हात्तीको अवस्था अर्कै हुन सक्थ्यो । ’ लामिछाने भन्छन्,‘ कि यो हात्तीले बच्चा जन्माउथ्यो वा मर्थ्यो ।’ यद्यपि नेपालमा जंगली हात्तीले बच्चा पाउन नसकेर मरेको घटनाहरु रेकर्ड भएका छैननन् । ५ वर्षअघि चितवनमा बच्चा पाउन नसकेर गैंडा मरेको घटना अघिलेखमा रहेको डा लामिछानेले बताए ।


अहिले मुख्य चुनौती नै शल्यक्रिया गर्दा बनिएको घाउबाट संक्रमण फैलिएर माउलाई असर गर्ला भन्ने छ । छालाको भित्री भाग सिलाएपनि बाहिरको मंसपेसी र छालाको भाग खुला छ । मंसपेशी विस्तारै जोडिने अपेक्षाले खुलै राखिएको छ । ‘छाला आएर खुला भाग पुरिन्छ भन्ने अनुमान छ,’ लामिछाने भन्छन्, ‘छाला चाही खुम्चिएको जस्तो देखिने र निको हुन्छ नै तर प्राकृतिक अवस्थाको जस्तो चाही नहुन सक्छ । ’

प्रजनन् केन्द्रमै प्राकृतिक रुपमा बच्चा जन्माउने हात्तीलाई खापिनमा उखु दिने गरिन्थ्यो । उखुले दूध बढाउने र बच्चालाई पौष्टिक आहारको सहज उपलब्ध हुन सक्ने अनुमान छ । गण्डकीकलीलाई भने उखुको विकल्पमा तागत बढोस् भनेर खिर बनाएर दिइन्छ । नियमित अवस्थामा हात्तीलाई घाँस, भेली, धान दिने गरिन्छ ।

माउको दूध खान नपाएपछि गण्डकीकलीको बच्चालाई अहिले स्किम्ड मिल्क पाउडर (एसएमपी) खुवाउने गरिएको छ । १२ लिटर पानीमा एक किलो पाउडर मिसाएर दैनिक रुपमा दुई–दुई घन्टाको फरकमा खुवाउने गरिएको डाक्टर श्रेष्ठले जावनकारी दिए ।

शल्यक्रिया गरेर निकालिएको यो छावाको सुरुमा मुटुको धड्कन नै नभएपछि सुँडबाट ५ मिनेटसम्म लगातार कृत्रिम सास दिइएको थियो । आमाले दूध नखुवाएपछि प्रजनन केन्द्रमै एसएमपी दिने गरिएको हो । एसएमपीमा फ्याटको मात्रा कम हुन्छ ।

माउको दुध खाए पौष्टिक तत्व हुने र रोग प्रतिरोध क्षमता पनि हुन्थ्यो । तर पाउडर दूध खुवाएर हुर्काउँदा जोखिम धेरै नै हुन्छ । दुईदेखि अढाइ वर्षसम्म नियमित रुपमा यसरी दुध खुवाउनुपर्ने श्रेष्ठले बताए । प्राकृतिक अवस्थामा हात्तीले आफ्नो छावालाई ३ देखि ४ वर्षसम्म दूध खुवाउने गर्छन् ।

विज्ञहरुका अनुसार प्रजनन् केन्द्रमा हुर्काइएका हात्तीका बच्चाहरुमा इलिफेन्ट इन्डोथेलियोट्रोपिक हर्पिस भाइरस (ईईएचभी) संक्रमणको जोखिम हुन्छ । यो एक प्रकारको हर्पिस भाइरस हो । यो रोग लागेपछि छावाहरुमा आन्तरिक रक्तश्राव हुने गर्छ । पहिला अफ्रिकन हात्तीमा मात्र देखिएको यो संक्रमण पछि एसियाली हात्तीमा पनि पाइएको थियो । पछिल्लो एक दशकमा हर्पिस भाइरसकै संक्रमणबाट चितवनमा मात्रै कम्तीमा पाँच वटा हात्तीको ज्यान गइसकेको छ ।

यो छावालाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि दैनिक ५० ग्रामका दरले प्रोबायोटिक बिफिलाक दिने गरिएको छ । ‘यो स्वास्थ्य बर्धक औषधी हो । यसले रोग प्रतिरोधत्मक क्षमता बढाउनुका साथै विशेषगरी आन्द्राको स्वास्थ्यलाई राम्रो गर्छ ।’ डा. श्रेष्ठले कान्तिपुरसित भने ।

प्रजनन् केन्द्रको हात्ती सारमा २५ वटा हात्ती छन् । तीनमा ७ वटा छावा छन् । भाले लागेर बसेका ८/१० वटा हात्ती छन् । हात्तीको गर्भाधरण समय १८ देखि २३ महिनासम्म हुने गर्छ,जुन स्तनधारी जीवको सबैभन्दा बढी समय हो । पोथीले १६ देखि १७ वर्षको उमेरपछि गर्भाधारण गर्न योग्य हुने अनुसन्धानहरुले देखाएका छन् ।

‘गण्डकीकलीले अब बच्चा जन्माउने छैन’

पहिलो बच्चा जन्माउँदा धेरै सकस खेपेपनि मृत अवस्थामा गण्डकीकलीको बच्चा निकालिएको थियो । दोस्रो बच्चा शल्यक्रिया गरेर निकालिएको छ । अहिले एक फिट लामो शल्यक्रिया गरिएका कारण अर्को पटकका लागि बच्चा पाउँदा झनै खतरा बढ्न सक्ने भएकाले संरक्षणकर्मीहरुले उसको स्वास्थ्य सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

तस्बिरहरूः रमेशुकमार पौडेल/कान्तिपुर

गण्डकीकलीलाई बच्चा जन्माउन नलगाउने विषयमा सल्लाह भइरहेको छ । गण्डकीकलीलाई जंगली भाले नआउने ठाउँमा राख्ने वा हर्मोन कन्ट्रोल गराएर प्रजनन नगराउने भन्ने उपायमा छलफल भइरहेको लामिछानेले बताए । यो विषयमा निकुञ्जका प्रशासन र चिकित्सकहरुबाट समेत यही किसिमको राय उनले जानकारी दिए । ‘अब यसलाई कन्सिभ हुन दिनुहुँदैन भन्ने सबैको राय छ । बच्चालाई एसेप्ट नै गरेको छैन,’ उनले भने । निकुञ्जका वार्डेन हरिभद्र आचार्यले पनि चिकित्सको राय अनुसार नै थप निर्णय लिने बताए । ‘अब गण्डकीकलीलाई बच्चा जन्माउन कठिन हुने भएकाले उसलाई त्यही अनुसारको वातावरण बनाउनुपर्ने सुझाव आएको छ,’ आचार्यले कान्तिपुरसित भने ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×