आनीले पाए औपचारिक शिक्षा


दोलखा — बिहानै ५ बजे मधुर धुनमा बुद्धका स्तुतिसँगै गुम्बामा ध्यान सुरु हुन्छ । कक्षमा सबै उमेर समूहका भिक्षुणी शीलमा रहन्छन् । भगवान् बुद्धका संगीतमय वाणीमा आफूलाई समर्पित गर्छन् । भिक्षुलाई ७५ सेखिया विनय शिक्षापद र १० शील, तच पञ्चक ध्यान सिकिरहेका छन् ।

टासी छिमे गाछल बिगु गुम्बाको पुरानो लय हो । २०७२ को भूकम्पले ध्वस्त भएको थियो । पुनर्निर्माणपछि पुरानै लयमा फर्किएको छ । यो गुम्बा २ सय रोपनीमा फैलिएको छ ।
बिगु गुम्बाका रूपमा परिचित टासी छिमे जिल्लाकै पुरानो गुम्बामध्येको एक हो । आनी (भिक्षुणी) मात्रै पढाइने देशको पहिलो गुम्बा मानिन्छ । गुम्बा पुरानै शैलीमा चिटिक्क बनेको छ । भूकम्पले भत्किएपछि निकै कष्ट भोग्नुपरेको अध्ययनरत आनी लाप्साङ छिरिङ शेर्पाले बताइन् । ‘जस्तापाताको कटेरामा बास बसेर चिसो भुइँमै अध्ययन र ध्यान गर्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘नयाँ संरचना बनेपछि निकै सहज भएको छ ।’
यस गुम्बामा अहिले ८५ जना आनी अध्ययनरत छन् । उनीहरूलाई बौद्ध शिक्षासँगै मूलधारको औपचारिक पठनपाठनसमेत गर्न पाएका छन् । औपचारिक शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकसमेत जोडिएकाले बौद्ध शिक्षा लिएका महिलाले आजीवन भिक्षुणीमात्र बन्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । गुम्बाका प्रशिक्षक गेसे सांगे शेर्पाले भने, ‘आनीलाई समाजले धार्मिक शिक्षा मात्र लिएका भनेर बुझ्ने गरेको छ तर अब त्यस्तो रहँदैन । यहाँ अध्ययन गर्दा मात्रै भिक्षुणी हो, शिक्षा लिइसकेपछि उहाँहरू स्वतन्त्र हुनुहुन्छ ।’
बिगु गाउँपालिका–७ बिगुमा रहेका गुम्बामा कक्षा ५ सम्म मूलधारको अध्ययन व्यवस्था छ । त्यसपछि बौद्ध शिक्षा पढेकाले समेत गाउँमै रहेको माध्यमिक विद्यालयमा पढ्न पाउने व्यवस्था छ । यहाँ बौद्ध शिक्षा लिन आउनेलाई निःशुल्क आवासको र खानपिनको व्यवस्था छ । उक्त गुम्बाले विद्यालय शिक्षा सञ्चालन गरेपछि गाउँका बालबालिकासमेत प्राथमिक शिक्षाका लागि भर्ना भएर पढ्दै छन् । सरकारले शिक्षकको व्यवस्था गरेको छैन । गुम्बा व्यवस्थापन समितिको लगानी २७ जना स्थानीय बालबालिका प्राथमिक तहमा पढिरहेछन् ।
भूकम्पले भत्किएपछि पुरातत्त्व विभागले करिब ७ करोड रुपैयाँ लागतमा पुरानै शैलीमा गुम्बा पुनर्निर्माण गरेको हो । गुम्बासँगै आवास र विद्यालय पुनर्निर्माण गरिएको छ । ‘पुरानै शैलीमा नयाँ गुम्बा बनेपछि यहाँ पढ्न आउने पनि बढेका छन्,’ गुम्बाका प्रशिक्षक गेसे सांगे शेर्पाले भने, ‘लामो समय कष्ट गरेर अहिले पुरानै लयमा ध्यान, अध्ययन, अध्यापन गराउन सकेका छौं ।’ गुम्बामा पढ्नेले छात्रावासको समेत शुल्क तिर्नु पर्दैन । श्रद्धालु तथा दाताले दिएको चन्दा र पर्यटकका निम्ति सञ्चालन गरिएको गेस्ट हाउसबाट उठ्ने रकमबाट खर्च जुटाइएको बताए ।
जिल्लाकै पर्यटकीय गुम्बाका रूपमा परिचित छ । बिगु गुम्बा समुद्र सतहदेखि २ हजार ५ सय ८० मिटर उचाइमा छ । भौगोलिक वातावरण र पर्यावरणका दृष्टिले सुन्दर यस थलो पर्यटकीय गुम्बाका रूपमा समेत चिनिन्छ । पर्यटकसमेत यो गुम्बाको भ्रमण, अवलोकन तथा ध्यान बस्ने गरेका छन् । यहाँ बर्सेनि सयौं पर्यटन ध्यान शिविर आउने गरेका छन् ।
उक्त गुम्बा भएर जिल्लाको अर्को चर्चित गन्तव्य देउढुंगा पदमार्गबाट जाने गर्छन् । बिगु गुम्बाले नै आयस्रोतका लागि गेस्ट हाउस पनि सञ्चालन गरेको छ । गुम्बा घुम्न पुग्ने पर्यटकको बसाइका लागि गेस्ट हाउस सञ्चालनमा ल्याइएको गुम्बाका प्रशिक्षक शेर्पाले बताए ।
प्रकाशित : चैत्र ४, २०७९ ०८:४४