सिन्धुलीमा सवारी दुर्घटना, घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो- वाग्मती - कान्तिपुर समाचार

सिन्धुलीमा सवारी दुर्घटना, घाइतेलाई थप उपचारका लागि काठमाडौं लगियो

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका–२ गैरीमा भएको सवारी दुर्घटनाका घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

प्रहरीका अनुसार सिन्धुलीमाडी–चकमके सडक अन्तर्गत आम्बोटबाट सदरमुकामतर्फ आउँदै गरेको जीप र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक सख्त घाइते भएका छन् ।

सख्त घाइते भएका मोटरसाइकल चालक कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिंजालीलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको सिन्धुली प्रहरीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । दुर्घटनापछि फरार रहेका जीपका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकप लिग-२ : यूएईको पाँचौँ विकेट गयो

कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाललाई दीपेन्द्रसिंह ऐरीले पाँचौँ सफलता दिलाएका छन् । ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरेका हुन् । मुस्तफा ३१ बलमा २० रन बनाई पेभेलियन फर्किए । 

त्यसअघि ऐरीकै बलमा यूएईका आयन अफजल खानलाई गुल्शन झाले क्याचआउट गराएका थिए । खान ३ रन मात्र बनाएर पेभेलियन फर्किए । त्यसअघि ऐरीकै बलमा २३औं ओभरमा रिजवान रनआउट भएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई मोहम्मद वासिमले आक्रामक सुरुवात दिलाएका थिए । ४९ बल सामना गरेका वासिमले ६ छक्का र २ चौकासहित ६३ रन बनाए । उनलाई सन्दीप लामिछानेले आउट गरे । नेपालका लागि ऐरीले किफायती बलिङ गरिरहेका छन् । ८ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र १९ रन खर्चिएर २ विकेट लिएका छन् ।

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ ।

नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ ।

प्रकाशित : चैत्र २, २०७९ १२:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×