शल्यक्रियाबाट जन्मिएको छावा पाउडर दूधको भरमा- वाग्मती - कान्तिपुर समाचार
तस्बिरहरू

शल्यक्रियाबाट जन्मिएको छावा पाउडर दूधको भरमा

रमेशकुमार पौडेल

चितवन — जन्मेको साता बिते पनि छावा (हात्तीको बच्चा) निकै चुलबुले छ । घरी यता घरी उता गरिरहने यो छावा आमाको छेउ पर्नै खोज्दैन । भोक लागे दूध चुस्नका लागि मान्छेलाई पछ्याउँछ । पछुवा (हात्तीको सुसारे) उमाशंकर चौधरी पाउडर दूध घोलेर तयार पार्छन् र एक लिटरका दरले दुई घण्टा फरकमा छावालाई पिलाउँछन् । दूध खाएपछि छावा अलि बेर परालको आड लागेर सुस्ताउँछ ।

सौराहानजिक खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रकी पोथी हात्ती गण्डकीकलीको भाले बच्चा हो यो छावा । गएको बुधबार फागुन २४ गते दिउँसो खोरसोरमा पशु चिकित्सकले एउटा दुर्लभ शल्यक्रिया गरे ।

पशु उपचार क्षेत्रमा हात्तीको शल्यक्रिया गरेर बच्चा बाहिर निकालेको घटना खासै सुनिँदैन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका पशु चिकित्सक तथा प्राविधिकले शल्यक्रिया गरी माउ र बच्चा बचाए ।

‘सुत्केरी बेथा लागेको दुई दिन हुँदा पनि बच्चा जन्मन सकेन, त्यसैले माउ बचाउनै भए पनि शल्यक्रिया गरेका थियौं,’ चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले भने । उनका अनुसार फागुन २३ गते मंगलबार बिहान गण्डकीकलीलाई सुत्केरी बेथा लागेको थियो ।

भोलिपल्ट पनि माउले बल गर्‍यो तर बच्चा निस्किन सकेन । भिडियो एक्सरेमा हेर्दा बच्चा अड्केको निश्चित भएपछि शल्यक्रिया गर्ने निधो भयो । श्रेष्ठसहित प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. अमिर सडौला र विकल्प कार्की तथा कोष र निकुञ्जका पशु स्वास्थ्य प्राविधिक किरणराज रिजाल र दिनेश ढकालले फागुन २४ गते झन्डै तीन घण्टा लगाएर हात्तीको शल्यक्रिया गरेका थिए ।

सौराहमै रहेका विदेशी पशुचिकित्सक डाक्टर निक मास्टर्सले सहयोग गरेका थिए । ‘हात्तीको पछाडिको भाग झन्डै एक फिट जति चिरेर हामीले बच्चा बाहिर निकालेका हौं,’ डा. श्रेष्ठले भने, ‘बाहिर आउँदा बच्चाको मुटुको चाल थिएन । कृत्रिम तरिकाले सुँडबाट श्वास दिएपछि दुई/तीन मिनेटपछि मुटु धड्कियो ।’

गण्डकीकलीलाई तीन वर्षअघि पनि बच्चा जन्माउन गाह्रो भएर मान्छेले बल लगाउँदा छावा बच्न सकेको थिएन ।यो पटक कम्तिमा माउलाई बचाउन शल्यक्रिया गरिएको डा. श्रेष्ठले बताए ।

‘जहाँ चिर्न पर्ने हो त्यही भागमा मात्र लठ्याएर चिरेको हो,’ पछाडि चिर्दा कुनै पनि ठूला भित्री अंगलाई असर नपर्ने उल्लेख गर्दै श्रेष्ठले भने, ‘घाउ पनि निको हुने सम्भावना रहन्छ । त्यही भएर हामीले यस्तो निर्णय लिएका हौं ।’

हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माएको नेपालमा खासै जानकारी नआएको डा.अमिर सडौला बताउँछन् । खोरसोर हात्ती प्रजनन केन्द्रका कर्मचारीले शल्यक्रिया गरेको घाउ दैनिक चार पटक सफा गर्ने गरेका छन् । स्वास्थ्य प्राविधिक टोली मल्हमपट्टी गर्छन् ।

हात्तीको घाउ सुक्दै गएको छ । बच्चा फुर्तिलो र स्वस्थ छ । माउले आहार लिइरहेको छ । सुत्केरी हात्तीलाई सात किलो चामल भेलीमा पकाएर खीरजस्तो बनाएर पोसिलो खान्की दिने गरिएको छ ।

प्रकाशित : चैत्र २, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

स्वास्थ्य सेवामा फड्को मार्दै जुम्ला

सधैं औषधि र स्वास्थ्यकर्मीको अभाव झेलिरहेको कर्णालीले अहिले विशेषज्ञ चिकित्सबाट उपचार सेवा दिइरहेको छ
डीबी बुढा

जुम्ला — शरीरमा सामान्य चोटपटक लाग्दा बिरामीलाई सुर्खेत, नेपालगन्ज र काठमाडौं रेफर गरिन्थ्यो । आउजाउमै धेरै खर्च हुने भएकाले कैयौं बिरामी उपचारमै जाँदैनथे । कर्णालीका जिल्ला अस्पतालहरूमा एचए र अहेब प्रमुख भएर बस्थे । उनीहरूको काम नै बिरामीको जाँच गर्ने र सिधै रेफर गर्ने हुन्थ्यो ।

तत्कालीन कर्णालीको जुम्लामा अञ्चल अस्पताल थियो, जहाँ कहिल्यै डाक्टर बस्दैनथे । जुम्ला सरुवा हुने डाक्टरहरू ‘सजाय दिएर पठाएको’ भन्दै मन लगाएर कामै गर्दैनथे ।

स्वास्थ्य क्षेत्रमा कर्णालीको यो दृश्य अब भने बदलिएको छ । कर्णालीको जुम्ला स्वास्थ्य सेवाका हिसाबले निकै अब्बल मानिन्छ । यहींबाट डाक्टरहरू उत्पादन भइरहेका छन् । सधैं औषधि र स्वास्थ्यकर्मीको अभाव झेलिरहेको कर्णालीले अहिले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा दिइरहेको छ ।

एक महिनाअघि रारा छायानाथ–४ भामबाडाका ३३ वर्षीय काले सेजुवाल गमगढीबाट चामल लिएर घर फर्किंदै गर्दा बाटोमा लडे । कम्मरको हड्डी भाँच्चिएका उनलाई बोकेरै जिल्ला अस्पताल मुगु पुर्‍याइयो । जिल्ला अस्पतालमा ४ दिन उपचार गराउँदा पनि सुधार भएन । उनी झन् पीडामा परे । टाढा लैजानका लागि उनीसँग उपचार खर्च पनि थिएन ।

आफन्तसँग ऋण जोहो गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म आइपुगे । ‘जुम्लामा हड्डीसम्बन्धी रोगका राम्रा डाक्टर छन् भन्ने सुनेको थिएँ । थोरै खर्चमै जस्तोसुकै जटिल समस्याको पनि उपचार हुन्छ भन्ने सुनेकाले पुगेको हुँ,’ उनले भने, ‘डाक्टरहरूले दिने उपचार सेवा, बिरामीलाई दिने माया, नियमित निगरानीदेखि अस्पतालको जवाफदेही लोभलाग्दो नै देखियो ।’

सेजुवाललाई गाउँलेले उपचार सम्भव नहुने भन्दै घरमै राख्न सुझाएका थिए । ‘न्यूनतम १२ देखि १४ लाखसम्म खर्च लाग्छ, कसरी उपचार सम्भव हुन्छ,’ गाउँलेले आफ्नै अगाडि भनेको कुरा सम्झेर उनी भक्कानिए, ‘यो जीवनको पहिलो घटना थियो । मलाई आइडिया पनि थिएन । तर डाक्टरहरूको सेवा र हौसलाले मलाई बचायो ।’ उनी अहिले डिस्चार्ज भइसकेका छन । उनकी पत्नी हासा सेजुवालले मरेको आशा फर्किएको बताइन् । ‘भाँचिएको भाग राम्रोसित जोडिएला र घर फर्कौंला भन्ने आशा थिएन । तर अहिले हिँडडुल गरेको देख्दा निकै खुसी छु,’ उनले भनिन् ।

कालीकोटको महावै–६ गणेशकोटकी ४ वर्षका आरएन शाहीको खेल्ने क्रममा लड्दा देब्रे हात भाँचियो । घटनाको भोलिपल्ट माघ १६ मा आमा सुलोचना शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइन् । ‘सुविधासम्पन्न अस्पताल नजिकै नहुनुले लडेकै बेला अस्पताल पुर्‍याउन सकिएन,’ उनले भनिन् । महावैदेखि सुर्खेत पुग्न जुम्ला पुग्नजतिकै समय लाग्छ । तर उनले जुम्ला अस्पताल नै रोजिन् । ‘स्टाफनर्सको भरमा चलेको जुम्लाले अहिले हड्डी जोड्ने डाक्टर पाउन थालेकोमा खुसी लागेको छ,’ उनले खुसी पोखिन्, ‘पन्ध्र दिनमै छोराले हात चलाउन सक्ने भइसकेको छ ।’

गत शनिबार बिहान डोल्पा जगदुल्ला–६ माझगाउँकी ६३ वर्षकी दुर्गादेवी शाही घरमै लडिन् । मेरुदण्ड नै भाँचिएकाले तत्काल अस्पताल पुर्‍याउन सम्भव देखिएन । गाउँलेले अस्पताल लैजान गाह्रो हुने भन्दै घरमै उपचार गराउन सल्लाह दिए तर छोरा धनसिंह बोहोराले मानेनन् ।

डोल्पादेखि २२ हजारमा जिप रिजर्भ गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए । अहिले दुर्गादेवीको अवस्था खतरामुक्त छ । अबको तीन महिनामा उनी पहिलेझैं सद्दे शरीर लिएर घर फर्किने डाक्टरहरू बताउँछन् । ‘उपचार गर्न सकिए प्रतिष्ठानको अस्पतालमै बसौंला, नत्र रेफर गरेर अन्यत्र पुर्‍याउँला भन्ने सोच थियो,’ छोरा धनसिंहले भने, ‘जस्तोतस्तो हड्डीको उपचार जुम्लामै हुँदो रहेछ । किन महँगो तिरेर सुर्खेत, नेपालगन्ज जानुपर्‍यो ?’

अहिले दैनिक ३० जना हाडजोर्नीका बिरामी भर्ना हुने गरेको अस्पतालको तथ्यांक छ । अधिकतर बिरामी हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पा जिल्लाकै रहेका छन् । हाडजोर्नी समस्या भएका झन्डै ७५ जनाले दैनिक ओपीडी सेवा लिने गरेको अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायाले बताए । उनका अनुसार चिसोमा भन्दा गर्मीमा बढी हड्डीका समस्या भएका बिरामीहरू आइरहन्छन् ।

हाडजोर्नी तथा नसारोग विभाग प्रमुख तुफानसिंह कठायतका अनुसार एक सातामा १० जनाजतिले हाडजोर्नीको सेवा लिन्छन् । वर्षमा ५ सय २० जना हाडजोर्नीका बिरामी निको भएर घर फर्किने गरेको उनले बताए । पछिल्लो समय हाडजोर्नीका बिरामी फलोअपका लागि डाक्टरहरू नै जिल्लाजिल्ला पुग्ने गरेका छन् । हरेक महिनाको पहिलो र अन्तिम शुक्रबार कालीकोट र मुगु पुगेर बिरामीको रेखदेख र अवस्था अध्ययन गर्छन् । जसका कारण हाडजोर्नीका बिरामी जुम्ला अस्पताल नै पुग्न चाहन्छन् ।

अस्पताल निर्देशक डा. रोकायाले अस्पतालको उपचारभन्दा पनि यातायातमा बढी खर्च हुने गरेकाले बिरामीले आर्थिक संकट बेहोर्नुपरिरहेको बताए । ‘बिरामीको रोजाइ नै जुम्ला अस्पताल बनेको छ, तर उनीहरू आउजाउ गर्न निकै खर्च लाग्छ,’ उनले भने, ‘उनीहरूको खर्च व्यवस्थापन गर्ने माध्यम सरकारले अपनाएको भए कसैले पनि हड्डीको समस्या बेहोर्नुपर्ने थिएन ।’

प्रकाशित : चैत्र २, २०७९ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×