सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो [अपडेट]- वाग्मती - कान्तिपुर समाचार

सिन्धुली बस दुर्घटना : मृत्यु भएका सबैको परिचय खुल्यो [अपडेट]

कान्तिपुर संवाददाता

काठमाडौँ — मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाका पाँच र उदयपुरका एकजना छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की, चिशंखुगढी गाउँपालिका–४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका–२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगाका पाँचै जना मृतकको शव परीक्षणका लागि ओखलढुंगा लगिएको र उदयपुरका एक जनाको शव सिन्धुली अस्पताल ल्याइएको उनले सिलवालले दिए । ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए । तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ ।

घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको हो । सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा गाउँपिच्छे बाँदर आतंक

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे क्षतिपूर्ति पाइन्छ तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको व्यवस्था छैन
कृष्ण थापा

नुवाकोट — पछिल्लो समयमा ग्रामीण भेगमा बाँदरले बाली सखाप पारेर दु:ख दिएको गुनासो बढेको छ । ‘बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाइदिएको बढी गुनासो आयो,’ तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने, ‘किसानको गुनासो कति सुन्ने ? नियन्त्रण गर्न सकिएन ।’ तादी गाउँपालिका १ देखि ४ वडासम्मका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ । 

डिभिजन वन कार्यालय नुवाकोटले शुक्रबार आयोजना गरेको वन तथा वातावरणसम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा स्थानीयले लगाएको बाली बाँदरले खाइदिएपछि क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् ।

तादी मात्र नभई पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, सूर्यगढी, ककनी, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकालगायतका स्थानीय तहमा बाँदरका कारण स्थानीयले खेतबारीमा बाली लगाउन कम गरेको पालिकाहरूले जनाएका छन् । ‘अब मकै लगाउने बेला भयो,’ सूर्यगढी गाउँपालिका–५ का रामराज कम्वरले भने, ‘जुठेल्नामै आएर बाँदरले खाइदिन्छ । अहिले त रातो र लंगुर बाँदर आउँछ । के गरी खेती गरेर खाने ?’

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाइने व्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको व्यवस्था छैन । नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ भने बाँकी ३ सय ७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षणसम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराइएको थियो ।

त्यसैगरी निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने व्यवस्थाबारे जानकारी दिइएको थियो भने हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाइते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष तामाङले बताए । डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सीडीओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाइ हुनेमा आशावादी रहेको बताए । बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ २१:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×