गैंडा पाइने एसियाली देशहरुको बैठक सम्पन्न, ६ विषयमा सहमति- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडा पाइने एसियाली देशहरुको बैठक सम्पन्न, ६ विषयमा सहमति

रमेशकुमार पौडेल

चितवन — गैंडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेशिया र मलेसियाका सरकारी अधिकारी र संरक्षणकर्मीहरु तथा विज्ञहरु सम्मिलित तेस्रो बैठक आइतबार सकिएको छ ।

चितवनको पटिहानीमा शुक्रबार सुरु भएको बैठक यसअघि सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया र दोस्रो भारतमा भएको थियो । भारतमा भएको बैठकले त्यो बेला जारी गरेको दिल्ली घोषणापत्रको समीक्षा गर्दै यो पटक नयाँ घोषणा आएको छ ।

गैंडा पाइने एसियाका देशहरुले मुख्य ६ वटा विषयगत क्षेत्र समेटेर ‘एसियन गैंडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । गैंडा संरक्षण, गैंडाको संख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदनप्रदान, समन्वय र सहकार्यजस्ता विषयमा बैठकले सहमति गरेको कार्कीले बताए ।

एसियाली देशहरु नेपाल, भारतमा ठूलो एकसिंगे गैंडा पाइन्छ । भारत हुँदै भुटानसम्म एकसिंगे गैंडा ओहरदोहर गर्दछन् । त्यसैगरी यी तीन देश बाहेक एसियाका अन्य दुई देश इन्डोनेसिया र मलेसियामा सानो खाले गैंडा जाभान र सुमात्रान पाइन्छ । भारतका सात ठाउँमा गरेर तीन हजार २६६ र नेपालमा चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटामा गरेर ७५२ वटा ठूलो एकसिंगे गैडा रहेका छन् ।

त्यसै गरी जाभान गैंडा ८० र सुमात्रान गैंडा ७५ वटा मात्रै छैन । दुर्लभ र लोपउन्मुख अवस्थामा पुगेका कारण गैंडा संरक्षणमा मिलेर काम गर्नु पर्ने अवस्था आएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले बताए । नेपालमा गैंडा संरक्षणमा राम्रो प्रगति भएको छ । तर यो वर्ष र अघिल्ला वर्षहरुमा पनि चोरी सिकारीका घटनाहरु भएका छन् ।

भारतमा भने ४० वर्षपछि पहिलो पटक गैंडाको चोरी सिकार शून्य भएको छ । ‘संरक्षणका अनुभव आदन प्रदान गर्न यस्ता बैठक उपयोगी हुन्छन् । भारतमा कानुन कार्यन्वयन र अपराध अनुशन्धानको पाटो बलियो बनाउन लगेका कारण शून्य चोरी सिकारको अवस्थामा पुगेको देखिन्छ । हिजो हाम्रोमा पनि चोरी सिकार बिकराल थियो । पछिल्ला वर्षहरुमा शून्य नै भयो । अहिले फेरि समस्या देखिएको छ’ महानिर्देशक ढकालले भने ।

नेपालले समुदायसँगको सहकार्यमा सफल्ता पाएको उनले बताए । कोरोनाका कारण पर्यटन ठप्प हुँदा राजश्व घटेको र त्यसको असर मध्यवर्तीमा जाने बजेटमा परेको छ । ‘कोरोना र बजेट कम हुँदा समुदायमा हुने कार्यक्रम र गतिविधिमा कमी आए । समुदाय र निकुञ्जको बाक्लो सहकार्य कम भयो । यसको असर संरक्षणमा पनि पर्ने पो हो कि !’ ढकालले भने । मध्यवर्ती र स्थानीय तहका पदाधीकारीको समन्वय बढाउनु पर्ने उनले बताए ।

‘स्थानीय सरकार र प्रदेश सरकारले संरक्षणलाई ख्यालमा राख्दै विकास निर्माणमा जुट्ने बेला पनि आएको छ । विकास र संरक्षण दुवै आवश्यक छ । तर संरक्षण नबिगारी विकास गर्न लागौं,’ ढकालले अपिल गरे । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट गणेश पन्तले दिल्ली घोषणापत्रमा समेटिएका १२ बुँदामध्ये ११ बुँदा नेपालसँग सम्बन्धित रहेको र तीमध्ये पाँचवटामा ठिक ठिकै र अरुमा राम्रो प्रगति देखिएको बताए ।

बैठकमा पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका वन मन्त्रालय र पार्कसँग सम्बन्धित सरकारी अधिकारीहरु, आईयूसिएन, इन्टरपोल, अन्तराष्ट्रिय गैंडा फाउण्डेशन, अफ्रिकी राइनो रिकभरी फण्ड, एसियाली गैंडा विज्ञ समूह, लगायतका संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए । गैंडाको चोरी सिकार र खागको अवैध व्यपारलाई नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

प्रकाशित : माघ २२, २०७९ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘चार महिनापछि मेलम्चीको पानी बन्द हुन सक्छ’

वर्षात् लागेपछि हेडवर्क्समा जान र पानी पठाउन सकिने अवस्था छैन : प्राविधिक
ऋषिराम पौड्याल

सिन्धुपाल्चोक — गत जेठमा वर्षात् सुरु भएलगत्तै सुरुङ बन्द गरेर मंसिरबाट मेलम्चीको पानी काठमाडौं पठाइयो । कुलोजस्तो बनाएर पानी सुरुङमा प्रवेश त गराइएको थियो तर सामान्य वर्षात् हुनेबित्तिकै हिलोमाटो र गेग्रान बगेर सुरुङको मुख थुनिने अवस्था छ । प्राविधिकहरू भन्छन्, ‘हेडवर्क्स निर्माणको गति यही अवस्थामा रहे चार महिनापछि फेरि सुरुङ बन्द गर्नुपर्छ ।’

२०७८ असारको बाढीले झन्डै १० मिटर हेडवर्क्सको संरचना गेग्रानले पुरेको छ । मुख्य बाँध र सुरुङ पुरिएको ढुंगामाटो पन्छाइसकिएको छैन । मुहानमा जाने झन्डै ६ किमि सडक पूर्णरूपमा बगरमा परिणत भएको छ । बगाएको मोटरेबल पुल निर्माणको सुरसार छैन । मेलम्ची खोलाको सतह गेग्रान र ढुंगाले भरिएर उकासिएको छ । आयोजनाका प्राविधिकका अनुसार अहिले मेलम्ची पानीको मुहानस्थित हेडवर्क्स ढुंगा, गेग्रान र बालुवाले पुरिएको छ । वर्षात् लागेपछि हेडवर्क्समा जान र पानी पठाउन सकिने अवस्था छैन । पानी पर्न सुरु गर्नेबितिक्कै काम बन्द गर्नुपर्ने प्राविधिक बताउँछन् ।

आयोजनाको निरीक्षण गर्न शनिबार आएका नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले बाह्रै महिना पानी दिने वातावरण तयार गर्न निर्देशन दिएका छन् । सचिव मणिराम गेलाल, आयोजनाका कर्मचारीसहित उनी मुहान पुगेका थिए । मन्त्रीले निर्देशन दिएलगत्तै आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले बाह्रै महिना पानी सञ्चालन गर्न आफूले योजना बनाएको जानकारी दिए । तर त्यसका लागि अहिले सुरुङको काम गरिरहेको चिनियाँ कन्ट्रक्सन कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिने वा छुट्टै टेन्डर गर्ने यकिन गर्नुपर्ने उनको भनाइ छ । कम्तीमा १० करोड रुपैयाँ उपलब्ध भए अस्थायी कंक्रिट टावर निर्माण गरेर सामान्य बाढीमा पनि सुरुङबाट पानी पठाउन सकिने उनले जानकारी गराए ।


बाढीपहिरो गएको दुई हिउँद बित्दा पनि सरकारले सामान्य संरचना निर्माणका लागि ठूलो रकम उपलब्ध गराएको छैन । तत्कालै बजेट उपलब्ध नभए जेठ १५ सम्म संरचना बन्न नसक्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले मन्त्री खानलाई दिएका हुन् ।

मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट करिब २० किमि माथिल्लो भाग भेमाथाङबाट आएको पहिरोको भय अझै कायम छ । स्थायी रूपमा पानी सञ्चालन गर्न थप भौगोलिक अध्ययन गर्नुपर्ने भएकाले तत्काल स्थायी संरचना बनाउने अवस्था नभएको कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । दक्षिणतिरबाट पानी तर्काएर सुरुङलाई बचाउने प्रयास भइरहेको उनले बताए । ‘सामान्य बाढी र वर्षात्ले पानी बन्द गर्नुपर्दैन भन्ने आकलन छ,’ उनले भने ।

२०५५ सालमा विकास समिति गठन गरेर आधिकारिक रूपमा सुरु भएको मेलम्चीबाट २०७७ चैतमा पहिलोपटक पानी काठमाडौं पुर्‍याइएको थियो । अहिले पानी वितरण तेस्रो पटक गरिएको हो । अहिले मेलम्ची खोलाको करिब ७५ प्रतिशत पानी काठमाडौं पठाइएको छ ।

डेढ वर्षअघिको क्षतिभन्दा पनि अब के होला भन्ने आकलन गर्न सक्ने अवस्था नभएकाले मुख्य ऋणदाता एसियाली विकास बैंक (एडीबी) ले अन्तिम रिपोर्ट दिन नसकेको स्रोतको भनाइ छ । हाल आयोजनाको पानी काठमाडौंवासीले पिउन पाए पनि यसलाई स्थायी रूप दिन नसके कामको उपलब्धि नदेखिने प्राविधिकहरू बताउँछन् ।

मेलम्चीको करिब २७ किमि सुरुङ, सुन्दरीजलको प्रशोधन केन्द्र र काठमाडौं उपत्यकाको पानी वितरण प्रणालीका लागि ६५ अर्बभन्दा धेरै खर्च भइसकेको छ । उपत्यकाको पानी वितरण संरचना बनाउन मात्र करिब ३० अर्ब खर्च भएको छ ।


डेढ वर्षअघिको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेडवर्क्स । तस्बिर : ऋषिराम/कान्तिपुर

प्रकाशित : माघ २२, २०७९ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×