राजमार्गमै नयाँ पुल नबन्दा सवारीमा सास्ती- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजमार्गमै नयाँ पुल नबन्दा सवारीमा सास्ती

केदार शिवाकोटी

दोलखा — जिल्लालाई तराई र राजधानीसँग जोड्ने राजमार्गका मोटरेबल पुल अलपत्र परेका छन् । लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत तामाकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल ७ वर्षदेखि अलपत्र अवस्थामा छ । दोलखालाई राजधानीसँग जोड्ने सिन्धुपाल्चोकको खाडीचौरमा रहेको सुनकोसी नदीको पुलको काम पनि अलपत्र छ ।

नयाँ पुल निर्माण अलपत्र हुँदा पुरानै पुलबाट यात्रुवाहक र भारवाहक सवारीसाधन आउजाउ गरिरहेका छन् । पुरानो मोटरेबल पुल जीर्ण बनिसकेको छ ।

४० वर्षअघि बनेका दुवै पुल विस्थापन गर्न २०७३ सालमा २० करोड रुपैयाँमा ठेक्का लागेको थियो । निर्माणको जिम्मा लिएको नीलगिरि–नेसनल जेभीले नयाँ पुलको दुवैतिर जिप उठाएपछि अलपत्र छाडिदिएको छ । सोही कम्पनीले खाडीचौरमा रहेको सुनकोसी पुलको जिम्मा पनि लिएको छ । दुवै पुलको ठेक्का २०७३ सालमै लागे पनि काम भने अघि बढेको छैन । सदरमुकाम चरिकोटलाई तराईसँग जोड्ने महत्त्वपूर्ण तामाकोसी पुल अलपत्र परेपछि स्थानीयले पटक पटक पुरानो पुल भाँचिने अवस्थामा पुगेको भन्दै भारवाहक सवारीसाधनलाई आवतजावतमा रोक लगाउँदै आएका छन् । यस्तै अरनिको राजमार्गबाट चरिकोटतर्फ आउने मुख्य लाइफलाइन सुनकोसीको पुल निर्माणको काम अघि बढाइदिन स्थानीयले सडक डिभिजनलगायतका स्थानमा आग्रह गर्दै आएका छन् । दुवै पुल दोलखाको लाइफलाइनका रूपमा रहेका छन् । जिरी, रामेछाप र तराईबाट सयौं मालवाहक र यात्रुवाहक सवारीसाधन पुरानै पुलबाट आउजाउ गर्छन् ।

पुल बनाउने ठाउँमा स्थानीयका घरटहरा भएका कारण काम सुरु गर्न नसकेको निर्माण पक्षको गुनासो रहेपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ तामाकोसी बजारमा प्रशासन र स्थानीय तहले चार वर्षअघि घरटहरा हटाएको थियो । सडक चौडा पारिने र पुल बनाउने भनेर भएका टहरा हटाइए पनि पुल भने अलपत्र परेको स्थानीय नवराज बस्नेतले बताए । ‘सडक चौडा भएको छ, पुल निर्माण गर्ने भनेपछि टहरा हटायौं,’ उनले भने, ‘पुल भने जग उठाएर अलपत्र पारिए पनि कसैले वास्ता गरेको छैन ।’ पुरानै जीर्ण पुलबाट आवतजावत गर्ने यात्रु र सवारीसाधन जोखिममा पर्दै गएको उनले बताए । जलविद्युत् आयोजनाका भारवाहक सवारीसाधनका कारण पुरानो पुल थप जीर्ण बनेर कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगेका छन् । तामाकोसीमा ७५ मिटर लामो दुई लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनमा नयाँ पुल निर्माणको काम २०७५ सालमा सकिनुपर्नेमा निर्माण कम्पनीले विभिन्न बाहनामा काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ । तामाकोसीमा दुवैतर्फ जिप उठाइएको छ भने सुनकोसीमा एकातर्फ मात्रै जिप उठाएर ठेकेदारले अलपत्र छाडिदिएको छ । नयाँ पुल निर्माण हुने भएपछि तामाकोसी र सुनकोसीका पुरानो पुल मर्मत नभएर खिया लागेर थप जीर्ण बनेका छन् ।

नयाँ पुल अलपत्र पर्दा रामेछाप र जिरीपारि निर्माण भइरहेका जलविद्युत् आयोजनाका भारवाहक साधन जीर्ण बनेको पुरानै पुलबाट चल्ने गरेका छन् । पुरानो पुलको मुखमै भासिएपछि डिभिजन सडक कार्यालय दोलखाले आवतजावतमा समस्या पर्ने भन्दै ग्याबिन लगाएर भरथेग गरेको बस्नेतले बताए । महाशाखाले २ पटक पुल निर्माणको ठेक्का थप गरे पनि अझै निर्माणको काम अघि बढेको छैन । डिभिजन सडक कार्यालय दोलखाले पुल महाशाखालाई पुरानो पुलमा जोखिम बढेको भन्दै नयाँ पुलको काम अघि बढाइदिन पटकपटक ताकेता गरिरहेको प्रमुख अर्जुन सुवालले बताए । ‘हामी पुरानो पुल निकै जीर्ण भएको भनेर पुल महाशाखालाई काम अघि बढाइदिन आग्रह गरेको धेरै भइसक्यो,’ उनले भने, ‘तर अझै पनि महाशाखाले पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई काममा फर्काएको छैन ।’ पुरानो पुल जीर्ण भइरहेकाले भारवाहक सवारीसाधनलाई पुलबाट प्रवेशमा रोक लगाएको उनले बताए ।

उक्त पुरानो पुल १८ टन क्षमताको भए पनि ४० टनसम्म जलविद्युत्का सामग्री बोकेर भारवाहक साधन गुड्ने गरेका छन् । पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोड्ने वा सोही निर्माण कम्पनीबाट काम अघि बढाउने भन्नेमा पुल महाशाखाले निर्णय नलिँदा निर्माणको काम थप अन्योलमा छ । यस्तै पुष्पलाल मार्गअन्तर्गत तामाकोसी गाउँपालिका–१ भीरकोटको धोली खोलामा ७ वर्षदेखि अस्थायी रूपमा राखिएको बेलिब्रिजबाटै सवारीसाधन आवतजावत गरिरहेका छन् । तराईबाट खाद्यान्नलगायतका सामान र नजिकै रहेको क्रसरबाट भारवाहक मालवाहक र टिपर यही बेलिब्रिजबाटै गुड्ने गरेका छन् । २०७३ सालमा बाढीले धोली खोलाको स्थायी मोटरेबल पुल बगाएको थियो ।

प्रकाशित : माघ २२, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा आगलागीमा ९ घर–पसल जले

केदार शिवाकोटी

दोलखा — दोलखाको कालिञ्चोक गाउँपालिका-९ कटुवाचौचर बजारमा आगलागीमा ९ वठा घर पसल जलेर नष्ट भएका छन् । बुधबार राति ११ :२५ बजेतिरबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा बजार क्षेत्रका ९ घर तथा पसल जलेर पूर्ण रूपमा नष्ट भएको दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताए । बजार क्षेत्रमा लागेको आगलागी अझै पूर्णरूपमा नियन्त्रण आइनसकेको उनले जानकारी दिए । आगलागीमा केही चौपाया पनि जलेर मरेको उनले बताए ।

चरिकोटबाट गएको दमकल, जनपद, सशस्त्र,नेपाली सेना र स्थानीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो कसरी लाग्यो र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

प्रकाशित : माघ १९, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×