भारतबाट बनेका पाँच भवनको एकैसाथ उद्घाटन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट बनेका पाँच भवनको एकैसाथ उद्घाटन

राजकुमार कार्की

सिन्धुली — भारत सरकारको सहयोगमा निर्माण सम्पन्न पाँचवटा भवनको शनिबार एकैसाथ उद्घाटन गरिएको छ । भारतीय दूतावास मार्फत निर्माण भएका दुईवटा विद्यालय  र तीनवटा स्वास्थ्य चौकी भवनको राजदूत नवीन श्रीवास्तवले कमलामाइ नगरपालिका वडा नं १ को चण्डेश्वरी माविमा आयोजित कार्यक्रममा एकसाथ उद्घाटन गरेका हुन् । 

चण्डेश्वरी माविको भवन १२ वर्षअघि नै निर्माण सम्पन्न भएको थियो । २ करोड ३१ लाखको लागतमा २ तले निर्माण सम्पन्न भएको भवनको शिलान्यास भारतीय राजदूतले २०६५ सालमा शिलान्यास गरेका थिए । २०६८ सालमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन भने हुन सकेको थिएन ।

भर्खरै निर्माण सम्पन्न भएको तीनपाटन गाउँपालिका २ को भवानी माविको भवन चण्डेश्वरी माविमै व्यानर राखेर उद्घाटन गरिएको थियो । उक्त भवन चार करोड १९ लाखको लागतमा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । भवन १० वर्षमा बनेको हो । दूतावासबाट रकम निकासा ढिला भएकाले समय बढी लागेको जनाइएको छ । दुवै भवनको सिद्धबाबा कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का पाएको थियो ।

उक्त क्षेत्रमा दुई करोड ११ लाखको लागतमा तीनवटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भएका हुन् । सुनकोसी गाउँपालिकाको दुम्जा र गोलन्जोर गाउँपालिकाको बाशेश्वर र ग्वाल्टारमा स्वास्थ्यचौकी भवन बनेका छन् । उद्घाटन कार्यक्रम भारतीय राजदूत श्रीवास्तवले पाँचवटा भवन सम्पन्न गर्न ८ करोड खर्चिएको बताए । काममा भएको ढिलासुस्तीले रकम निकासा समेत ढिलो भएको राजदूत श्रीवास्तवको प्रष्टोक्ती थियो । काम जुन गतीमा हुन्छ, पैसा त्यहि गतीमा आउ“छ, उनले भने, ‘एउटा विद्यालय तीन वर्षमै बन्यो । अर्कोलाइ १० वर्ष लाग्यो ।’

राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षाको क्षेत्रमा भारत–नेपाल मिलेर अघि बढे दुवै देशलाई फाइदा हुने बताए । विकास निर्माणमा गरेको सहयोगले भारत र नेपालको सदियौंदेखिको मित्रता अझ प्रगाढ भएर जाने उनको विश्वास थियो ।

नेपाल र भारत छिमेकी मुलुक मात्र नभएर भाइचाराको सम्बन्ध रहेको राजद‍ूत श्रीवास्तवको भनाइ थियो । भारतीय दूतावासका विकास साझेदारी एवं पुनर्निर्माणका प्रथम सचिव करुण बंसलले जनताको जीवनस्तर उकास्ने कार्यक्रममा भारत सरकार सहयोग गर्न इच्छुक रहेको बताए । विद्यालय बस र स्वास्थ्यचौकीलाई एम्बुलेन्स माग भएमा सहयोग गर्ने उनले जनाए । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले शीत भण्डार र भुइँकटहर उद्योग स्थापनामा सहयोग गर्न राजदूत श्रीवास्तवलाई आग्रह गरेका थिए ।

प्रकाशित : माघ २१, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपाका मागबारे सबै पक्षसँग कुरा हुन्छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले भने, 'अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।'

गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।

पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । लामिछानेको मागमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमति जनाउँदै आएका छन् । यी विषयमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।

रास्वपाले शनिबारसम्म आफूलाई गृहमन्त्रालयको जिम्मेवारी दिन अल्टिमेटम दिएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा उक्त विषयमा छलफल गर्ने र आफ्नो कुरा राख्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बिहीबारको संयुक्त बैठकले गरेको निर्णय हो । तर, यसबीचमा संयन्त्रको बैठकसम्म बसेको छैन ।

प्रकाशित : माघ २१, २०७९ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×