कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीमा मन्त्रालय घटाउन दुई विकल्प

मकवानपुर — वाग्मतीमा मन्त्रालयको संख्या घटाउन गठित अध्ययन कार्यदलले दुई वटा विकल्प दिएको छ । पहिलोमा ९ वटा मन्त्रालय कायम गर्न सकिने सुझाव छ । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पालाको ८  मन्त्रालय कायम राख्ने र अन्य एक मन्त्रालय गठन गर्न सकिने समितिले जनाएको छ ।

वाग्मतीमा मन्त्रालय घटाउन दुई विकल्प

साविकका १४ मन्त्रालयलाई समायोजन गरी ११ वटा कायम गर्ने अर्को विकल्प पनि समितिले तयार पारेको छ । समितिले तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट अलग्गिएको पर्यटन तथा संस्कृति मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गाभेर नयाँ मन्त्रालय गठन गर्न र वन तथा वातावरण मन्त्रालय कायम गर्न सकिने सुझाव दिएको छ । युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई समानताका आधारमा आपसमा गाभ्ने योजना समितिले बनाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कार्यभार सम्हालेलगत्तै मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेका थिए । १५ दिनको समयसीमा तोकिएको कार्यदलको म्याद सोमबार सकिँदै छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा अधिकतम ११ र न्यूनतम ९ वटा मन्त्रालय बनाउने घोषणा गरिसकेका छन् । अघिल्ला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कार्यकालमा मन्त्रालय संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको थियो । मन्त्रिमण्डल १८ सदस्यीय थियो । जब कि भवन अभावका कारण प्रदेशका मन्त्रालयहरू भाडाको घरमा तथा एउटै भवनमा ५ वटासम्म राखिएको छ ।

सत्तारूढ दलबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा वाग्मतीमा मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ । जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । गत पुस २५ मा ५ दलको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका थिए । लगत्तै उनले मन्त्रालयको संख्या घटाउन कार्यदल बनाएका थिए, जसका कारण भागबन्डामा समस्या परेको हो । हाल प्रदेशमा १४ मन्त्रालय छन् ।

हाल ३ सदस्यीय मन्त्रिमण्डलमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री छन् । राप्रपाका उद्धव थापा बिनाविभागीय मन्त्री छन् । थापाले भौतिक विकास मन्त्रालय रोजे पनि भागबन्डाको सहमति नहुँदा उनको जिम्मेवारी तोकिएको छैन । सत्ता गठबन्धनले केन्द्रीय निर्देशनअनुसार प्रदेश सभामुखमा राप्रपाका भुवन पाठक, उपसभामुखमा एमालेकी अप्सरा चापागाईंलाई चयन गरिसकेको छ । मुख्यमन्त्रीले पनि संसद्बाट विश्वासको मत लिइसकेका छन् । मुख्यमन्त्री जम्कट्टेल मन्त्रालय बाँडफाँट टुंग्याउन नसकेपछि केन्द्रीय नेतृत्वसँग छलफलका लागि शुक्रबार काठमाडौं पुगेका छन् । ‘सत्तारूढ दलबीच छलफल जारी छ, दुई/तीन दिनभित्र टुंगिनेछ,’ उनले भने ।

प्रकाशित : माघ ९, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?