कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फुटपाथ खाली गराउन नगरको उर्दी

रामेछाप — मन्थली बजारको फुटपाथमा व्यावसायिक सामग्री थुपार्ने क्रम बढेपछि नगरपालिकाले त्यसलाई तत्काल हटाएर आवागमन सहज बनाउन व्यवसायीलाई उर्दी जारी गरेको छ । बिहीबार मन्थली नगरपालिकाले बजारका सबै व्यवसायीलाई फुटपाथमा राख्दै आएका सामग्री तत्काल हटाउन आग्रह गरेको हो ।

फुटपाथ खाली गराउन नगरको उर्दी

अटेर गर्नेमाथि कारबाही गरिने चेतावनी पनि नगरपालिकाले दिएको छ । व्यवसायीले पसलभन्दा बाहिर पनि सामग्री थुपार्दा दुर्घटनाको जोखिम बढेकाले त्यस्ता सामग्री हटाउन थालिएको नगरपालिकाले जनाएको छ । यसअघि पनि नगर प्रहरीमार्फत पटक पटक फुटपाथका सामग्री हटाउनका लागि आग्रह गर्दै आए पनि व्यवसायीले टेरेका थिएनन् । नगरपालिकाले हटाउन आग्रह गरेकै दिन व्यवसायीले भने नगरविरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

बिहीबार बजारका दर्जनौं व्यवसायीले नगरपालिकाले जारी गरेको सूचनाप्रति आपत्ति जनाउँदै आर्थिक मन्दी भएका बेला सरोकारवालासँग कुनै छलफल नै नगरी गरिएको कार्य स्थगन गर्न आग्रह गरेका छन् । व्यवसायीले नगरपालिका प्रमुख लब श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजारमा सबैतिर फुटपाथ, रेखाङ्कन, पार्किङलगायतका विषय टुंगो लगाएर मात्र अरू व्यवस्थापनको कार्य गर्न सुझाव दिएका हुन् । मन्थली बजारको मुख्य भागमा सानो फुटपाथ भए पनि अधिकांश क्षेत्रमा फुटपाथ निर्माण भएको छैन ।

‘हामी नगरपालिकालाई व्यवस्थित सहर बनाउनका लागि सहयोग गर्छौं’ स्थानीय व्यवसायी दीपक सापकोटाले भने, ‘तर नगरले पनि सबै बजारवासीको भावनाबमोजिमको काम गर्नुपर्छ ।’ उनले सबैतिर समान व्यवहार विगतदेखि नै नभएको गुनासो गरे । नगर प्रमुख श्रेष्ठले साँघुरो सडक र फुटपाथलाई व्यवस्थित बनाउँदा नगरपालिकालाई मात्र नभई व्यवसायीकै हित हुने देखेर कदम चालिएको बताए ।

‘पसलभन्दा बाहिर सामान राख्दैमा व्यवसाय वृद्धि हुने हैन’ श्रेष्ठले भने, ‘सटरभित्रै राखेर पनि सामान बेच्न सकिन्छ ।(’ पार्किङको विषयमा नगरपालिका गम्भीर भएको उल्लेख गर्दै आसपासको क्षेत्र खोजी भइरहेको उनले बताए । व्यवसायीलाई कारबाही गर्ने मनसायले भन्दा पनि सुन्दर मन्थली बनाउने असल उद्देश्यले उक्त अभियान सञ्चालन गरेको श्रेष्ठको दाबी छ ।

प्रकाशित : माघ ७, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×