मुख्यमन्त्रीले विश्वासको मत लिँदै

कान्तिपुर संवाददाता

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै छन् । पुस २५ मा मुख्यमन्त्रीको शपथ लिएका उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । 

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार विश्वासको मत लिने सबै प्रक्रिया सरकारले पूरा गरिसकेको छ । प्रदेशसभामा ७ वटा राजनीतिक दलको प्रतिनिधित्व छ । जम्कट्टेल प्रदेशसभाको ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेका २७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन छ । १ सय १० सदस्यीय प्रदेशसभामा ५६ पुगेको खण्डमा उनका लागि विश्वासको मत सहज हुने देखिन्छ । सभामुख र उपसभामुख चयन प्रक्रियामा सत्तापक्षका उम्मेदवारलाई मतदान नगरी तटस्थ बसेको एकीकृत समाजवादीले विश्वासको मत दिने/नदिने टुंगो छैन । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस प्रदेशमा मौन छ । ३७ जनाको प्रतिनिधित्व रहेको कांग्रेस प्रदेशको सबैभन्दा ठूलो दल हो । ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा बस्ने प्रस्ट पारिसकेको छ ।

विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी मुख्यमन्त्री जम्कट्टेलको छ । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय छ । समाजवादीले आफूले माग गरेको मन्त्रालय पाएमा विश्वासको मत दिने र सरकारमा सहभागी हुने मुख्यमन्त्री सचिवालयको दाबी छ । कांग्रेसभित्र विश्वासको मत दिने र नदिने दुई खेमा प्रस्ट देखिएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले कांग्रेस सशक्त प्रतिपक्षीको भूमिकामा बस्ने बताए पनि विश्वासको मतको विषयमा निर्णय गरिसकेका छैनन् ।

यस्तै, वाग्मती प्रदेशसभाको उपसभामुखमा एमाले सांसद अप्सरा चापागाईं चयन भएकी छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनअनुसार बहुमत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् । १ सय ८ सांसद बैठकमा सहभागी भएका थिए । सभामुख भुवन पाठकबाहेक १ सय ७ सांसदले मत विभाजन प्रक्रियामा सहभागी भएकोमा चापागाईंको पक्षमा ६१ मत परेको हो । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उनी सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । गठबन्धनमा भएको सहमतिअनुसार एमालेले वाग्मतीमा उपसभामुख प्राप्त गरेको हो ।

उपसभामुखमा उम्मेदवारी दिएकी नेमकिपाकी गीता काफ्लेको पक्षमा ३ मत पर्‍यो भने विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए । बहुमत सदस्य विपक्षमा भएपछि उपसभामुखमा उनको प्रस्ताव अस्वीकृत गरिएको थियो । दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो । पहिलो कार्यकालमा माओवादीकी राधिका तामाङ उपसभामुख थिइन् ।

प्रकाशित : माघ ३, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

घुम्ती शिविरले सहज

कान्तिपुर संवाददाता

पाल्पा — पूर्वखोला गाउँपालिका–२, जल्पाका ९५ वर्षीय केशव अधिकारी गाउँमै आँखा जाँच गराउन पाउँदा खुसी छन् । आँखा जाँच गराउँदा मोतीबिन्दु देखियो । दायाँ आँखाको शल्यक्रिया भइसकेको थियो । अहिले फेरि बायाँ आँखा पनि शल्यक्रिया गर्नुपर्ने भएको छ । उनको स्वास्थ्यमा धेरै समस्या नभए पनि कानले नसुन्ने र उमेरले साथ दिएको छैन ।

‘यो आँखा देखाउन तानसेन, भैरहवा जानुपर्ने भएको थियो,’ उनले भने, ‘गाउँमै राखेको शिविरले मलाई धेरै सजिलो भयो ।’

पूर्वखोला–१, सिलुवाकी ७५ वर्षीया कमला भारती पनि लामो समयदेखि तल्लो पेट दुख्ने समस्याले पीडित थिइन् । दुर्गम गाउँ, यातायातको असुविधा, रकम अभावजस्ता कारणले स्वास्थ्य जाँच गराएकी थिइनन् । उनलाई ५० वर्षअघिदेखि यस्तो समस्या थियो । अहिलेसम्म रोग लुकाएर बसेको उनले सुनाइन् । पूर्वखोला गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँमै राखेको शिविरमा भने उनले धेरै वर्षपछि उपचार पाइन् । पाठेघरको मुखको क्यान्सर जाँच गराइन् । ‘धेरै वर्ष भयो दुःख पाएको,’ उनले भनिन्, ‘अहिले बल्ल गाउँमै यसको उपचार पाएँ । धेरै खुसी लाग्यो ।’


पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले राखेको प्रजनन स्वास्थ्य तथा आँखासम्बन्धी घुम्ती शिविरले सयौं महिला र आँखाको समस्या भएकाले फाइदा पाएका छन् । सिलुवाकै ७८ वर्षीया बालिका भारतीले पनि पाठेघरको जाँच गराइन् । वर्षौंदेखिको समस्या समाधान नभए पनि राहत पाएको उनले बताइन् । ‘हाम्रा पालामा घरमै बच्चा जन्माउने, छिट्टै गह्रौं भारी बोक्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘अहिलेको जस्तो जमाना कहाँ थियो र ?’ तल्लो पेट दुख्ने, पाठेघर खस्ने समस्याले लामो समयदेखि पीडित भएको उनले बताइन् ।


पूर्वखोला गाउँपालिकाको सिलुवा, वीरकोट र जल्पामा राखेको शिविरबाट ७ सय ९४ जनाले आँखा जाँच एवं यौन तथा प्रजनन स्वास्थ्यमा फाइदा पाएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको प्राविधिक सहयोगमा स्वास्थ्य शाखाले गाउँटोलमै पुगेर सेवा दिएको हो ।


प्रकाशित : माघ ३, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×