नुवाकोट विदुरमा पुस २७ गते सार्वजनिक बिदा 

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाले यही पुस २७ गते बुधबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय एकीकरण दिवसको अवसरमा पुस २७ गते नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले बताए ।

यही पुस १७ गते नगरपालिकाको बैठकको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिने भएको विदुर नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

यस्तै राष्ट्रिय शक्ति नेपालले पुस २७ गते राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ सालमा नुवाकोट एकीकरण गरेर नेपाल अधिराज्यको सुरुवात गरेका थिए । उनले विदुर नगरपालिका-२ पुरानो सदरमुकाम नुवाकोटडाँडामा पहिले नौतले (हाल साततले) दरबार निर्माण गर्न लगाई यहींबाट नेपालको राजधानीको रुपमा राज्य संचालन गरेका थिए । १८२५ सालमा हालको काठमाडौं (कान्तिपुर)का राजा जयप्रकाश मल्ललाई पराजित गरेपछि राजधानी काठमाडौं बनाएका थिए ।

पृथ्वीनारायण शाहको नुवाकोटडाँडामा रहेका दरबार र देहवसान भएको देवीघाटस्थित सालिकमा प्रत्येक वर्ष पुस २७ गते विविध कार्यक्रम गरी उनको योगदान र संझना गरिंदै आएको छ । नेपाल गणतन्त्र आएपछि पनि त्यस्ता कार्यक्रमहरु रोकिएका छैनन् ।


प्रकाशित : पुस २१, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा हुँदैन : ढुंगाना

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले निर्वाचनमा पार्टीको निर्णयविरुद्व जाने नेताहरूमाथिको कारवाही फुकुवा नहुने बताएका छन् । उनले केन्द्रीय कार्यसमितिमै रहिसकेका नेताहरूले समेत पार्टीको निर्णयविपरीत गएर पार्टी र पार्टी संलग्न गठबन्धनका उम्मेदवारविरुद्व उम्मेदवारी दिएको भन्दै पार्टीमा अनुशासन संकटमा पर्दै गएको बताए ।

‘जोमाथि कारवाही भएको छ र प्रमाण पुगिसकेको छ उनीहरूको कारवाही फिर्ता हुँदैन, अन्तर्घात गर्नेहरूको हकमा प्रमाणलाई आधार मानेर कारवाहीको प्रक्रिया अघि बढाउँछौँ,’ ढुंगानाले भने ।

अनुशासन समितिले निर्वाचनमा पार्टीको विधान र निर्णयविपरीत जानेहरूलाई चुनावकै बेला कारवाही गरेको थियो भने अन्तर्घात गर्नेविरूद्व उजुरी माग गरेको छ । उजुरीहरूसँगै प्रमाण पनि संकलन हुने र त्यसको आधारमा कारवाही प्रक्रिया अघि बढाइने संयोजक ढुंगानाले बताए ।

निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्रसहित पाँच दलसँग गठबन्धन गरेको थियो । केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन–३ मा गठबन्धनविरुद्व उम्मेदवारी दिएका थिए । संयोजक ढुंगानाले केन्द्रीय सदस्य कोइरालाविरुद्वको कारवाही फुकुवा नहुने दाबी गरे । उनले निर्वाचनमा पार्टीको अनुशासन उल्लंघन गर्ने जो कोहीलाई पनि विधानबमोजिम कारवाही गरिने बताए ।

अनुशासन समितिले यसअघि निर्वाचनको बेला नै अनुशासन उल्लंघन गर्ने नेता कार्यकर्ताहरुलाई सदस्यबाट निलम्बन गरिसकेको छ ।

प्रकाशित : पुस २१, २०७९ १६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×