कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोको विध्वंस

मकवानपुर, धादिङ, सिन्धुली — बुधबार र बिहीबारको वर्षापछि आएको बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा जनधनको क्षति पुर्‍याएको छ । कतै पुल भत्काएको छ त कतै उद्योग, होटल तथा आवासीय क्षेत्रमा बाढी पसेको छ । मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलामा ५ वर्षदेखि निर्माणाधीन पुल बिहीबार रातिको बाढीले बगाएको छ ।

बाढीपहिरोको विध्वंस

मकवानपुरगढी–५ र ३ जोड्ने उक्त पुल वाग्मती प्रदेश सरकारको लगानीमा बन्दै थियो । एक वर्षभित्रै सक्ने गरी २०७३ मा ठेक्का दिइए पनि ठेकेदारको लापरबाहीका कारण पुल निर्माणले गति लिन सकेको थिएन । जसका कारण स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेका थिए । निर्माणाधीन पुल नै बगाएपछि अब फेरि पुल बन्छ भन्ने आस मरेको स्थानीय रामजी सापकोटाले बताए ।

मकवानपुरकै आमभन्ज्याङस्थित सिमलटारस्थित फलामे पुल पनि बिहीबार रातिको बाढीले बगाएको छ । राक्सिराङ गाउँपालिका–६ का रमेश चेपाङले चराउन चितवन खैरहनी लगेका ८० घार मौरी लदरी खोलाको बाढीले बगाएको छ । गोलासहितको घार बगाउँदा १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको चेपाङले बताए ।

यता, धादिङको बेनीघाट रोराङ–२ ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योग निर्माणस्थलमा मलेखु खोलाको बाढी पसेको छ । बाढीले निर्माणाधीन संरचनामा क्षति पुग्नुका साथै निर्माण सामग्री बगाएको छ । उद्योगमा कार्यरत चिनियाँ मजदुर बस्ने आवासमा पनि बाढी पसेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उद्योगका स्थानीय व्यवस्थापक तुलसी थापाले बताए । सोही स्थानमा सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अन्य २ होटलमा पनि बाढी पसेको छ ।

त्रिशूली नदीको बाढीले गजुरी गाउँपालिका–५ घाटबेंसीनजिकै निर्माणाधीन मोटरेबल पुलमुनि रोकिराखेको एक्स्काभेटर बगाएको छ । बेनीघाट रोराङको मलेखु खोला, गल्छीको महेशखोला, थाक्रेको आग्राखोला, धादिङबेंसीको थोपला खोलामा शुक्रबार दिनभर पानीको बहाव बढ्दो रह्यो ।

यसैगरी, रामेछापको दुधौली नगरपालिका–१ स्थित बंकाखोला र वडा–२ को खारखोलामा आएको बाढीले आसपासका बस्ती डुबानमा परेका छन् । जसका कारण स्थानीयको घरमा रहेका खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री नष्ट भएको नगर प्रमुख घनश्याम राउतले बताए । उनका अनुसार दुधौली–१२ जिनाखुमा पहिरोले ५ सय कुखुरासहितको फार्म बगाएको छ । कमला नदी तथा अन्य खहरेमा पानीको बहाव बढिरहेकाले तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

मरिण खोलाले मरिण गाउँपालिका–५ कोवडी मुहानमा दुई बिघा जमिन कटान गरेको छ । सोही वडाको घाटामा रहेको ऐतिहासिक पञ्चकन्या पोखरी जोखिममा परेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए ।

प्रकाशित : असार १९, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?