कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फड्के पुल र गोरेटो पुरिएपछि गाउँमै थुनिए दिपु, तेगा र तेम्बाथान गाउँवासी

अनिश तिवारी

सिन्धुपाल्चोक — सोमबार बेलुकीको अविरल वर्षात्‌का कारण नेसमखोलामा बढेको पानीको सतहले जिल्लाको अझैसम्म सडक नजोडिएको जुगल गाउँपालिकाको अन्तिम गाउँ दिपु, तेगा र तेम्बाथान् जोड्ने एउटै काठको फड्के डुबेको छ । त्यस्तै यी तीन गाउँ पुग्ने गोरेटो बाटो जताततै खसेको पहिरोले पुरिएर पैदल यात्रा जोखिमपूर्ण भएकाले आउजाउ ठप्प भएयता स्थानीय गाउँमै थुनिएका हुन् । 

फड्के पुल र गोरेटो पुरिएपछि गाउँमै थुनिए दिपु, तेगा र तेम्बाथान गाउँवासी

सडक, बिजुलीदेखि उच्च शिक्षाजस्ता विकासको पर्खाइमा वर्षौंदेखि कुरेर बसेका तीन गाउँभरका २ सय २० परिवार बजार क्षेत्रसँग जोड्ने पुल पनि बगाएपछि आत्तिएको जुगल गाउँपालिका ३ तेम्बाथान्का अगुवा साइला शेर्पाले बताए ।

‘फड्के पुल खोलामा डुब्यो; बाटो पूरै पुरिए; नेसमखोला यत्ति उर्लिएर बगिरहन्छ कि तर्ने कुरा सपना पनि सोच्न सकिँदैन; यस्तो हुँदा तीन गाउँको गुम्बाथान, कात्तिके इलाकाभेगसँग सम्पर्क पूर्ण रुपमा टुटेको छ,’ उनले भने ।

अघिल्लो वर्ष तीन गाउँ जोड्ने एउटै मात्र झोलुंगे नेशमखोला पुल खोलाले बगाएपछि स्थानीयले अस्थायी काठको फड्के हालेर आउजाउ गरिरहेका थिए । केही अगुवा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले चन्दा संकलन गरेर हालेको तुइनको लठ्ठा चुँडिएपछि प्रयोगमा ल्याउन नमिल्ने भएको छ ।

दुई गाउँको छेउको भागलाई बढेको खोलाको सतहले कटानमा पारिरहेकाले दिपु र तेगाका दर्जनभन्दा बढी परिवार सुरक्षित स्थानमा सरेर बसिरहेका छन् । जुगल हिमालको काखमा रहेको दिपु, तेगा र तेम्बाथान गाउँ पुग्न आहिलेसम्म सडक सहज भएको जुगल गाउँपालिकाको गुम्बाथानबाट झन्डै दुई दिन लाग्छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?