कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाघको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — बाघले आक्रमण गर्दा सोमबार चितवन राप्ती नगरपालिका-१ की सोतिमाया तमाङको निधन भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरणअनुसार ५५ वर्षीय तमाङलाई घाँस काट्न गएका बेलामा बाघले आक्रमण गरेको थियो ।

घटनास्थलमै निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले कान्तिपुरलाई जाननकारी दिए ।

यो वर्ष चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणमा परेर स्थानीयको ज्यानै जाने घटना बढेको छ ।चितवन निकुञ्ज र यस आसपासको मध्यवर्ती वन क्षेत्रमा यो घटनाअघि पनि बाघले आक्रमण गर्दा गत वर्षको असार ७ गते यता मात्रै पनि १३ जनाको निधन भएको छ ।

७६ सालमा बाघले आक्रमण गर्दा निधन हुनेको संख्या शून्य र ७७ सालमा चार जनाको बाघको आक्रमणबाट चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

मान्छेको निधन नै हुने गरेर यो वर्ष भएका बाघ आक्रमणका सबै घटनाहरू जंगल क्षेत्रमा भएको तिवारीले बताए । अधिकांश घटना घाँस दाउरा गर्न गएको समयमा भएको छ । बाघ बस्तीमा आएर स्थानीलाई आक्रमण गर्ने घटना बिरलै हुने गरेको अधिकारीहरू बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको नेपालमा मुख्य बासस्थल हो । पाँच वर्षअघि भएको गणनामा नेपालमा २३५ बाघ भेटिएका थिए । तीमध्ये सबैभन्दा धेरै ९३ वटा बाघ चितवनमै थिए । यो पटकको हिउँदमा बाघ गणना भएको छ र साउनमा नतिजा सार्वजनिक हुँदै छ ।

प्रकाशित : जेष्ठ १६, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?