१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी चितवन कठारकी महिलाको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा सोमबार राति मृत्यु भएको छ । खैरहनी नगरपालिका– १० की ४० वर्षीया ती महिलालाई उनका श्रीमानले बिहीबार साँझ निर्घात कुटपिट गरेका थिए । 

प्रहरीले महिलाका ४० वर्षीय श्रीमानलाई पक्राउ गरेर जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अनुसन्धान सुरु गरेको थियो ।

‘उपचारका क्रममा गए राति ११ बजेर ५० मिनेट जाँदा ति महिलाको भरतपुर अस्पतालमा निधन भएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भने । उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमानको कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको थियो । उनको गुप्ताङ पनि क्षतविक्षत भएको थियो ।

स्थानीयले ती महिलालाई उपचारका लागि बिहीबार राति नै भरतपुर अस्पताल ल्याएका थिए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मलद्वारबाट लौरो छिराएका कारण महिलाको गुप्ताङसमेत क्षतविक्षत थियो । ढाडमा बेस्सरी कुटपिट गरेका कारणले आङको हड्डीमा पनि चोट लागेको थियो । उनको सोमबार दिउँसो शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

‘हिजो दिउँसो तीन बजेतिर अप्रेसन भएको थियो । त्यसपछि अवस्था सुधारोन्मुख नै थियो । राति एक पटक शौचालय पनि गएको कुरुवाहरुले बताएका थिए । तर मध्यरातमा अचानक त्यस्तो भयो । मुटुको चाल एक्कासि बन्द भयो,’ सूचना अधिकारी पौडेलले भने । अस्पतालमा रहेका आफन्तका अनुसार श्रीमान–श्रीमतीबीच सधै झैं भगडा हुन्थ्यो । तर यो पटक अति नै भएको उनीहरुले बताए ।

‘रक्सी खान्छन् र झगडा सुरु गर्दछन् । त्यो दिन साँझ पनि त्यही भयो । तर यसरी मर्ने गरेर कुटपिट त भएको थिएन,’ महिलाकी कान्छी देउरानीले भनिन् । उनका माइला देवरले कमाइका विषयमा दाजु–भाउजुबीच भनाभन हुने गरेको बताए । महिलाका श्रीमान काम नगर्ने, प्राय: रक्सी खाएर हिँड्ने गरेको आफन्तहरु बताउँछन् । तीन छोरीकी आमा ती महिलाले नै घर व्यवहार धानेकी थिइन् ।

‘दाइ केही काम नै गर्दैनन् । हल्लिएर हिँड्छन् । रक्सी खान्छन् । माछा मार्ने, निमेक र ज्याला मजदुरी गरेर घर चलाउने काम भाउजुले गर्दै आउनु भएको थियो,’ देवरले भने । ती महिलालाई लामो समयदेखि चिनेकी खैरहनी–१० को वडा सदस्य जेयान्तीकुमारी पासवान श्रीमानले कुटेर ती महिलाको मुहार सधैं सुन्निए जस्तो देखिने गरेको बताउँछिन् । तर बिहीबार साँझ कल्पना नै गर्न नसकिने घटना भएको उनले सुनाइन् ।

कुटपिट गर्ने श्रीमानलाई तत्कालै गाउँलेहरुले समाएर प्रहरीको जिम्मा लगाएका थिए । ‘गाउँलेले श्रीमानलाई समाएर राखे प्रहरी आएपछि जिम्मा लगाए । मैले आफन्तहरुसँग मिलेर घाइतेलाई अस्पताल लगेँ । रगत त कति बग्यो बग्यो । चोटमाथि टालोको पत्रै पत्र राखेर अस्पताल लगेको हो,’ वडा सदस्य पासवानले भनिन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?