नाकामा छैन सतर्कता- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा छैन सतर्कता

भारतका विभिन्न राज्यबाट मजदुरहरु बिनाजाँच सहजै भित्रिँदा कोरोनाको जोखिम बढ्दो
प्रदेश २ ब्युरो

जनकपुर — छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिरहे पनि प्रदेश २ का सीमा नाकामा भने सचेतना अपनाइएको छैन । प्रदेशको मुख्य नाका वीरगन्जको रक्सौलमा भित्रिनेको स्वास्थ्य परीक्षण गरिए पनि बाँकी नाकामा हेल्थ डेस्कसमेत राखिएको छैन ।

वीरगन्ज नाकामा सतर्कता अपनाइए पनि ठूलो संख्यामा भारतबाट नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य परीक्षण नगर्दा जोखिम बढेको छ ।

सीमास्थित हेल्थ डेस्कबाट दैनिक १ सय ५० देखि २ सय जनासम्मको मात्र एन्टिजेन परीक्षण भइरहेको छ । मंसिर २० देखि यहाँस्थित सीमामा भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य परीक्षणसँगै एन्टिजेन परीक्षण थालिएको डेस्क प्रमुख डा. अनिशा महतोले बताइन् । सीमाबाट एक–अर्का मुलुकमा दैनिक आवागमन गर्नेको एन्टिजेन परीक्षण सम्भव नभएकाले भारतका कोलकाता, महाराष्ट्रजस्ता ठूला सहर तथा रक्सौलसम्म रेलबाट आउनेको परीक्षणमा ध्यान दिइएको उनको भनाइ छ । डेस्कमा मलेरियाको किटसमेत उपलब्ध रहेकाले ज्वरो लागेकाको मलेरिया परीक्षणसमेत गर्न थालिएको उनले बताइन् ।

यद्यपि, जेठयता यो नाकामा भारतबाट प्रवेश गर्नेमध्ये एक जनामा पनि कोरोना वा ओमिक्रोन पुष्टि भएको छैन । जेठपछि दैनिक ५० देखि ५५ जनासम्मको एन्टिजेन परीक्षण गर्दै आएकामा मंसिर २० यता भने एन्टिजेन परीक्षण बढाइएको छ । सीमास्थित प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक हिरा बुढाथोकीले खुला र अतिव्यस्त सीमा भएकाले दैनिक एकअर्का मुलुकमा ठूलो संख्यामा सर्वसाधारणको आवागमन हुने र सबैको स्वास्थ्य परीक्षण गर्न सम्भवसमेत नरहेको बताए ।

सप्तरीको मुख्य नाका तिलाठी कोइलाडीस्थित भन्सार चोकमा भने नाम मात्रको हेल्थ डेस्क राखिएको छ । आउजाउमा कुनै कडाइ गरिएको छैन । पश्चिम बंगाललगायत भारतका विभिन्न राज्यबाट यहाँका इँटा उद्योगमा काम गर्ने मजदुर सहजै नेपाल प्रवेश गर्छन् । भारतकै विभिन्न राज्यबाट आउने पनि बिनाजाँच नेपाल भित्रिने गरेका छन् । कुनौली भन्सार नाकामा राखिएको हेल्थ डेस्कमा केहीको परीक्षण गरिए पनि प्रभावकारी छैन । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले तिलाठी नाकाबाहेक अन्य कतै पनि हेल्थ डेस्क नराखिएको स्विकारे । रौतहटका गौर, बंकुल, बन्जाराहा नाकामा निर्बाध रूपमा आवतजावत भइरहेको छ । रौतहटको मुख्य नाका गौर–बैरगनिया क्षेत्रमा सतर्कता अपनाएको देखिन्न । यहाँ भारतबाट आउनेको अभिलेखसमेत राख्ने गरिएको छैन ।

बाराका नाकामा आउजाउ निष्फिक्री भइरहेको छ । स्वास्थ्य सेवा विभागले सीमामा एन्टिजेन परीक्षण गर्ने, हेल्प डेस्क राख्नेलगायतका निर्देशन गरे पनि त्यसअनुसार हुन सकेको छैन । संक्रमणलाई लक्षित गरी खासै केही गर्न नसकिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले स्विकारे । ‘रोकथाम प्रयासका लागि समितिको बैठक बस्दै छौं,’ उनले भने, ‘सीमामा प्रहरी सुरक्षा छ । हेल्प डेस्क र एन्टिजेन परीक्षण छैन, जस्तो चलिआएको थियो, त्यस्तै छ ।’ बाराको तीन नाका मटिअर्वा, सिम्रौनगढ र सुवर्णमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको थियो । सीमामा दर्जनौं ठाउँबाट आउजाउ हुने भएकाले सबै ठाउँमा एन्टिजेन परीक्षण सम्भव नभएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेश यादवले बताए ।

पारि स्वास्थ्य टोली, वारि सुनसान

नेपाल–भारत सीमास्थित सर्लाही खण्डमा पर्ने भारतको सोनवर्षामा भारतीय पक्षले स्वास्थ्य टोली परिचालन गरेको छ । तर नेपाल पक्षले भने कुनै चासो दिएको छैन । यहाँ भारतबाट निष्फिक्री नेपाल आउने गरेका छन् । हटस्पटबाट आएकाहरू पनि निर्बाध नेपाल प्रवेश गर्दा कोरोनाको नयाँ भेरिएन्ट फैलिने सम्भावना छ । नेपाल–भारत सीमाअन्तर्गत सर्लाहीको मुख्य नाका रहेको मलंगवा–सोनवर्षा नाकामा भारतीय पक्षले स्वास्थ्य टोली नै राखेको छ । टोलीले नेपालबाट भारत जानेका लागि सीमामै एन्टिजेन परीक्षण तथा खोप कार्ड अनिवार्य गरेका छन् । मलंगवा सोनवर्षा मुख्य नाका मात्र हैन अन्य सहायक सात नाकाहरूको अवस्था पनि उस्तै छ । सहायक नाकाहरूबाट पनि मानिसहरू निर्बाध ओहोरदोहोर गरिरहेका छन् । विगतमा सम्बन्धित नाकाका पालिकालाई सीमामा स्वास्थ्य जाँचको व्यवस्थापन मिलाइएको थियो । कोभिड संक्रमणका दर कम भएपछि सीमामा स्वास्थ्य टोली बस्नै छाडेका थिए ।

कोरोनाको नयाँ भेरिएन्टको त्रास बढे पनि नेपाल पक्षबाट जाँचमा लापरबाही भइरहेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । ‘ओमिक्रोनलाई लक्षित गर्दै भारतीय पक्षले स्वास्थ्य टोली खटाएको छ, पारि जाँदा स्वास्थ्य परीक्षण र खोप कार्ड अनिवार्य गरेको छ, तर नेपालतिर कुनै जाँच नै हुँदैन,’ उनले भने, ‘स्वास्थ्यको दृष्टिकोणले भगवान् भरोसे नाका छ, सतर्कता अपनाउन नसकेका बेला ओमिक्रोन फैलिने सम्भावना उच्च छ ।’ प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले ओमिक्रोनलाई लक्षित गर्दै विपद् व्यवस्थापनको बैठक बोलाइएको बताए । दुई दिनभित्र बैठक बसेर ओमिक्रोनविरुद्धको रणनीति तयार पारिने उनको भनाइ छ ।

‘ओमिक्रोनलाई लक्षित गर्दै पर्सि विपद् व्यवस्थापनको बैठक डाकेको छु,’ उनले मंगलबार भने, ‘बैठक बसेपछि के गर्ने भनेर रणनीति बनाई अगाडि बढ्छौं, बैठकपछि सीमामा हेल्थ डेस्कसमेत राखिनेछ ।’ सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले आफूहरू जोखिम मोलेर फ्रन्टलाइनरका रूपमा लामो समयदेखि खटिए पनि डेस्क सुविधाविहीन भएकाले समस्या भोग्नु परिरहेको बताइन् ।

शंकर आचार्य (पर्सा), लक्ष्मी साह (बारा), शिव पुरी (रौतहट), ओमप्रकाश ठाकुर (सर्लाही) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : पुस ८, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

अन्नभण्डारमै छैन मल 

प्रदेश २ ब्युरो

जनकपुर — माग र आपूर्तिको सन्तुलन नमिल्दा मल छर्ने मुख्य सिजनमै युरिया मलको चरम अभाव झेल्नुपरेको छ । कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जमा छ, तर पर्सामै मलको अभाव छ ।

वीरगन्ज–२३ प्रसौनीका किसान विजय कोइरीले आफ्नो १ बिघा धान खेतका लागि ५ बोरा युरिया मल आवश्यक रहेकामा १ बोरा मात्र जोहो गर्न सकेको बताए । ‘सहकारीहरूले मल दिँदैनन्, कालोबजारीले महँगोमा बिक्री गर्छन्,’ उनले भने । केही सहकारीले किसानलाई मल वितरण नगरी बारा र रौतहटका कालोबजारीलाई प्रतिबोरा १ हजार १ सयदेखि १ हजार २ सय रुपैयाँमा बेच्ने गरेको किसान बताउँछन् । यसरी १ बोरामै ३ सय ५० रुपैयाँसम्म नाफा लिइरहेको उनीहरूको भनाइ छ ।

जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिवकुमार साहले भने सहकारीहरूले कालोबजारी गरेको गुनासो हालसम्म नआएको दाबी गरे । तर कृषि कम्पनी वीरगन्ज क्षेत्रीय कार्यालय प्रमुख गोरखनाथ केसी पर्साकै केही सहकारीले मलको कालोबजारी गरी गैरजिल्लाका मल व्यापारीलाई मल बेचेको गुनासो आफूसम्म आएको बताउँछन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनले युरिया नल्याएपछि त्यसको दबाब कम्पनी एक्लैमाथि पर्न गएको केसी बताउँछन् । ग्लोबल टेन्डरबाट ३१ हजार मेट्रिक टन युरिया आयातको ठेक्का पाएको स्विस सिंगापुर कम्पनीको मल हाल सिपमेन्टमा रहेकाले उक्त मल आउन करिब १ महिना लाग्ने उनले बताए । कम्पनीको वीरगन्ज कार्यालयले प्रदेश १, २ र वाग्मती प्रदेशका डेढ दर्जनभन्दा बढी जिल्लामा मल वितरण गर्दै आएको छ ।

सप्तरीको छिन्नमस्ता–७ का किसान उमेशप्रसाद यादवले खेतमा धान लहलहाउँदा पनि मल नपाएको गुनासो गरे । रोप्ने र हुर्किएको बेला हरेक वर्ष मलको अभाव हुने गरेको उनीजस्ता आमकिसानको गुनासो हो । कृषि सामग्री कम्पनी लिमिटेड राजविराजका निमित्त प्रबन्धक सोनेलाल मुर्मुका अनुसार किसानको मागअनुसार मलको आपूर्ति हुन सकिरहेको छैन ।

मल नपाउँदा किसान लुकीचोरी भारतबाट ल्याउन बाध्य छन् । कृषि ज्ञान केन्द्र गौरका अधिकृत अशोककुमार सिंहले धान रोपेको ५० देखि ६० दिनभित्र गजाउने र बाला पसाउने हुँदा मल अत्यन्तै आवश्यक पर्ने बताए । रैथाने धानमा चाँडै रोग लाग्ने र मल अभाव हुने भएकाले पछिल्ला वर्ष धान खेती गर्ने किसान घट्दै गएका छन् ।

प्रकाशित : भाद्र २५, २०७८ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×