कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

उखु खेती गर्ने घट्दै

वर्षमै झन्डै २८ लाख क्विन्टल उत्पादन हुने गरेकोमा यसपालि ८ लाख क्विन्टल हुने अनुमान
शिव पुरी

रौतहट — साढे दुई दशकअघि रौतहटको गरुडामा श्रीराम सुगर मिल खुल्यो । आफ्नै जिल्लामा चिनी मिल खुल्दा रौतहटका किसान नगदेबाली उखु लगाउन हौसिए । बिक्री गर्न झन्झट नहुने उनीहरूको भरोसा थियो । मिल सुरु भएको २०५१ सालको वर्ष नै १८ हजार किसानले उखु लगाए ।

उखु खेती गर्ने घट्दै

तर, दिनरात मिहिनेत गरेर फलाएको उखुले आफैंलाई रुवाउन थालेपछि अहिले रौतहटमा उखु खेती गर्ने किसानको संख्या पातलिएको छ । मिल पनि बन्द भएको छ ।

गरुडामा गोल्छा समूहको स्वामित्वमा श्रीराम सुगर मिलले उखु क्रसिङ थालेको थियो । बारा, पर्सा र रौतहटका किसानको एक सिजनमा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने मिलको क्षमता थियो । मिल सुरु गर्दाताका वर्ष दिनमै झन्डै २८ लाख क्विन्टल उखु उत्पादन भएको उखु उत्पादक संघ रौतहटका सचिव सत्येन्द्र यादवले सुनाए । ‘अहिले त उखु लगाउने किसान आधाभन्दा धेरै घटेको छ,’ उनले भने, ‘मिल बन्द भएपछि किसान निराश छन् । जुन उद्देश्यले उखुमा हौसिए उनीहरू सबै दुःखी छन् ।’ सचिव यादवका अनुसार अहिले जिल्लामा ८ हजार किसानले मात्रै उखु खेती गरेका छन् । यस वर्ष ७/८ लाख क्विन्टल उखु उत्पादन हुने यादवले जनाए । मिल घाटामा गएको भन्दै श्रीराम सुगर मिल एक वर्षदेखि बन्द छ ।

यसैबीच, कटहरिया नगरपालिकामा गत वर्षदेखि बाबा वैधनाथ सुगर मिल सञ्चालनमा आएको छ । तर, गत वर्ष यो मिलले भनेको जस्तो उखु खरिद गर्न सकेन । गढीमाई ४ सग्रामपुरका किसान हरिनारायण साहले श्रीराम सुगर मिल बन्द भएपछि उखु लगाउन जाँगर मरेको सुनाए । उनी जिल्लाकै पुराना उखु किसान हुन् । हरिनारायणले विगत दुई दशकदेखि ६ बिघामा उखु लगाउँदै आएका छन् । ‘अब विस्तारै उखु खेती नगर्ने अवस्थामा पुगेको छु,’ उनले भने, ‘जिल्लाकै पुरानो र ठूलो मिल बन्द भएपछि उखु बिक्री गर्न अब सहज हुँदैन ।’ उनले यसपटक जम्मा एक बिघामा मात्र उखु लगाएका छन् ।

भुक्तानीको विषयमा श्रीराम सुगर मिल र जिल्लाका उखु किसानबीच बेला/बेलामा विवाद र आन्दोलन हुने गर्थ्यो । यति हुँदा पनि किसानले उखु लगाउन छाडेका थिएन् । तर, मिल व्यवस्थापकले बर्सेनि करोडौंको घाटा भन्दै बन्द गरेपछि किसान समस्यामा परेका हुन् । दक्षिण भेगका अधिकाश किसानले उखु लगाउँथे । अहिले कम भएको छ । फाट्टफुट्ट मात्र उखु लगाएको देखिन्छ । मिल व्यवस्थापनाले किसानको बक्यौता ३५ करोड रुपैयाँ भुक्तानी दिएर बन्द गरेको हो । मिलले पुरानो बक्यौता सबै तिरिसकेको सचिव यादवले बताए ।

मिल सञ्चालन गर्न पहल

दुई साताअघि पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न रौतहट आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिल्लाभरिका उखु किसानले हस्ताक्षर गरी श्रीराम सुगर मिल सञ्चालनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाए । किसानको माग थियो, ‘मिल बन्द भएपछि उखु खेतीमा लागेकाहरू मारमा परे । त्यसैले चाँडै मिल सञ्चालनका लागि पहल गरिदिनुहोला ।’

किसानको ज्ञापनपत्र बुझेपछि अध्यक्ष दाहालले आफूले सक्दो पहल थाल्ने आश्वासन दिए । ‘यति ठूलो उद्योग बन्द हुनु राम्रो होइन । यसले किसान दुःखी छन्,’ उनले भने, ‘जसरी भए पनि मिल चललाउन पहल गर्छु । सरकारको ध्यानाकर्षण गराउँछु ।’ अहिले जिल्लाभरिका किसान राजनीति दलका नेता गुहारिरहेका छन् । केही समयअघि गृहजिल्ला आएका एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई समेत किसानले मिल सञ्चालनका लागि दबाब दिए ।

बर्सेनि घाटा व्यहोर्न बाध्य भएको भन्दै गोल्छा समूहको व्यवस्थापन पक्षले सुगर मिल बन्द गरेको छ । २६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गत साउन ९ गतेको निर्णयले विधिवत् रूपमा बन्द गरेको हो । मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको सञ्चालकहरूको दाबी छ । २४ सै घण्टा सञ्चालन हुनुपर्ने मिल विभिन्न कारणले बन्द भयो ।

प्रकाशित : पुस १, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×