कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मल माग्दै प्रशासन घेराउ

राजविराज — मल नपाएको आक्रोशमा सप्तरीका किसानले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले बजार बन्द गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै घण्टौ नाराबाजीसमेत गरेका थिए ।

मल माग्दै प्रशासन घेराउ

सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको राजविराजस्थित डिपोमा बिहानैदेखि लाइन बसे पनि मल उपलब्ध नगराएपछि किसानहरू आक्रोशित भएका हुन् । एक महिनादेखि खेत जोतेर राखिए पनि मल नपाउँदा गहुँ बाली लगाउन नसकेको उनीहरूको गुनासो छ ।

कृषि सामग्री कम्पनीलगायत आधिकारीक डिलरहरूले मलखाद नदिई कालोबजारी गरेको किसानहरूले आरोप लगाएका छन् । आफूहरू पैसा तिर्न तयार भए पनि मल पाउन मुस्किल भएको भन्दै उनीहरूले अविलम्ब मलको व्यवस्था मिलाउन माग गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वार्ता गरी किसानको आक्रोश तत्कालका लागि शान्त पारेका थिए ।

हाल कृषि सामग्री कम्पनीसँग रहेको थोरै मल वितरण गर्ने तथा थप मलका लागि केन्द्रसँग माग र समन्वय गर्ने प्रजिअ गौतमले जानकारी गराए । तत्कालका लागि किसानको आक्रोश शान्त पारिए पनि सप्तरीमा मागको एक चौथाई पनि मल आपूर्ति हुन सकेको छैन ।

कम्पनीले सप्तरीका लागि ४ हजार टन युरिया, साढे ३ हजार टन डीएपी तथा ४ सय टन पोटास माग गरेको छ । यद्यपि हालसम्म ७ सय टन युरिया तथा ६५० टन डीएपी मात्रै उपलब्ध गराएको छ ।

प्रकाशित : पुस १, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?