कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लिलामी नहुँदा कुहिँदै काठ

शिव पुरी

रौतहट — डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मुख्य गेट छिर्नेबित्तिकै दुवै कुनातिर काठको थुप्रो देखिन्छ । यी काठ वन कार्यालयले विभिन्न समयमा बरामद गरेको हो । वर्षौंदेखि थुपारिएका काठ कुहिँदै गएका छन् । वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा करोडौं राजस्व आउने काठ कामै नलाग्ने भएका हुन् ।

लिलामी नहुँदा कुहिँदै काठ

डिभिजन वनका तत्कालीन प्रमुख अर्जुन केसीको पालामा धन्सार वनक्षेत्रमा ढलापडा संकलनको नाममा ठेकेदारले नियम विपरीत सालको गोलीया टुक्र्याएर दाउरा बनाउन लाग्दा बरामद गरिएको थियो । त्यसरी बरामद गरिएको झन्डै ४ हजार क्यूफिट काठ कुहिएको छ । उक्त काठको मुद्दा चलेपछि सशस्त्र वन रक्षकको कम्पाउन्डमा राखिएको थियो । मुद्दाको छिनोफानो नहुँदा खुला स्थानमा राखिएको काठ संरक्षण अभावमा कुहिन थालेको हो । ठेकेदारले काचो सालको रुख काटेर अनियमितता गरेको पाइएको थियो ।

त्यस्तै बलरीको जंगलबाट एक सय वटा टायरगाडा सहित बरामद गरेको सालको गोलिया पनि कुहिएको छ । टायरगाडा र गोलिया एकै साथ कुहिएको हो । डिभिजन वनका निमित्त प्रमुख अमरदेव यादबले समयमै मुद्दाको छिनोफानो नहुँदा काठ लिलाम गर्न नसकिएको बताए । ‘धेरै जसो काठहरू बेबारिसे फेला पर्छन् । तस्कर फरार भएपछि मुद्दाको छिनोफानो गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘यही कारण करौडाको काठ कुहीएको हो । अब यसको लगत तयार गर्दै छौ ।’ डिभिजन वनअन्तर्गत अहिले ८ वटा सबडिभिजनहरू छन् । सबै कार्यालयको कम्पाउन्डमा हेर्ने हो भने ठुलो परिमाणका साल, कुकाठ लगायतका गोलियाहरू कुहिएर कामै नलाग्ने भएका छन् । २०६२ सालयता झण्डै १० हजार क्युफिट काठ कुहिएको वन कार्यालयको भनाइ छ ।

बरामद काठ र सवारीहरू समयमा बिक्री गरेको भए राज्यले करोडौं राजस्व पाउने वनकै कर्मचारीहरू बताउँछन् । वनले चोरी तस्करीबाट बरामद काठ र सवारी २ लाख रुपैयाँभन्दा कम भएमा आफैले मुद्दा चलाउन सक्छ । तर मुद्दाको फैसला संघअन्तर्गतका प्रमुखले गर्ने अधिकार रहेकाले जटिल भएको वनको विकास फाटका अधिकृत मधु सिंहले बताए ।

‘वनका कर्मचारी प्रदेशको मातहतमा गए,’ उनले भने, ‘पछिल्लो समय यो कारणले पनि मुद्दाको छिनोफानो हुन सकेको छैन ।’ विभिन्न पोस्टमा चोरी निकासी र तस्करबाट बरामद काठको मुद्दा प्रशासनसित राय लिएर किनारा लगाउनु पर्ने वनका कर्मचारीहरू बताउँछन् ।

प्रकाशित : मंसिर २८, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×