२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सांसद र जिल्ला सभापति नै पराजित

ओमप्रकाश ठाकुर

सर्लाही — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सर्लाहीको क्षेत्रीय अधिवेशनमा सांसद, जिल्ला सभापति र केही पालिका प्रमुख नै पराजित भएका छन् । सदरमुकाम मलंगवामा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को निर्वाचनमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका हालका जिल्ला सभापति नागेन्द्रकुमार राय पराजित भए । उनी संस्थापन पक्षका हुन् ।

सांसद र जिल्ला सभापति नै पराजित

जसबाट ३ जना मात्रै महाधिवेशन प्रतिनिधि चुनिए । पुनः जिल्ला सभापति बन्ने दाउमा रहेका रायले ३ सय ५३ मत प्राप्त गरे । उनलाई हराएका इतरपक्षका पूर्वजिल्ला सभापति लक्ष्मण रायले ३ सय ९१ मत पाए । संस्थापन पक्षकै मलंगवा नगर प्रमुख निरसल साह र विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल रायले समेत हार व्यहोरे । इतरपक्षका हरिपूर्वा नगर प्रमुख शियाराम राय भने विजयी बने ।

क्षेत्रीय सभापतिमा पनि इतर पक्षकै कौशलकिशोर राय विजयी भए । रायले ३ सय ८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी रुपेशकुमार रायले ३ सय ६८ मत मात्रै प्राप्त गर्न सके । क्रियाशील सदस्यता वितरणमै विवाद रहेको यस क्षेत्रमा अधिवेशनको समय २ दिन तोकिए पनि हुन सकेको थिएन । रायद्वयकै दबाबका कारण मंगलबारलाई तोकिएको मतदान सुरु हुनुअघि नै मतदान अधिकृतले राजीनामा दिएपछि बुधबार मात्र अधिवेशन भएको हो । हालका सभापति रायको हारपछि संस्थापन पक्षबाट सभापतिमा कसले दाबेदारी दिन्छन् भन्ने नेता–कार्यकर्तामा चासो बढेको छ । कांग्रेस विधानअनुसार महाधिवेशनमा पराजितले मुख्य पदमा भाग लिन पाउँदैनन् ।

यस्तै, क्षेत्र नं १ मा इतरपक्षका हरि लुंगेली सभापति बने । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई पराजित गरेका हुन् । क्षेत्रीय समितिमा इतरपक्षकै बहुमत छ । महाधिवेशन प्रतिनिधिमा पनि इतरपक्षका १४ जना विजयी भए ।

क्षेत्र नं ३ मा भने बिहीबार साँझसम्म मतगणना चलिरहेको छ । यहाँ मतपत्र छाप्न ढिलाइ भएका कारण बुधबार अबेर सुरु भएको मतदान मध्यरातसम्म चलेको थियो । संस्थापन पक्षबाट हरेश महतो र इतरपक्षबाट पूर्वजिल्ला उपसभापति विनोद खनाल नेतृत्वको टोली चुनावी मैदानमा छ । खनालको प्यानललाई जिल्ला सचिव नविन अधिकारीले समेत साथ दिएका छन् । यहाँ पनि इतरपक्ष नै बलियो मानिएको छ ।

जिल्लामा अधिक विवाद देखिएको क्षेत्र नं ४ को अधिवेशनमा संघीय सांसद अमरेशकुमार सिंह पराजित भए । महाधिवेशन प्रतिनिधिका उम्मेदवार सिंहको प्यानल नै पराजित बनेको हो । सिंहले २ सय ४८ मात्रै मत प्राप्त गरे । संस्थापन पक्षका प्रदेश सांसद वीरेन्द्र सिंहले ५ सय १४ मत ल्याए । महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका सबै उम्मेदवारको मत ५ सयभन्दा बढी छ । क्षेत्रीय सभापतिमा संस्थापन पक्षका रामआश्रय साह निर्वाचित भए । उनले ५ सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २ सय २७ मात्रै मत ल्याउन सके । वडा अधिवेशनमा दुई पक्षबीच झडपदेखि गोलीसमेत चलिसकेको यो क्षेत्रमा क्षेत्रीय अधिवेशन भने शान्तिपूर्वक सम्पन्न भएको थियो ।

प्रकाशित : मंसिर २४, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?