कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिर्सियामा ढुवानी गर्न प्रतिस्पर्धा

भारतीय बन्दरगाहबाट वीरगन्जसम्म ल्याइने कन्टेनरको ढुवानी लागत सस्तिँदै
शंकर आचार्य

पर्सा — सिर्सिया सुक्खा बन्दरगाहमा आउन भारतीय रेलवे कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धाका कारण तेस्रो मुलुकबाट आयातित मालवस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत कम हुँदै जाने व्यवसायीले बताएका छन् । 

सिर्सियामा ढुवानी गर्न प्रतिस्पर्धा

भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकणको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै बर्षको सेप्टेम्बर १५ मा भारतको निजी क्षेत्र हिन्द टर्मिनलको रेल्वे र्‍याक सिर्सिया आइपुगेको थियो । अढाइ महिनामा हिन्द टर्मिनलले मात्रै भारतका विभिन्न बन्दरगाहबाट १५ पटक नेपाली मावलवस्तु ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले बताए ।

मंगलबार भारतको अर्को निजी कम्पनी प्रिस्टिनले आफ्नो पहिलो रेलवे र्‍याक सिर्सियामा ल्याएको थियो । प्रिस्टिनले मंगलबार २० फुटे ९० वटा कन्टेनर बोकेको रेल्वे र्‍याक सिर्सिया सुक्खा बन्दरगाहमा ल्याएको छ । सातामा २ पटक आफ्नो रेलवे र्‍याक भारतबाट वीरगन्ज ल्याउने लक्ष्य राखेको प्रिस्टिन भ्यालीका अधिकृत अतुल शर्माले जानकारी दिए ।

अब कोंकण, हिन्द टर्मिनल र प्रिस्टिन गरी तीनवटा भारतीय कम्पनीले वीरगन्जसम्म रेल ल्याउन थालेपछि त्यसको लाभ नेपाली आयातकर्तालाई भइरहेको ज्ञवाली बताउँछन् । ‘स्वाभाविक रूपमा सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धाले सेवाग्राहीलाई जहिले पनि लाभ नै मिल्ने हो,’ उनले भन्छन्, ‘अन्य भारतीय निजी कम्पनी पनि यो प्रतिस्पर्धामा आउन थालेको जानकारी पाएको छु ।’ ५ महिनाअघि नेपाल र भारत सरकारबीच भएको रेल्वे सर्भिस सम्झौतापछि भारतीय निजी कम्पनीले पनि नेपालसम्म ढुवानी गर्ने बाटो खुलेको थियो ।

प्रिस्टिनले नेपाली कम्पनी भ्याली समूहसँगको संयुक्त लगानीमा ५ वर्षका लागि ३ अर्ब ३३ करोड रुपैयाँमा सिर्सिया बन्दरगाह सञ्चालनको ठेक्का पाएको छ । यसअघि भारतको हिमालयन टर्मिनलले झन्डै १६ वर्ष यो बन्दरगाह सञ्चालन गरेको थियो ।

निजी क्षेत्रले रेल सञ्चालन गर्न थालेपछि ढुवानी भाडासमेत सस्तिएको छ । हाल २० फुटे कन्टेनरको भाडा ६५ हजार रुपैयाँ मात्र छ । अढाइ महिना अघिसम्म कोंकणको एकाधिकार हुँदा ९० हजार रुपैयाँ पर्थ्यो । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले भारतीय कम्पनीबीचको प्रतिस्पर्धाले नेपाली आयातकर्तालाई लाभ भइरहेको बताए । ‘१७ वर्ष कोंकरको एकाधिकार हुँदा नेपाली आयातकर्ताले उसको मनपरीको सिकार हुनुपरेको थियो,’ उनले भने, ‘अहिले हामीसँग विकल्प छ, अब लामो समय भारतीय बन्दरगाहमा कन्टेनर अड्किने समस्या पनि समाधान हुँदै जानेछ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले भारतीय कम्पनीहरू नेपाल भित्रिन थालेपछि ढुवानी सेवामा प्रतिस्पर्धा बढ्ने र त्यसले ढुवानी लागत कम पनि हुने बताए । २०६१ सालदेखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाहमा स्थापनाकालदेखि भारतीय रेलवेको भगिनी संस्था कोंकणको एकाधिकार थियो । कोंकणले समयमा कन्टेनर तथा बल्क कार्गो वस्तु ढुवानी नगरिदिने, रेलवे भाडा बढी लिने तथा खाली कन्टेनरहरू वीरगन्जबाट फिर्ता लग्न समय लगाउनेजस्ता गुनासो थियो ।

नेपाली आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेको मालवस्तु कोलकाता, हल्दिया तथा बिशाखापटनम बन्दरगाह हुँदै नेपाल ल्याइन्छ । सडक मार्गभन्दा रेल मार्गबाट कन्टेनर तथा मालवस्तु ढुवानी गर्दा ढुवानी लागत सस्तो पर्छ । भारतबाट चिनी, रासायनिक मल, फलाम, गेडागुडी बल्क कार्गो वस्तु आयात गर्न पनि रेल उपयोगी सावित हुँदै आएको छ ।

इन्टर मोडल यातायात विकास समितिको तथ्यांकअनुसार, चालु आवको मंसिर १४ सम्ममा भारतबाट २ सय ८३ वटा कन्टेनर बाहक रेलवे र्‍याक सिर्सिया आइपुगेका छन् । प्रत्येक रेल्वे र्‍याकमा ८० देखि ९० वटा सम्म मालबाहक कन्टेनर हुन्छन् । यसका साथै चालु आवमा कात्तिकसम्ममा ४७ वटा फलाम बोकेका र्‍याक र ५० वटा बोराबन्द सामान बोकेको रेलवे र्‍याक आइपुगेका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?