कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाडीको सपना छोडेर गाउँमै व्यवसाय

खेतीपाती र कुखुरापालनबाट वार्षिक १० देखि १५ लाख रूपैयाँ आम्दानी
शंकर आचार्य

पर्सा — नौ वर्षअघि जितेन्द्रप्रसाद यादवलाई खाडी मुलुक गएर पैसा कमाउने झोक चल्यो । जिराभवानी गाउँपालिका–१ का उनलाई साथीहरू धमाधम खाडी गएर तीन–चार वर्षपछि फर्किएर घरघडेरी जोडेको देख्दा रहर लागेको थियो । त्यतिबेला २२ वर्ष भएका यादवले १ वर्ष काठमाडौंका थुप्रै म्यानपावर कार्यालय धाए । खाडीमा पाइला नै नटेकी स्वदेशमै ४ लाख रुपैयाँ गुमाए ।

म्यानपावरको ठगी धन्दाले विरक्तिएका जितेन्द्रलाई त्यसपछि नियतिले अर्कैतर्फ डोर्‍यायो । उनले खाडीमा पसिना चुहाउनुभन्दा गाउँघरमै परिश्रम गर्ने प्रण गरे । अनि थाले कुखुरापालन । पुर्ख्यौली जग्गामै खेतीपातीसँगै कुखुरापालनमा पनि लागे । २०६९ सालमा २ सय कुखुरा पालेर सुरु गरेको उनको ओम पोल्ट्री फार्ममा अहिले तीन ठूला खोरमा ४ हजार कुखुरा छन् । उनी अहिले ६ हजार कुखुरा अट्ने क्षमता भएको एउटै खोर निर्माण गर्दै छन् । यसै वर्षबाट फर्ममा एकैसाथ १५ हजार कुखुरा पाल्ने उनको लक्ष्य छ ।

कक्षा १२ उत्तीर्ण युवा व्यवसायी यादवलाई अहिले आफ्नो गाउँ बढी फापेको छ । यो व्यवसायबाट उनी वार्षिक १० देखि १५ लाख रुपैयाँ आम्दानी गर्दै छन् । ‘त्यतिबेला म सहजै खाडी गएको भए मैले सम्भवतः गाउँघरमै यसरी आफ्नो व्यवसाय जमाउन सक्थिनहोला,’ यादवले भने, ‘अहिले मेरो व्यावसायिक सफलता देखेर मेरा कतिपय खाडीबाट फर्केका साथीहरू मजस्तै गाउँघरमै कुखुरापालन व्यवसायमा हातहाल्ने मनस्थिति बनाइरहेका छन् ।’

कुखुरा पालनसँगै दुई वर्षयता २ बिघा जग्गामा व्यावसायिक केरा खेतीसमेत गरिरहेका यादव यस भेगकै युवाका लागि आदर्श पात्र बनेका छन् । ३२ वर्षकै उमेरमा लोभलाग्दो सफलता पाएका यादवलाई आफ्नो फर्ममा हुर्किएका कुखुरा बेच्न बजारको समस्या छैन । ‘मलाई बजारको समस्या कहिल्यै भएन,’ उनले भने, ‘तयार भइसकेका कुखुरा किन्न वीरगन्जदेखि व्यापारीहरू गाउँमै आइपुग्छन् ।’

दुई जनालाई प्रत्यक्ष र चार जनालाई अप्रत्यक्ष रोजगारी दिएका यादव बेलाबेलामा कुखुराको मूल्य घट्दा भने समस्या हुने गरेको बताउँछन् । ‘कुखुरापालक तथा व्यवसायीको संघले बेलाबेलामा कुखुराको मूल्य घटाउँदा समस्या हुन्छ,’ उनले भने, ‘सरकारले यसमा हस्तक्षेप गर्न सक्नुपर्छ । अन्यथा संघहरूको मनोमानीको सिकार सोझासिधा कुखुरापालक किसान हुन्छन् ।’

प्रकाशित : मंसिर १९, २०७८ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?