कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक महिनादेखि पचरौता नगरपालिका ठप्प

नगर प्रमुख–उपप्रमुखबीच अधिकार बाँडफाँट र अनियमितताको मुद्दाले विवाद
लक्ष्मी साह

बारा — बाराको पचरौता नगरपालिका विवादका कारण एक महिनादेखि ठप्प छ । पचरौता उच्च माविका विद्यार्थीहरूले शिक्षक पदपूर्ति गर्नुपर्ने, ल्याब र प्राविधिक शिक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै पालिकालाई गुहार्दा पूरा नभएपछि कार्यालयमा तोडफोड गरेका थिए । गत कात्तिक ९ मा विद्यार्थीले तोडफोड गरेपछि पालिका ठप्प भएको हो ।

एक महिनादेखि पचरौता नगरपालिका ठप्प

विद्यालयको मात्र नभई अन्य विवादका कारण पनि नगरपालिकामा राजनीतिक दलबीचको टकराव बढ्दो छ । जनप्रतिनिधिको कार्यकाल अन्तिम वर्षसम्म आइपुग्दा विवाद कायमै रहनुले पालिकावासी पीडित छन् । ‘विवादले सधैं जेलिरहँदा त्यसको स्थायी समाधान कहिल्यै भएन, जसले नगरको विकास निर्माण, नगरवासीको प्रत्यक्ष सरोकारका कार्य प्रभावित हुँदै आएका छन्,’ गत चुनावमा नगर प्रमुखका प्रत्यासी जलन्धर सिंहले भने, ‘नगरमा कहिले विद्यार्थीले शिक्षक र पठनपाठनको लागि आन्दोलन गर्नु परेको छ त कहिले संघर्ष समिति बनाएर जनसरोकारका विषयलगायत अनियमितता– विरुद्ध आन्दोलित हुनु परेको छ ।’

नगर प्रमुख–उपप्रमुखबीचमा अधिकार बाँडफाँट, कहिले एक पक्षले अर्को पक्षमाथि गरिरहने मुद्दामामिला त कहिले विकास निर्माणमा भएको अनियमितताको विवादबाट पालिका उम्किन सकेको छैन । पालिकाको अनियमितताविरुद्ध कैयौं उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । जसले नगरपालिकाभित्र जनप्रतिनिधिहरूबीच रस्साकसी हुँदै आएको हो । अख्तियारको छापासँगै घुससहित पालिकाका कर्मचारी रंगेहात पक्राउसमेत परेका छन् ।

गत कात्तिक ९ मा कार्यालयमा तोडफोडको क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको थियो । प्रहरीको कुटाइबाट विद्यार्थी घाइतेसमेत भए । तोडफोडबाट कम्प्युटर, फर्निचर, झ्यालढोका फुट्दा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भयो । घटनाबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारीबाट ३ सदस्यीय छानबिन समिति बने पनि टुंगोमा पुग्न नसकेको छैन । २ वर्षअघि नगर अस्पताल बनाउने विषयमा पनि नगर प्रमुख र विपक्षीबीच विवाद भयो । विवाद झडपमा परिणत भयो । जसलाई मत्थर पार्न प्रहरीले पचासौं सेल अश्रुग्यास र २ दर्जनभन्दा बढी पटक हवाई फायर गरेको थियो । त्यस क्रममा थुप्रै घाइते भएका थिए ।

नगरमा बजेट परिचालनमा अनियमिततासँगै कार्यालयमै बलात्कार प्रयास भएको घटनासमेत बाहिर आएको छ । उपप्रमुख इन्दुकुमारी यादव पनि पालिका अस्तव्यस्था भएको स्विकार्छिन् । ‘असल व्यवहार हराएको छ, दुराचार र भ्रष्टाचार बढेको छ । कार्यालयमै बलात्कार प्रयासका घटना पनि हुन थालेका छन्,’ उनले भनिन् । विवादबाट पालिका सुरुदेखि नै घेरिएको उनको भनाइ छ । ‘कहिले उपप्रमुखलाई बाइपास त कहिले अनावश्यक लाभले पालिका सधैं विवादित रह्यो,’ उनले भनिन्, ‘नगर प्रमुखले दम्भका साथ मनोमानी र गैरकानुनी कार्य गर्नुहुन्छ, मचाहिँ त्यसको विरोधमा उभिँदै आएकोले हाम्रोबीच विवाद भइरहन्छ ।’

पालिका कार्यालयभित्रै कार्यालय सहायक ३२ वर्षीय सञ्जय पासवानले महिला कर्मचारीमाथि गत बिहीबार बलात्कार प्रयास गरेको आरोप लागेको हो । यसबारे प्रहरीमा उजुरी पर्दासमेत आरोपित पक्राउ परेका छैनन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दै आएकी ती महिला पालिकामा कागजात लिन गएको बेला पासवानले बलात्कार प्रयास गरेको पीडित परिवारको दाबी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले बताए । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’ घटना बाहिरिएसँगै नगर प्रमुख रमेश यादव भने सम्पर्कविहीन छन् ।

उनले घटना भएपछि पीडितलाई २ पटक छलफलका लागि बोलाएका थिए । तर आफू सहभागी नभई मेलमिलाप गराउन आफ्ना खास व्यक्तिलाई परिचालन गरेको पीडितको भनाइ छ । ‘नगर प्रमुख सम्पर्कमा हुनुहुन्न,’ प्रमुख प्रशासकीय अधिकृत श्याम यादवले भने । नगर प्रमुख यादव र उपप्रमुख इन्दुले चुनाव जितेदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिएको छैन । तत्कालीन संघीय समाजवादी फोरमबाट रमेश र तत्कालीन राजपाबाट इन्दु निर्वाचित भएका हुन् । प्रमुख यादवले आफ्नो जित विपक्षीलाई नपचेको र विकास निर्माण हेर्न नचाहेको समूहको गतिविधिले नगरपालिका सधैं अस्तव्यस्त रहँदै आएको दाबी गर्दै आएका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?