कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धोको पूरा गर्न हेलिकोप्टरमा बिहे

लक्ष्मी साह

बारा — २२ वर्षीय विरजु साहको सानैदेखिको धोको थियो, दुलहीलाई हेलिकोप्टरमा अन्माउने । बुधबार उनले ४ लाख १० हजारमा भाडा तिरेर हेलिकोप्टरबाट रौतहटको गरुडा बजारमा दुलही लिन पुगे । होटेलमा भव्य आयोजना गरिएको रात्री विवाह कार्यक्रममा सहभागी भए । दुलाहा बनेर हेलिकोप्टरबाट गएका बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका विरजुले बेहुली भने हेलिकोप्टरमा अन्माउन सकेनन् ।

धोको पूरा गर्न हेलिकोप्टरमा बिहे

बेहुला पुर्‍याउन गएको हेलिकोप्टर मौसम खराबीका कारण बिहीबार बेहुली अन्माउने बेला आइपुगेन । ‘त्यसैले बेहुली संगीता साहको सपना अधुरो रह्यो,’ विरजुका बुवा जोगी साहले भने, ‘मौसम खराब भएरको कारण बेहुली लिएर कारमा आउनु पर्‍यो ।’ प्रभु हेलिकोप्टर प्रालिसँग हेलिकोप्टर भाडाको कुरा गर्न विरजु आफैं दुई साताअघि नै काठमाडौं गएका थिए । बेहुलीलाई हेलिकोप्टरमै ल्याउन नसके पनि आफ्लो आधा इच्छा पूरा भएकोमा विरजु अहिले मख्ख छन् । ‘जीवनमा एक चोटी विवाह हुन्छ, सौख पूरा गर्न हेलिकोप्टरमा बेहुला बन्ने इच्छा थियो । पुरा गरें,’ बिरजुले भने, ‘हेलिकोप्टरमा बेहुली अन्माउन सकेको भए झनै खुसी हुन्थे ।’ हिन्दी सिनेमामा बेहुलीलाई हेलिकोप्टरमा अन्माइएको देखेर आफूलाई पनि रहर लागेको उनले सुनाए । उनले मागी विवाह गरेका हुन् । पारिवारिक स्रोतकाअनुसार बेहुली पक्षले ४० लाख नगद दिएर मागी विवाह गरेका हुन् । ‘हेलिकोप्टर चार्टर गरी विवाह गर्न जाने मेरो प्रस्ताव बुवा र परिवारमा सबैले स्वीकार गर्नुभयो, त्यही भएर धोको पूरा गरें ।’

उनका जेठो दाजुको विवाह भइसकेको छ । माइला दाजु भारतको बैंग्लोरमा आइटी इन्जिनियर पढ्दै गरेकाले विवाह गरेका छैनन् । उनको परिवार ग्रामीण भेगमा सम्पत्तिमा अब्बल छन् । आउँदो स्थानीय चुनावमा कांग्रेसबाट वडाअध्यक्ष उम्मेदवार बन्ने तयारीमा जुटेका जोगीले आफ्नो लोकप्रियता बढाउन र रवाफ देखाउन दैलोमा हेलिकोप्टर मगाएर छोराको विवाह गरेको भन्दै स्थानीयले टिप्पणी गरेका छन् । ‘चुनावमा लड्नुहुन्छ, सम्पत्ति कमाईले मात्र होइन सामाजिक प्रतिष्ठा बढाउन पनि दाजुले छोरालाई हेलिकोप्टर चढाएर विवाह गर्नुभएको छ,’ बेहुलाका काका सिकेन्द्र साहले भने, ‘लोकप्रिय बन्न हेलिकोप्टर बोलाएर एउटा माध्यम बनाउनु भयो, गाउँवासीले सम्झिराखुन् भनेर ।’ बेहुला परिवारले विवाहको एक दिन अघि पुरै गाउँवासीलाई भोजमा निम्तो गरेका थिए । ‘भोजमा १० मन (४ क्वीन्टल) चामल खर्च भयो,’ जोगीले भने ।

बेहुलाका बाबुले ३५ वर्ष अघिदेखि गल्ला भण्डारको काम सुरु गरेका थिए । माध्यमिक शिक्षासम्म अध्ययन गरेका विरजुले पनि गल्ला भण्डारको कारोबार गर्दै आएका छन् । दुई दशकमै उनको परिवारको करोडौंको कारोबार पुगेको छ । जमिन दृष्टिबन्धक र आफ्ना नाममा रजिष्ट्रेशन गराएर ब्याजमा ऋण लगाउने र गल्ला भण्डारमार्फत व्यापार गर्ने उनको मुख्य पेसा हो । पाँच वर्षअघि पनि कलैयाका शिक्षक उपेन्द्र साहले छोराको विवाह गरी बुहारी त्यही गरुडाबाट कलैया अन्माएका थिए । ‘मधेशमा हेलिकोप्टर चढेर विवाह गर्ने सौख बढ्दै गएको छ,’ शिक्षक जोधी साह कानुले भने, ‘पाल्की हुँदै कारमा र कारपछि हेलिकोप्टमा विवाह गर्ने परम्परा बढ्दै आधुनिकताको विकास बढेको छ ।’

प्रकाशित : मंसिर १८, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?